Comments Add Comment

सेक्स के हो ? खुल्ला बहस थालौं

सेक्स भन्ने शब्द सुन्ने बित्तिकै प्रायः सबैका कान ठाडो हुने र यो शब्द देख्नेबित्तिकै आँखाहरु टक्क रोकिने गर्छन् । अर्थात हाम्रा ज्ञानेन्द्रीयहरु चनाखो हुन्छन्, अनि जिज्ञासु र कौतुहल बन्छन् । यो शब्द वास्तवमा के हो ? जसमा यति ठूलो शक्ति छ, र सबैको ध्यान तान्न र खिच्न सक्छ ।

शीर्षक देख्ने वित्तिकै पाठकहरुका मनमा धेरै खुल्दुलीहरु पक्कै भएका होलान् । कतिपयले मनले ठिकै माने पनि मुखले चाँहि यो पंतिकारले अनावश्यक र ‘फोहोरी’ कुरा लेखेछ भनी नकारात्मक टिप्पणी गरिसकेका होलान् । केहीले टिप्पणीकार ‘पागल’ पो भएछ कि पनिभनेका होलान् । कतिले यो बढी ‘पात्तिएछ’ वा ‘उत्ताउलो’ भएछ पनि भनेका होलान् ।

कतिपय पाठकहरुले यस्तो लेख परिवारसँग बसेर पढ्नुहुँदैन, बरु पछि कुनै बेला एकान्तमा बसेर पढ्नुपर्ला भन्ठानेका पनि होलान् । र, आफन्त एवं शुभचिन्तकहरुले यस्तो कुरा किन लेखेको होला, लेखे पनि सार्वजनिक नगरिदिएको भए हुन्थ्यो भनेका होलान् ।

ज-जसका मनमा जे जस्ता विचार र धारणाहरु जन्मिए पनि ती सबै आखिर सेक्सप्रति हाम्रो हेराइ, बुझाइ र सामाजिक अवधारणा एवं दृष्‍टिकोणहरुका स्वाभाविक प्रतिविम्वहरु हुन् । तसर्थ, म सबैको सबैखाले विचार र सोचाइसँग सहमत हुन नसके पनि तिनलाई सहर्ष सम्मान भने गर्दछु ।

यो लेख मार्फत म सेक्सका बारेमा मैले जानेका, बुझेका र भोगेका कुराहरु शेयर गर्दै त्यसबारे आफ्ना धारणाहरु प्रस्तुत गर्ने र त्यससँग सम्बन्धित विविध पक्षहरुलाई खोतल्ने र केलाउने प्रयत्न गर्दैछु । सेक्ससम्बन्धी अवधारणाहरुलाई उजागर गरी यसलाई सामान्यीकरण गर्ने जमर्को पनि गर्दछु ।

लिंगहरुलाई अन्य अंगहरु भन्दा किन विल्कुल फरक दृष्‍टिकोणले हेरिन्छ र व्यवहार गरिन्छ र त्यसो किन गर्नु परेको होला ?

यहाँ भन्नैपर्ने महत्वपूर्ण कुरा के छ भने – सेक्सप्रतिको मेरो बुझाइ र अनुभव आममानिसको भन्दा फरक हुनै सक्दैन । मैले तिनलाई समेट्ने र लिपिवद्ध गर्ने प्रयास मात्रै गरेको हुँ । मैले छुटाएका वा मेरो दृष्‍टि नपुगेका कुनै विषय भए इंगित गरिदिनु हुन शुरुमै अनुरोध पनि गर्दछु ।

बिषय प्रवेश म सेक्स शब्दको अर्थ वा परिभाषाबाट गर्न चाहन्छु ।

हामीमध्ये केही सेक्सलाई जैविक आवश्यकताका रुपमा त केही भगवानको उपहारका रुपमा अर्थ्याउने गर्दछौं । म चाहीँ सेक्सलाई सामान्यतया नाम र कृयापद दुई किसिमबाट परिभाषित गर्न बढी सान्दर्भिक ठान्दछु । नामको रुपमा यसको अर्थ लिंग, यौनांग, गुप्तांग, जनेन्द्रीय (प्रजनन) अंग, सम्भोग, काम-वासना र भाले वा पोथी जाति भन्ने हुन्छ ।

कृयापदका रुपमा चाहीँ एउटै जातिका भाले र पोथीले मिलेर सम्भोग वा यौन सम्पर्क गर्नु वा शारीरिक सम्बन्ध राख्नु भन्ने हुन्छ ।

सर्वप्रथम सेक्सलाई भाले र पोथीका जनेन्द्रीय अंगहरुका रुपमा बुझ्ने कोशिस गरौं ।

जनेन्द्रीय अंगहरु खासमा सन्तान उत्पादनसँग सम्बन्धित हुन्छन र त्यसै प्रयोजनका निम्ति ति बनेका हुन्छन् । लिंगहरु शरीरका अन्य बाह्य अंगहरु नाक, कान, आँखा, मुख आदि जस्तै हुन् र अन्य अंगहरु जत्तिकै महत्वपूर्ण हुन्छन् । हामीलाई थाहै छ कि- हरेक अंगहरुका फरक फरक विषेशता र कार्यहरु हुन्छन् । एउटाको काम अर्कोले गर्नै सक्दैन । त्यसैले तिनीहरुको आकार, प्रकार र बनौट पनि फरक फरक हुन्छ ।

प्रश्न उठ्दछ- उसोभए लिंगहरुप्रति मानिसहरुको किन यति धेरै चासो हुन्छ त ? लिंगहरु अन्य बाहिरी अंगहरु जस्तो चाँही देखिन वा देखाउन नहुने, अर्थात बच्चादेखि बुढाबुढी सबैले छोपेरै राख्नुपर्ने किन होला ? कारणहरु व्यक्ति पिच्छे विभिन्न हुन सक्लान् ।

जस्तो कि- तिनीहरु हेर्न र देख्नका लागि अरु अंगहरु भन्दा सुन्दर र आकर्षक छैनन् वा औधीनै कुरुप र घीनलाग्दा छन्, वा लिंगहरु अरु अंगहरु भन्दा बढी महत्वका हुन्छन्, त्यसैले तिनलाई स्वस्थ र बढी सुरक्षित राख्न सधैंभरि छोपेर राखिन्छ र राख्नुपर्छ । मेरो मुख्य प्रश्न भनेको- लिंगहरुलाई अन्य अंगहरु भन्दा किन विल्कुल फरक दृष्‍टिकोणले हेरिन्छ र व्यवहार गरिन्छ र त्यसो किन गर्नु परेको होला भन्ने हो ।

डा. नारायण अधिकारी

यसभन्दा पनि अझ बढी त लिंगहरुलाई ‘लाज’का रुपमा लिने गरिन्छ । मेरो विचारमा माथि उल्लेखित कारणहरु भन्दा पनि यौनांगलाई मानिसले लाजको रुपमा बुझ्ने र लिने गरेकाले यिनीहरुलाई जन्मदेखि मृत्युपर्यन्त छोप्नुपर्ने बनाइयो । त्यसैले तिनीहरुलाई‘गुप्तांग’ समेत भन्न थालियो ।

मानिस स्वाभावैले लुकाइएको, छोपिएको र हेर्न र देखाउन हुँदैन भनेको कुराप्रति बढी जिज्ञासु हुन्छ र झनै बढी हेर्न, देख्न र बुझ्न खोज्छ, अर्थात त्यस चिजप्रति उसको सधैं चासो भैरहन्छ ।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने केही अपवाद बाहेक मानिसलार्इ आफ्नै जातको (एउटा पुरुषलाई अर्को पुरुषको र एउटा महिलालाई अर्की महिलाको) लिंगप्रति खासै उत्सुकता हुँदैन। तर, फरक जातका लिंगप्रति भने असाध्यै धेरै जिज्ञासा हुन्छ । आफ्नो किसिमको अंग सधैं देख्न सकिने र हेर्न मिल्ने भएकाले त्यसको खासै वास्ता नभएको हुनुपर्छ ।

जनावरहरुलाई नै हेरौं न, उनीहरुका यौनांगहरु कहिल्यै छोपिएका हुँदैनन्, त्यसैले होला तिनीहरुलाई विपरीत जातको लिंगको विषेश अवस्थामा बाहेक वास्ता भएको पाइँदैन । मानव जातिमा पनि यौनांगहरु छोप्ने चलन नभएको भए सायद त्यसप्रति अहिलेकै अनुपातमा धेरै चासो र महत्व हुँदैन थियो कि !

मानव जातिमा यौनांगहरुलाई सधैंभरि छोपेर राख्नुपर्ने वा अरुलाई देखाउन नहुने चलन कहिलेदेखि र किन शुरुवात भयो होला, मैले यसको उत्तर भेट्न सकेको छैन । विज्ञान र चिकित्साशास्त्रको दृष्‍टिकोणबाट लिंगलाई छोपिराख्नु पर्ने कुनै कारण देखिंदै देखिंदैन । अझ चिकित्साशास्त्रको हेराइमा त शरीरका सबै अंगहरु बराबरी महत्वका हुन्छन्, अर्थात कुनै अंग सानो र कुनै ठूलो भन्ने गरी व्यवहार गरिँदै गरिँदैन । अनि गुप्तांगहरुलाई पनि शरीरका अन्य अंगहरु जसरी नै सामान्य मानिन्छन् ।

शरीरमा लुगा कपडाहरु लगाउनुको मूख्य कारण शरीरलाई घाम, पानी, जाडो र धुवाँ धूलो (किटाणुहरु)बाट जोगाउन नै हो, न कि शरीर र यसका बाहिरी अंगहरु लुकाउन । तसर्थ लिंगहरु पनि छोपिराख्नु पर्ने कारण त्यो भन्दा बाहेक र फरक हुन नसक्ला । हामीमध्ये कतिपयका तर्क हुन सक्लान्- लिंगहरु लुकाउनु प्राय: सम्पूर्ण मानवजातिको उत्पत्तिदेखि कै संस्कार हो, अनि सामाजिक मूल्य, मान्यता, नैतिकता र मर्यादाभित्र पर्ने कुरा हो ।

यसो भनिरहँदा ममा फेरि अर्को प्रतिप्रश्न उब्जन्छ- किन यो आदिकालदेखि नै संस्कार बन्नु पर्‍यो त ? अनि लुगा र मानिसको नैतिकताका वीचमा कुनै ठोस सम्बन्ध हुन सक्ला र ?

लिंगहरुलाई गोप्य राख्नुपर्ने केही थरीको यो पनि तर्क हुन सक्ला- लिंगहरुलाई देखाइयो भने मानिसका यौन आकांक्षा र उत्तेजनाहरु बढ्छन्, अनि त्यसले समाजमा यौन विकृति र हिंसाहरु बढ्ने खतरा हुन्छ । सेक्स सम्बन्धी अहिलेको हाम्रो बुझाइको धरातलबाट हेर्दा मात्रै यो तर्क केही हदसम्म ठिकै हो कि भन्ने लाग्न सक्छ ।

यस सम्बन्धमा मैले नबुझेको कुरा के हो भने- जनावरहरु त सधैं नांगै हुन्छन्, अर्थात् तिनीहरुका यौनांगहरु छोपिएका हुँदैनन्, तर पनि तिनीहरुमा यौन विकृतिहरु (भालेले पोथीलाई वा पोथीले भालेलाई सम्भोगका लागि सधैंभरि दुःख दिने र सताउने आदि) देखिँदैन ।

कि त हामीले अब मानिस भन्दा जनावरहरु सेक्सको मामलामा बढी बुद्धिमान छन् भनी मान्न सक्नु पर्‍यो, वा मानिसहरुको यौन चाहना र उत्तेजनाहरु जनावरहरुको भन्दा विल्कूल फरक हुन्छ भनी पुष्टि हुन सक्नुपर्‍यो । होइन भने, यो तर्कको पनि कुनै तुक देखिँदैन ।

यसो भनिरहँदा कसैका मनमा एउटा स्वाभाविक तर च्यांखे (विषयान्तर गर्ने गरी) प्रश्न पनि उब्जिन सक्छ- उसो भए अब मानिसले नांगै हिँड्दा पनि हुन्छ त ? यसको उत्तर पनि जटिल चैं पक्कै छैन । नांगै हिँड्ने वा नहिँड्ने व्यक्तिगत स्वतन्त्रता र आवश्यकताको कुरा होर हुनुपर्छ । हामी ‘लाज’ नहुने र नमानिने शरीरका केही भागहरुलाई पनि त हाम्रो चाहना र आवश्यकता अनुसार कहिले कपडाले ढाक्ने र कहिले देखाउने गर्छौं नि, होइन र ! मूल प्रश्न नांगै हिँड्ने कि नहिँड्ने भन्ने नभर्इ यौनांगहरु किन लुकाउनु परेको होला भन्ने हो ।

सम्भोगका रुपमा सेक्सलाई बुझ्दा मूलत: भाले र पोथीका यौनांगहरुको सम्पर्कमार्फत सन्तान उत्पादन गरी श्रृष्टिको निरन्तरता दिनु भन्ने अर्थ हुन्छ । सम्भोगको चाहना हरेक जीव र वनस्पतिमा हुन्छ ।

भनिन्छ, भोकपछिको दोस्रो आवश्यकता नै सम्भोग हो । आखिर, यस्तो किन हुनु परेको होला ? सबैमा सम्भोगको भोक सधैं जाग्नुपर्नाको कारण के होला त ?

हामीमध्ये सम्भोगको स्वाद लिइसकेकाहरुलाई त पक्कै थाहा छ कि- सम्भोग गर्दा दुबै पक्ष (भाले र पोथी) ले पाउने भनेको क्षणिक चरम सुख वा यौनान्द मात्रै हो । यस अवधिमा पनि न त पाउनेले केही पाएजस्तो, न त दिनेले ठुलै चिज दिएजस्तो हुन्छ । तथापि, मानिसहरुलार्इ बैंसमा सम्भोगको चाहनाले भोक र तिर्खाले जसरि नै छिन-छिनमा सताउने गर्दछ । अझ यसो भनुँ, मानिसहरु सम्भोगको प्यासबाट चाहेर पनि कहिल्यै टाढा भाग्न र रहन सक्दैनन् ।

विपरीत लिंगीहरुको यौनांगप्रतिको उत्सुकता, शारीरिक आकर्षण र सम्भोगप्रतिको व्यग्रता श्रृष्टिको निरन्तरताको अनिवार्य सर्तहरु हो भने सम्भोग गर्दा प्राप्त हुने चरम सुख चाँही सम्भोग गर्न लोभ्याउने ‘ललिपप’ जस्तो हो

हामीलाई थाहा भएको अर्को कुरा के पनि हो भने सामान्यतया एउटा पुरुषलाई अर्को पुरुषको वा एउटी महिलालाई अर्की महिलाको गन्ध र सामीप्य मन पर्दैन, तर, विपरीत लिंगीहरुको त्यही कुरा दुबैथरीलाई सर्वाधिक प्यारो हुन्छ । त्यसैले त महिला र पुरुषहरु एक अर्कामा अंगालिन, टाँसिन, नाक-मुख जोड्न, एक-अर्काको जिब्रो चुस्न र संगै सुत्न सक्छन् र चाहन्छन् ।

हामी एक लिंगीय प्राणी हौं । त्यसैले हाम्रो शारीरिक बनोट अनुसार सम्भोग गर्न महिलालाई पुरुष र पुरुषलाई महिला नभै हुँदैन । र, त्यही सम्भोगको अपार र अदृश्य शक्तिले नै तिनीहरुलाई सधैं एक अर्कोप्रति आकर्षित हुने र सँगै बस्न सक्ने बनाइदिएको हुन्छ ।

विपरीत लिंगीहरुप्रति आकर्षित हुनु स्वाभाविक र प्राकृतिक कुरा हो भने समलिंगीहरुप्रति आकर्षित हुनु चाँही अप्राकृतिक कुरा हो । लैंगिक आकर्षण सम्भोगसँग सम्बन्धित हुन्छ भने सम्भोग सन्तान उत्पादनसँग । यसलाई प्राकृतिक कुरा मानिन्छ । तर, समलिंगीहरु वीचको यौन सम्पर्कबाट सन्तान उत्पादन हुनै सक्दैन, त्यसैले त्यस्तो सम्बन्धलाई अप्राकृतिक भनिन्छ । त्यसैले कतिपय मुलुकहरुले समलिंगी सम्बन्ध र विवाहलाई संविधानत: अवैधानिक घोषणा गरेका छन् ।

प्रकृति भनौं वा श्रृष्टिकर्ताले श्रृष्टिको निरन्तरतालाई नै मुख्य प्राथमिकतामा राखेका हुन्छन् भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ । प्राकृतिक दृष्‍टिकोण बाट हेर्ने हो भने- संसारमा जन्म लिइसकेपछि हरेकको प्रकृतिप्रतिको पहिलो दायित्व भनेको नै आफू मरेर गएपछि यस श्रृष्टिलाई जोगाइराख्न र सुचारु गर्न आफ्नो उत्तराधिकारी जन्माउनु हुन्छ । त्यसैले सम्भोग गर्नु र बच्चा जन्माउनु भनेको हाम्रो कर्तव्य हो, अनि श्रृष्टिप्रतिको हाम्रो योगदान पनि हो ।

बच्चा जन्माइदिएर मात्रै पनि हाम्रो कर्तव्य पूरा नहुने रहेछ । तिनीहरुलाई प्राकृतिक शत्रुबाट जोगाउँदै, हुर्काउँदै र बढाउँदै सन्तान उत्पादन गर्न योग्य बनाइदिनुपर्ने रहेछ । त्यही प्रयोजनका लागि होला सायद प्रकृतिले बाबु-आमामा सन्तानप्रतिको अपार र असीम वात्सल्य भरिदिएको ।
वात्सल्य वास्तवमै विचित्रको छ- प्रत्येक आमा शत्रुबाट आफू मरेर भए पनि आफ्नो बच्चालाई बचाउन चाहन्छे ।

फेरि अर्को चाखलाग्दो कुरा के पनि छ भने- भाले र पोथी भएर पनि हामीमा आफ्ना परिवार र निकटका नातागोता समेतका सदस्यहरुवीच सम्भोगको चाहना हुँदैन । सायद प्रकृतिलाई थाहा छ- नजिकका आफन्तहरुबीच लैंगिक आकर्षण भयो भने तिनीहरुवीच यौन सम्पर्क भर्इ जन्मिएका सन्ततीहरुको शारीरिक बिकास राम्रो हुन सक्दैन र यस्तो क्रम चलिरह्यो भने बंश नै नाश हुने र श्रृष्टि नै रोकिने सम्भावना हुन्छ । त्यसैले प्रकृतिले परिवारका सदस्यहरुबीच यौनाविकर्षण हुने गुण हामीमा पैदा गरेको होला ।

समग्रमा, विपरीत लिंगीहरुको यौनांगप्रतिको उत्सुकता, शारीरिक आकर्षण र सम्भोगप्रतिको व्यग्रता श्रृष्टिको निरन्तरताको अनिवार्य सर्तहरु हो भने सम्भोग गर्दा प्राप्त हुने चरम सुख चाँही सम्भोग गर्न लोभ्याउने ‘ललिपप’ जस्तो हो । हामीलाई विपरीत लिंगीहरुका यौनांगप्रति मात्र होइन, शरीरका नछोपिएका वा आधा छोपिएका अंगहरु जस्तै आँखा, नाक, ओठ, स्तन, पुट्ठा, नितम्ब आदिप्रति पनि विशेष चासो र आकर्षण हुन्छ । अनि महिलाहरु प्रजननका खानी भएर होला, उनीहरु पुरुषहरु भन्दा बढी सुन्दर हुन्छन् । उनीहरुको शारीरिक सुन्दरताले पुरुषहरुलाई उनीहरुप्रति अझ बढी आकर्षित गर्दछ, कामुकता पैदा गर्छ र सम्भोग गर्न उत्प्रेरित गर्छ- फूलको सुन्दरतामा भमराहरु झुमे जसरी ।

यी सबैका भित्री कारण के हुन सक्लान् भने- प्रकृति आफ्ना सबै स्रष्टाहरुबीच बढीभन्दा बढी सम्भोग होस् भन्नका लागि प्रोत्साहन र सुनिश्चितता प्रदान गर्न चाहन्छ ।

त्यसैले यौनजन्य कुराहरुलाई लुकाउनु, छिपाउनु र बलजफ्ती दबाउनु प्रकृतिविपरीत हुन्छ । विपरीत लिंगीहरु प्रति विकर्षण हुने र समलिंगीहरुप्रति आकर्षण हुने दुबै गुणहरु प्रकृति विरोधी हुन् । सबैमा यस्तै गुणहरु बिकास भयो भने यो श्रृष्टि कुनैबेला अवश्य टक्करोकिन्छ र त्यसपछि ध्वस्त हुन्छ । मलाई विश्वास छ- प्रकृतिले पक्कै पनि त्यस्तो दुर्घटना निम्तन दिने छैनन् !

फेरि अर्को प्रश्न- सम्भोग गर्नुको उद्देश्य सन्तान उत्पादन गर्नु हो भने सम्भोग गर्न वा बच्चा जन्माउन महिला र पुरुषवीच विवाह नै हुनुपर्छ भन्ने छ त ? मेरो विचारमा यसको सरल उत्तर हुन्छ- छैन । सम्भोग गर्नकै लागि विहे गर्नैपर्छ भन्ने छैन । विहे बन्धनमा बाँधिनेवा नबाँधिने पनि महिला र पुरुषको छनौटको कुरा हुनुपर्छ ।

विहे गरेर पनि सम्बन्ध बिग्रिएका र विहे नगरिकनै पनिसँगै बसेका र अत्यन्तै राम्रो सम्बन्ध भएका थुप्रै महिला-पुरुष जोडीहरु (खासगरी पश्चिमा मुलुकहरुमा) देख्न सकिन्छ । महिला र पुरुषवीचको सम्बन्धलाई आपसी सम्भोग, सहयोग, सद्भाव, समझदारी र प्रेमलेनियन्त्रण गरेको हुन्छ, न कि विवाहले ।

महिला र पुरुषका वीचमा मात्र बिहे हुनुको मुलभूत कारण पनि त सम्भोग नै हो भन्दा अत्युक्ति नहोला । विहे गर्नुको उद्देश्य एक अर्काको साथका लागि मात्र हो भनेर टार्न र छल्न खोजिनु भनेको सम्भोगलाई खुलेआम व्यक्त गर्न नसक्नु र त्यसलाई बलजफ्ती लुकाउने प्रयत्न गर्नु हो ।

एक अर्काको साथ र माया त एउटा पुरुषले अर्को पुरुषबाट र एउटी महिलाले अर्की महिलाबाट पनि त पाउन सक्लान्, तर वास्तविक र प्राकृतिक सम्भोग गर्न चाहिँ विपरीत लिंगीहरु नै चाहिन्छ, अर्थात समलिंगीहरुका वीचमा यस्तो सम्भव हुँदैन ।

सम्भोगको कुरा गरिरहँदा हामीले बुझ्नैपर्ने कुरा के हुन्छ भने- यो महिला र पुरुषवीचको नितान्त व्यक्तिगत मामला हो र हुनुपर्छ । यसप्रति अरुको नचाहिँदो चासो, सरोकार र हस्तक्षेप पटक्कै हुनुहुँदैन । वयस्क युवा-युवती दुबैको मन मिलेमा र चाहना भएमास्वाभाविकरुपमा सम्भोग हुन सक्छ । एक अर्काको इच्छाबिना बलजफ्ती र बलात्कार गर्नु भने हुँदैन र पाइँदैन । दुवैको चाहना बेगर गरिने शारीरिक सम्पर्क वास्तविक अर्थमा सम्भोग (दुबैले बराबरी भोग गर्ने वा सन्तुष्टि लिने) हुनै सक्दैन । बलजफ्ती र बलात्कारगम्भीर यौन अपराधहरु हुन् । त्यस्ता अपराधीले सजायँ पाउनैपर्छ ।

यौनसम्पर्क केटा र केटीहरु वीचको नितान्त निजी विषय भए पनि किशोर अवस्थामा पुग्दै गरेका युवायुवतीहरुलाई बाआमा, आफन्त, अभिभावक वा शिक्षक/शिक्षिकाहरुद्वारा यौन र सम्भोग सम्बन्धी शिक्षा भने दिनैपर्छ, ता कि उनीहरुले तिनलाई सामान्य रुपमा ग्रहण गर्न र जीवनमा सही तरिकाले उपयोग गर्न सकुन् ।

यौनसम्बन्धी अल्प बुझाइ, संकीर्ण सोचाइ र ज्ञानको अभावका कारण प्राय: मानिसहरु यौन सम्बन्धी रोग र समस्याहरुलाई लुकाउने गर्दछन् । परिणाम स्वरुप हाम्रो समाजमा कैयन व्यक्तिहरु यौन समस्याबाट पीडित भएका हुन्छन्, कतिपयको पारिवारिक र यौन जीवननै बर्वाद भैरहेको हुन्छ भने धेरैको अकालमै ज्यानसमेत जाने गरेको हुन्छ ।

सम्भोगलाई महिला र पुरुषवीचको निजी विषयको रुपमा लिँदै गर्दा फेरि अर्को प्रश्न उठ्न सक्छ-उसोभए दुईको चाहना र आवश्यकता अनुसार जुनकुनै बेला र ठाउँमा पनि सम्भोग गर्न मिल्छ त ? यौनांगहरुलाई शरीरका अन्य अंगहरु सरह नै लिन र व्यवहार गर्नु पर्दछभन्दा त झसँग हुने हामीहरुले सम्भोग कहाँ र कतिबेला गर्ने भन्ने अधिकार र स्वतन्त्रता महिला-पुरुषमा नै निहित हुनु पर्छ भन्दा पक्कै स्वीकार्न र पचाउन गार्हो पर्नेछ ।यसमा अहिलेलाई मेरो भन्नु यति हुन्छ कि- हामीले आफ्नो अधिकारको उपयोग गर्दा अरुकोअधिकार हनन गर्नुहुँदैन र आफ्नो काम र अभ्यासले अरुलाई असर पुर्‍याउनु हुँदैन ।

यो नियम सम्भोगमा मात्र होइन, हाम्रा अन्य काम र व्यवहारमा पनि लागू हुन्छ र हुनुपर्छ, होइन र ? मानव र पशुहरुवीचको मुख्य भिन्नता भन्नु नै यहि चेतना त हो नि । फेरि आफूलाई असर नपुर्याउने र आफ्नो अधिकार क्षेत्र बाहिरका अरुका लैंगिक होस वा अन्यकृयाकलापप्रति हामीले पनि गिद्दे दृष्‍टि लगाउनुहुँदैन । एउटै काम आफूले गर्दा चाहिँ ठीक र अरु कसैले गर्दा चाहिँ बेठीक भन्ने दोहोरो चरित्र देखाउनु खराव प्रवृति हो ।

अब चर्चा गरौं- वेश्यालय अर्थात यौनालयको ।

यौनालय भन्नाले यौन तृष्णा मेट्न सकिने व्यापारिक वा व्यवसायिक ठाउँ बुझिन्छ। यो शब्द सुन्ने बित्तिकै हामीमध्ये अधिकांशको मनमा सामान्यतया नकारात्मक धारणा पैदा हुन्छ ।

यो धारणा फेरि पनि हाम्रो सेक्ससम्बन्धी बुझाइ, सोचाइ र सामाजिक दृष्‍टिकोणको उपज मात्र नभर्इ यौनालयहरुको अव्यवस्थित, अस्वस्थकर, र असुरक्षित संचालनबाट सिर्जित विविध समस्याहरुका कारण उत्पन्न भएको हुन्छ ।

त्यसैले शहरहरुमा यौनालयहरु स्थापना गर्नु ठीक कि बेठीक भन्ने प्रश्नमा बहुमत अभिमत बेठीक भन्नेमा नै जाला । बेठीक भन्ने विचार विरोधकै रुपमा पनि प्रकट हुन सक्ला किनकि सम्भोगलाई हामीले अनिवार्य शारीरिक आवश्यकता हो भनेर स्वीकार्नै सकेका छैनौं र सम्भोगको पक्षमा खुलेर बोल्नु वा बहसगर्नुलाई त झनै सामाजिक रुपमा चरित्रहीन, आचरणहीन र उत्ताउलो भएको समेत ठानिन्छ ।

यौन दुर्व्यवहार, बलात्कार र हिंसासम्मका घटनाहरुको मुख्य कारण यौन प्यास नै हो

वास्तवमा सेक्सको सवालमा हाम्रो धारणा पाखंडी छ भन्दा अत्युक्ति नहोला- मनले एउटा सोच्ने र ठान्ने तर बोली र व्यवहार अर्को गर्ने र देखाउने ।

विशेष गरी शहरहरुमा मस्त जवानी वा वयस्क भएर पनि विविध कारणहरु (रोजगार र शिक्षाका लागि परिवारबाट टाढा रहनुपर्ने, सम्बन्धविच्छेद, जवानीमै विधवा वा विदुर हुनुपर्ने वाध्यता, कमजोर आर्थिक हैसियतका कारण विवाह हुन नसकेको अवस्था आदि)ले सम्भोग गर्न नपाएका र सम्भोगको अतृप्त प्यासले छट्पटाइरहेका हजारौं लाखौं युवायुवतीहरु हुन्छन् । तिनीहरुले व्यहोर्दै आएका समस्याहरुका कारण नै आज अधिकांश शहरहरु अशान्त र असुरक्षित बनिरहेका छन् ।

दिनहुँजसो अखबारका पानाहरुमा भरिने यौन दुर्व्यवहार, बलात्कार र हिंसासम्मका घटनाहरुको मुख्य कारण यौन प्यास नै हो । प्यासले पर्खाल नाघेपछि यस्ता अप्रिय घटनाहरु हुने गर्दछन् ।यस्ता घटना घटाउनेहरु महापराधी त हुँदै हुन्, त्यसबाहेक मानिसहरुका ज्ञात र अनिवार्य आवश्यकताहरुलाई बुझेर पनि बुझ पचाउने र तिनलाई उचित व्यवस्थापनामार्फत समाधान गर्न उदासीन हुने समाज र सरकार दुबै पनि कम्ति दोषी र जिम्मेवार हुँदैनन् ।

यही विश्लेषणका आधारमा शहरमा यौनालयहरु स्थापना गर्नु ठीक हो भन्ने मात्र होइन, अनिवार्य आवश्यकता पनि हो भन्ने मेरो निष्कर्ष हो । अपराधका कारणहरू नपहिल्यार्इ वा अपराधको कारणलाई नजरअन्दाज गरी अपराधीहरुलाई कारवाही गर्नु मात्रै समस्याकाकदापि दिगो समाधान हुन सक्दैन । जसरी दिसा पिसावबाट शहर फोहोर र दुर्गन्धित नबनोस् भनेर ठाउँ-ठाउँमा शौचालयहरु बनाइन्छ र बनाउनुपर्छ, त्यसरी नै सम्भोगका भोकाहरुका लागि सन्तुष्टि दिलाउन निश्चित ठाउँहरुमा यौनालयहरुको पनि स्थापना गर्नैपर्छ ।

आखिर वैधानिकरुपमा सञ्चालन गर्न नदिए पनि अवैध रुपमा यौन धन्दाहरु भैरहेकै छन्, अव्यवस्थित र असुरक्षित यौनालयहरु सञ्चालन भएकै छन् ।

त्यस्ता यौनालयहरुका कारण लाखौं युवायुवतीहरु एड्स लगायतका गम्भीर यौनजन्य रोगहरुको शिकार भएका छन्, जसबाट राज्यले धन र जन दुबैको ठूलो क्षति व्यहोरिरहेको हुन्छ । पुलिस प्रशासनले जतिसुकै निगरानी बढाए पनि र कडाइ गरे पनि ती यौनालयहरु रोकिएका छैनन, बरु बढेको बढ्यै छन् ।

फेरि पनि दोहोर्याउन चाहन्छु- सम्भोग अनिवार्य मानवीय आवश्यकता हो, त्यसैले यो कानुन बनाएर र सजायँ दिएर केही हदसम्म दबाउन त सकिएला, तर, रोक्न सकिने कुरै होइन । तसर्थ, समाधानको भरपर्दो र दीर्घकालीन उपायतर्फ विवेक, समय र पैसा खर्चिनुपर्छ ।

फेरि वैधानिकरुपमा स्थापित यौनालयहरुलाई नै बढी व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सकिन्छ र तिनीहरु समाज र सरकारप्रति बढी उत्तरदायी र जवाफदेही बन्न सक्छन् ।
यसले अधिकांश मानिसहरुका यौनिक आवश्यकताहरु केही हदसम्म परिपूर्ति गर्न सघाउपुर्याउँछ, कयौं मानिसहरुको वैधानिक आयस्रोत बन्दछ र त्यसबाट राज्यले कर समेत प्राप्त गर्दछ ।

स्मरणीय कुरा के छ भने- वैधानिक रुपमा यौनालयहरु सञ्चालन गर्दैमा यौन जन्य सबै विकृति र अपराधहरु निर्मूल हुन्छन् भन्ने मेरो आशय होइन । तर, पनि तिनीहरुमा कमी आउने छ भन्ने चाँहि पक्कै हो ।

फेरि हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन् । मेरो बुझाई चाहिँ यौनालयहरु खोल्नुका सकारात्मक पक्ष नै बढी हुन्छन् भन्ने हो । त्यसैले होला विकसित मुलुकहरुमा यसको प्रयोग धेरै पहिलेदेखि भैरहेको छ ।

यसै सेरोफेरोमा अर्को महत्वपूर्ण कुरा पनि थप्न चाहन्छु ।

सम्भोग मानवीय अनिवार्य आवश्यकता भएकाले खासगरी वयस्क विधवाहरुले पनि सम्भोगको लागि पुरुष साथी बनाउने वा विदुरहरुले जसरी पुन: अर्को बिहे गरी जीवनसाथी बनाउन पाउने सरल र सहज अवस्थार वातावरण परिवार, समाज र राष्ट्र सबैले सिर्जना गर्नैपर्छ ।

त्यसले विधवाहरुको जीवनमा फेरि उमंग सञ्चार गर्न सक्छ र जीवन सार्थक भएको अनुभूति गराउन सक्छ ।

अन्त्यमा, सेक्ससम्बन्धी हाम्रा ज्ञान र बुझाई, यसलाई हेर्ने र गर्ने व्यवहार (सकेसम्म लुकाउने, छिपाउने, दबाउने र उपेक्षा गर्ने) र हाम्रो सनातनदेखिको दृष्‍टिकोण आदिका कारण नै यो जटिल विषयका रुपमा स्थापित भएको छ ।

मानिस जतिसुकै पढेको, बुझेको, देखेको, भोगेको र जानेको भए पनि उसको व्यक्तिगत र सामाजिक पृष्टभूमिका कारण उसले यौनांगहरुलार्इ शरीरका अन्य अंगहरु सरह मान्न सकिरहेको छैन ।

अनि सम्भोगलाई शरीरका अन्य आवश्यकता जस्तै हो भनी सामान्य रुपमा स्वीकार्न अझै सकेको छैन ।

व्यक्ति व्यक्ति मिलेर नै राष्ट्र बन्ने भयो, अनि सेक्स बारे सिंगो राष्ट्रको बुझाई र व्यवहार पनि व्यक्तिको भन्दा कसरी फरक हुने भयो र ? त्यसैले सेक्स सम्बन्धी हाम्रा सोचाइ र धारणाहरुमा परिवर्तन हुनैपर्छ । यसका लागि सेक्ससम्बन्धी व्यापक र खुल्ला बहस हुन र थाल्न जरुरी छ ।आफ्ना यिनै अवधारणाहरु सहित मैले त्यस बहसमा सहभागी हुने प्रयास गरेको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment