Comments Add Comment

बिर्तामोडका डीएसपी जिल्ला तानिए, कर्फ्यु यथावत

डीएसपी भन्छन्- म पनि घाइते भएको छु

११ कात्तिक, झापा । बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।

स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए ।

सिलवाललाई जिल्ला तानिएपछि उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।

राजनीतिक दल र प्रजिअको बैठक

इप्रका अनारमनीका डीएसपी बस्नेतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अहिले कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र स्थानीयबीच बैठक जारी छ ।

यसअघि शुक्रबार झडपको घटनालगत्तै बसेको बैठकले स्थितिलाई शान्तिपूर्ण बनाउन समन्वय गर्ने, घाइते परिवारका लागि क्षतिपूर्ति दिलाउन पहल गर्ने र उनीहरुको निःशुल्क उपचार गराउने व्यवस्था गर्ने निर्णय गरेको डीएसपी बताए ।

एकको अवस्था गम्भीर, बिर्तामोड सुनसान

घटनामा गोली लागी घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलामको माई नगरपालिका-१ का मणि नेपालीको अवस्था गम्भीर रहेको जनाइएको हो । उनको बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचार भइरहेको छ ।

घटनामा गोली लागी घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलामको माई नगरपालिका-१ का मणि नेपालीको अवस्था गम्भीर रहेको हो

घटनाको विषयमा थप छानबिन गर्न गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।

स्थितिलाई थप भड्किन नदिनका लागि स्थानीय प्रशासनले शनिबार पनि बिर्तामोडमा कर्फ्यू लगाएको छ ।

कर्फ्यूका कारण शनिबार बिर्तामोड बजार सुनसान देखिएको छ ।

डीएसपी भन्छन्- म पनि घाइते छु

इलाका प्रहरी कार्यालय, अनारमनीबाट जिल्ला तानिएका डीएसपी राजकुमार सिलवालले आफू पनि घाइते भएको बताएका छन् ।
‘मेरो पनि हड्डी चर्किएको छ, चन्द्रगढीमा उपचाररत छु’, उनले अनलाइनखबरसँग भने ।

डीएसपी राजकुमार सिलवालले घटनाको छानविनका क्रममा अाफूबाट कुनै कमजाेरी नभएकाे बताए ।

उनले आफूबाट केही गल्ती भएको भए हदैसम्मको कारबाही भोग्न पनि तयार रहेको बताए । साथै उनले घटनाको अनुसन्धान सकिइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment