+
+
Shares

कोलकाता बन्दरगाहको समस्या उस्तैः कन्टेनरको जामले नेपाली आयातकर्ता मारमा

विशाखापटनम बन्दरगाहको प्रयोगमा नेपाली व्यापारीको ध्यान कम

सुरेश बिडारी सुरेश बिडारी
२०७४ कात्तिक १३ गते १२:२३

१३ कात्तिक, वीरगञ्ज । नेपालमा तेस्रो मुलुकबाट सामान आयातका लागि भारतले उपलब्ध गराएको कोलकाता बन्दरगाहमा हुने जामले नेपाली आयातकर्ताहरु मारमा परेका छन् ।

ड्यामरेज र डिटेन्सन शुल्कका नाममा बर्सेनि करोडौं रुपैयाँ भारत पुगिरहेको छ ।

नेपालमा उद्योगधन्दा खोल्ने क्रम बढ्दै जानु र ठूला विकास योजनाहरु सञ्चालन हुनुलगायत कारणबाट तेस्रो मुलुकबाट आयात बढ्दो छ ।

कोलकाता बन्दरगाहको व्यवस्थापन, पूर्वाधार र प्रणालीमा परिवर्तन आएको छैन । नेपाली आयातकर्ताहरुको निरन्तर गुनासो छ, ‘परनिर्भर हुनुको पीडा हामीले भोगिरहेका छौं ।’

कोलकाता बन्दरगाह समुद्रमा नभई नदीमा आधारित छ । र, यो सानो आकारको पनि छ । क्षमताभन्दा दोब्बर सामान आयात–निर्यात हुँदा बन्दरगाह व्यवस्थापनले धान्न सकेको छैन ।

एक सय ४७ वर्षदेखि सञ्चालनमा छ, कोलकातास्थित हुग्ली नदीमाथिको उक्त बन्दरगाह । यही परम्परागत बन्दरगाहबाट नेपालले आफ्नो तेस्रो मुलुकसम्मको व्यापार धानिरहेको छ । यसको गहिराइ ६ मिटर मात्र छ ।

र, साना जहाज (फिडर भेसल) मात्र चल्छन् । ती जहाजले एक पटकमा पाँच सय वटा कन्टेनर मात्र ल्याउन सक्छन् । कोलकातासम्म सामान ल्याउन सिंगापुर या श्रीलंकाका बन्दरगाहसम्म मात्र ठूला जहाज आउँछन् ।

त्यहाँबाट मध्यमखाले जहाजमा राखेर समुद्रको निश्चित विन्दुसम्म सामान ल्याउनु पर्छ । र, कोलकाताबाट साना जहाज उक्त विन्दुमा पुगेर सामान लिई हुग्ली बन्दरगाह ल्याउँछन् ।

अर्थात्, तेस्रो मुलुकबाट नेपाल आयात हुने सामान समुद्रमै दुई पटक लोड/अनलोड हुन्छ । र, त्यसको मूल्य व्यापारी हुँदै उपभोक्तासम्मले बेहोर्नु पर्छ ।

एक अध्ययनअनुसार नेपालबाट तेस्रो मुलुक निर्यात हुने वस्तुको ९८ प्रतिशत हिस्सा कोलकाता र हल्दिया बन्दरगाहले बहन गर्दै आएका छन् ।

कोलकाता बन्दरगाहबाट हुने समुद्रपार व्यापारमा नेपालको हिस्सा सात प्रतिशत छ, जुन स्थायी प्रकृतिको हो ।

तर, उल्टै नेपालका लागि सामान लिएर आएका कन्टेनर र जहाजले अनलोडिङका लागि समय र ठाउँ पाउन हम्मे पर्दै आएको छ । ठाउँ पाउँदा पनि बाहिरिनका लागि पर्खिनुपर्छ ।

आयातकर्ताहरुका अनुसार सिपिङ कम्पनीहरुले कन्टेनरमा सामान लोड गरी नेपाल ल्याएर फर्किन १४ देखि २१ दिनको सीमा पाउँछन् । तर, कम्तिमा १७/१८ दिन लाग्दै आएको छ ।

हरेक कन्टेनरका लागि डेढदेखि दुई लाख रुपैयाँ बिलम्ब शुल्क भारतीय सिपिङ कम्पनीहरुलाई बुझाउनु परिरहेको छ ।

दशैं अघिदेखि जामको समस्या झनै बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले जानकारी दिए । बाढीको कहर सकिनासाथ सुरु भएका चाडपर्वका कारण कार्गो आउने बाटो र प्रक्रिया प्रभावित भएर जाम बढेको उनको भनाइ छ ।

‘जहाजबाट अनलोड हुनेबित्तिकै दिनगन्ती सुरु हुन्छ, एउटा कन्टेनर समयमा नपुर्‍याएमा १० हजार रुपैयाँ जरीवाना लिन्छन्,’ केडिया भन्छन्, ‘वीरगञ्जभन्दा बाहिर काठमाडौं, पोखरा र नारायणगढ पुर्‍याएर खाली गराउँदा झनै बढी मर्कामा परिन्छ ।’


नेपाल सरकारलाई मात्रै गुहारेर पनि कोलकाताको समस्या समाधान नहुने देखिएको उनी बताउँछन् ।

यसअघि कोलकातामा एक ठाउँबाट मात्रै सामान लोड हुन्थ्यो । अहिले दुई ठाउँबाट लोड गरिँदा पनि समस्या हटेको छैन । व्यवसायीहरुका अनुसार अहिले माजिरहाटबाट पनि कन्टेनर लोड गर्ने व्यवस्था छ ।

विगतमा बर्सेनि ७२ हजार कन्टेनर कोलकाताबाट नेपाल आउँथे । यस वर्ष अझ बढ्ने अनुमान आयातकर्ताहरुको छ ।

सुख्खा बन्दरगाहमा पनि समस्या

वीरगञ्ज सिर्सियास्थित सुख्खा बन्दरगाहको समस्या बेग्लै छ । त्यहाँसम्म कन्टेनर ल्याउन रेलमार्गको ‘सिंगल’ लाइन मात्र उपलब्ध छ ।

सुख्खा बन्दरगाहमा दैनिक आउने ७० देखि ८० र्‍याक सामानमा २० र्‍याक कन्टेनर नै हुन्छन् । तर, रेललाइन बढाउनेबारे हिमालयन टर्मिनल गम्भीर देखिएको छैन । नेपाल सरकारले समस्या समाधानका लागि सहजीकरण गर्न नसकेको गुनासो आयातकर्ताहरुको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा समस्या समाधानमा कसैले चासो नदिएको बताउँछन् ।

‘जसरी हुन्छ छिटो कन्टेनर खाली गराएर पठाउने व्यवस्था मिलाउन सके राम्रो हुन्थ्यो । त्यसले आयातकर्ताहरुलाई मात्र होइन, सबैलाई फाइदा हुन्छ,’ उनी भन्छन्, ‘तर, समस्या समाधानका लागि राज्य कहिल्यै गम्भीर भएन ।’

आयात परिमाण बर्सेनि बढ्दो छ, संरचना र प्रविधि भने पूरानै । अत्याधुनिक प्रविधिको प्रयोग हुन सकेको छैन ।

विकल्प विशाखापटनम

नेपाललाई भारतले आन्ध्रप्रदेशस्थित विशाखापटनम बन्दरगाह उपलब्ध गराइसकेको छ । वीरगञ्जस्थित सीमाबाट १४ सय ४० किलोमिटर टाढा पर्ने उक्त बन्दरगाहलाई भारतीय पक्षले नेपालका लागि ‘दोस्रो गेटवे’का रुपमा व्याख्या गरिरहेको छ ।

सन् २००९ मा नेपाल र भारतबीच त्यसबारे सहमति भए पनि कार्यान्वयनमा आउन आठ वर्ष लाग्यो ।

उक्त बन्दगाहबाट २४ सै घण्टा सामान डिस्प्याच गर्ने सुविधा छ । तर, नेपाली व्यवसायी विशाखापटनमको प्रयोगमा अभ्यस्थ बन्न सकेका छैनन् । बन्दरगाहा प्रयोगमा आएको तीन महिना बितिसक्दा पनि जम्मा ६ र्‍याक सामान मात्र आएका छन् ।

‘कोलकातामा च्यानल बसिसकेको छ । त्यही भएर पनि होला आयातकर्ताहरुले विशाखापटनमबाट समान मगाइरहेका छैनन्,’ अध्यक्ष शर्मा भन्छन् ।

कोलकाताभन्दा कम खर्च र समयमा सामान भित्र्याउन सकिने कुरामा व्यवसायीको पनि ध्यान जान सकेको पाइँदैन । आयातकर्ताहरु भने २/४ कन्टेनर सामान ल्याउनुपर्दा विशाखपटममा पर्खिनुपर्ने समस्या रहेको बताउँछन् ।

‘विशाखापटनमबाट ९० कन्टेनर सामान भएपछि कार्गो हिँड्छ, २/३ जना व्यापारी मिलेर आयात गरे मात्रै त्यो सम्भव छ,’ केडिया भन्छन्, ‘अलि–अलि त समान आइरहेको छ । तर, ठूलो परिमाणमा ल्याउन सकिएको छैन ।’ विशाखापटनम बन्दरगाह कोलकाताजस्तो झण्झटिलो भने नरहेको उनी बताउँछन् ।

विशाखापटनमबाट आयात गर्दा हुने फाइदाबारे व्यापारीहरुलाई आश्वस्त पार्न नसकिएकै कारण अपेक्षाकृत प्रयोग बढ्न नसकेको सुख्खा बन्दरगाह भन्सारका अधिकृत सूर्य सेढाईं बताउँछन् ।

सेढाईं भन्छन्, ‘धेरैलाई थाहा नहुन पनिसक्छ, थाहा पाउनेले पनि सुरुमा जोखिम लिन नचाहेका हुन सक्छन् ।’ उनका अनुसार विशाखापटनमबाट आयात गर्न कोलाकाताभन्दा सहज छ । समय र खर्च पनि कम लाग्छ ।

चीन र तेस्रो मुलुकबाट समुद्री मार्ग हुँदै सामान आयात गर्दा सिंगापुर पुग्नै पर्छ । र, सिंगापुरबाट ठूला जहाज सीधा विशाखापटनम आउन सक्छन् । कोलकातामा जस्तो कागजी प्रक्रियाको झण्झट पनि त्यहाँ नरहेको सेढाईं बताएँछन् ।

अनलाइन प्रणाली जडित छ । अत्याधुनिक प्रविधिको प्रयोगका कारण वल्लो टेबलबाट पल्लो टेबलमा फाइल लिएर दौडिनु पर्दैन । ‘वीरगञ्जसम्म सामान ल्याउने जिम्मा पनि सिपिङ कम्पनीकै हुन्छ,’ सेढाईं भन्छन्, ‘कन्टेनरहरुले होल्डमा बस्नुपर्ने, ड्यामरेज र डिटेन्सन शुल्क तिर्नुपर्ने समस्या छैन । र, अन्य थुप्रै अनावश्यक खर्च कटौती हुन्छ ।’

ती सबै सुविधाका बावजुद नेपाली आयातकर्ताको ध्यान विशाखापटनमतिर मोडिएको पाइँदैन ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?