Comments Add Comment

मधेसीले धानेको काठमाडौं ! छठमा के-के भयो ?


जमलका होटल व्यवसायी सुरज लिम्बुको होटलमा रक्सीको बोतलको चाङ लाग्यो । तर, झण्डै एक हप्तादेखि उनको खाली सिसीबोतल लैजाने मानिसहरु आएनन् ।

दैनिक होटलबाटै बोतल किनेर लैजाने ब्यापारीहरु छठ मनाउन तराई झरेपछि लिम्बु स्टोरमा थन्किएका खाली बोतलहरु कता तह लगाउने भन्ने चिन्तामा परे ।

बिहानै साइकलमा तरकारी लिएर ढोका-ढोका पुग्ने ब्यापारी गतहप्ता राजधानीबाट गायब भए । कुकर, ग्यास स्टोभ बनाउन दैलोमै पुग्ने मिस्त्रीहरु पनि हराए । दाह्री कपाल काट्न चाहनेहरु सटर लागेका सैलुनबाट रित्तै र्फकन बाध्य भए । बिग्रिएका धारा, विजुली बनाउने मानिसहरु पाइएनन् । केहीदिन काठमाडौंसहित पहाडी क्षेत्रका शहरका बासिन्दाको जनजीवनमा असहजता छायो ।

यी सबैको मुख्य कारण थियो, मधेसी समुदायका ब्यापारी, मिस्त्री र कामदारहरु छठका लागि तराई झरे । काठमाडौंमा दैनिक घरदैलोमै विभिन्न सेवा पुर्‍याइरहेकाहरु घर फर्किए पछि काठमाडौंको जनजीवन असहज बनेको हो ।

आखिर काठमाडौंको जीवनधरामा मधेसी समुदायको योगदान र निर्भरता के कति रहेछ ? छठमा देखिएको राजधानीको शुन्यताले स्पष्ट पारिदिएको छ

कवाडी संकलन गर्ने, फलफूल तथा तरकारी बेच्ने, विभिन्न भाँडाकुडा र लत्ताकपडा घर-घरमै पुर्‍याउने अनि पानी, बत्ती मर्मत गर्नेहरु नहुँदा काठमाडौंमा धेरैलाई सास्ती भयो ।

लैनचौरकी सुनिता थापा साइकलमा दैनिक फलफूल ल्याउने ब्यापारी एक हप्तादेखि नआउँदा तरकारी बजारसम्म धाउनुपर्ने सकसमा परिन् । ‘छठमा तराई गएपछि घरमा धान नभित्र्याई नआउँदा रहेछन्, अझै कति दिन सास्ती हुने हो थाहा छैन,’ थापाले भनिन् ।

बिहानै दाह्री काट्न कपुरधाराको सैलुन पुगेका वृद्ध कुलराज धमला पनि त्यतिकै फर्के । ‘आफ्नो हात काम्छ, काट्न सक्दिनँ, सैलुनको मान्छे अझै आएको छैन, अब दिउँसो नातिलाई बोलाएर काट्न लगाउँछु,’ उनी भन्दै थिए ।


मधेसी मूलका नागरिकको बाहुल्यता रहेका विभिन्न सेवाहरु छठका कारण राजधानीमा प्रभावित भएका हुन् । अधिंकाश मोटरसाइकल वर्कसपहरु समेत यो साता बन्द भए । धेरै फलफूल पसल पनि खुलेनन् । जाडोको सिरक डस्ना बनाउन घर-घर धाउने जनशक्ति पनि पाइएनन् । निर्माणका प्रायः कामहरु पनि रोकिए ।

मिस्त्रीदेखि ज्यामीसम्म मधेसी मूलका नागरिकको बाहुल्य रहेका कारण विकासका काम पनि प्रभावित भएको निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा बताउँछन् ।

‘ओभरसियर, सर्भेयरलगायत प्राविधिक पदमामा पनि मधेसी समुदायका नागरिकको बाहुल्य छ’ देउजाले भने,’उनीहरु सबैभन्दा लामो समय फिल्ड छोड्ने समय पनि यही छठ नै हो ।

निर्माणमा डन्डी कस्स्ने, फर्मा ठोक्ने, प्लास्टर गर्ने लगायतका काममा मधेसी मूलका नागरिककै बढी भर पर्नुपर्ने अवस्था छ ।

यति मात्रै हैन, छठमा अधिकांश ग्रील उद्योगहरु पनि बन्द भए । सडकमा जुत्ता सिलाउनेहरु पनि भेटिएनन् । चटपटे र पानीपुरीका पारखीहरुको मुख खल्लो बन्यो ।


त्यसैगरी धेरै गलैँचा कारखानाहरु पनि बन्द भए । ईंटा उद्योगहरुले पनि क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । इम्ब्रडरी गर्नेहरु पनि छैनन् । झोला बनाउनेहरु पनि छैनन् ।

खुलेका इलेक्ट्रोनिक्स पसलमा पनि पनि उपकरण लैजाँदा मिस्त्री नभएको भन्दै फर्काउने क्रम चल्यो ।

विशेष गरी पहाडी मूलका नागरिकले गर्न नचोहका काम र सेवामा मधेसी मूलमा नागरिकको आकर्षण देखिन्छ । जोखिमपूर्ण तथा कथित तल्लोस्तरको मानिने विभिन्न काम गरेर उनीहरुले गजबको आम्दानी पनि गरिरहेका हुन्छन् ।

काम गर्न कति पनि नलजाउने यो वर्गको अनुपस्थितिले काठमाडौंसहित पहाडी क्षेत्रको दैनिक जनजीवनसहित कामकाजमा प्रभाव परेको छ ।

अर्थविद मदनकुमार दाहाल पहाडी मूलका नागरिकमा अप्ठेरो मान्ने तथा कडा मिहिनेतमा आधारित काम गर्ने तत्परता र गतिशीलता नदेखिएको बताउँछन् । त्यसैकारण स्वतः स्फूर्त रुपमा मधेसी मूलका नागरिकले त्यसमा अवसर नै अवसर देखेको बताउँछन् ।

‘उनीहरुको जतिको इमान्दारिता, गतिशीलता र मिहिनेत हामी पहाडमा बस्नेले गर्न सकेेनौं, त्यसैले मधेसी मूलका नागरिकले त्यो आवश्कता पूर्ति गरिरहेका छन् । हामीले उनीहरुलाई धन्यवाद दिनुपर्छ,’ अर्थविद दाहालले अनलाइनखबरसँग भने ।

उनले अनौपचारिक अर्थतन्त्रको ठूलो हिस्सा यस्ता सेवाहरुमा रहेकाले सरकारले यसलाई थप व्यवसायिक बनाउन र त्यसलाई औपचारिक अर्थतन्त्रका रुपमा बदल्न योजना बनाउनुपर्ने उनको भनाइ छ ।

‘यस्ता काममा भारतीय मूलका नागरिले पनि सहभागिता जनाएका छन् । यो देख्दा सकारात्मक भए पनि अर्थतन्त्रमा त्यसले असर गरिरहेको हुन्छ,’ दाहालले भने, ‘तर, उनीहरुले जसरी काम गरिरहेका छन्, त्यसलाई हामीले अवमूल्यन गर्नुहुँदैन ।’

आखिर काठमाडौंको जीवनधरामा मधेसी समुदायको योगदान र निर्भरता के कति रहेछ ? छठमा देखिएको राजधानीको शुन्यताले स्पष्ट पारिदिएको छ । र, हाम्रो देशमा सबै समुदायका मानिसहरुको अन्तरनिर्भरता कति गहिरो रहेछ भन्ने पनि यसले स्पष्ट पारेको छ ।

जसरी मधेसी समुदायका व्यवसायी एवं कामदारहरुले काठमाडौंबासीलाई सेवा प्रदान गरेका छन्, त्यसै गरी काठमाडौंले पनि उनीहरुको ठूलो संख्यालाई रोजगारस्थल प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment