Comments Add Comment

सिमेन्ट उद्योगको धुलो र धुँवाले नगर क्षेत्र प्रभावित

प्रदुषण मापदण्डविपरित कारखाना सञ्चालनमा


१३ कात्तिक, सिमरा । बाराको जितपुर-सिमरा उपमहानगरस्थित बजनीमा सञ्चालनमा रहेका दुई सिमेन्ट उद्योगको प्रदुषणबाट नगरवासी प्रभावित बनेका छन् ।

वीरगञ्ज-पथलैया करिडोरमा एउटै हातामा सञ्चालित छन्, शालिमार र युनिटेक ब्रान्डका सिमेन्ट उद्योग । कारखानाको चिम्नीबाट निस्किने धुलो र धुँवाले २४ घण्टै स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरिरहेको छ ।

प्रदुषणका कारण सर्वसाधारणको स्वास्थ्यमा त प्रत्यक्ष प्रभाव परिरहेको छ नै, आसपासको करिब पाँच बिघा खेतीयोग्य जमिन उब्जाउरहित बनेको छ । बजनी, रामवन, नगौल, जितपुरलगायत उद्योगआसपासका गाउँका बासिन्दा बढी प्रभावित छन् ।

करेसाबारीका तरकारी र बालीनालीमा समेत असर पुर्‍याएको बताउँदै स्थानीय बासिन्दा आक्रोसित छन् ।

उत्पादन हुन छाडेपछि हारगुहार गर्न जाँदा उद्योगले थोरै राहत दिएर पठाउने गरेको छ । तर, त्यसबाट दीर्घकालीन समस्या समाधान नहुने गाउँलेको भनाइ छ ।

वृद्धवृद्धामा दम र बालबालिकामा आँखा दुख्ने समस्या देखिएको छ ।

स्थानीय स्वायत्त शासन ऐनअनुसार नगरमा सञ्चालित उद्योग नियमनको अधिकार नगरपालिकालाई छ । नगरपालिकाले ठोस कदम चाल्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

संविधानको धारा ३० ले हरेक नागरिकलाई स्वस्थ वातावरणको हक दिएको छ । यस्तै, वातावरण संरक्षण नियमावली, २०५४ को नियम १६ मा उद्योगले अस्थायी वा स्थायी प्रदुषण नियन्त्रणसम्बन्धी प्रमाणपत्र लिनुपर्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार तोकिएको मापदण्डविपरित कुनै उद्योगले फोहरमैला निष्काशन गर्न पाइँदैन । तर, कानूनी व्यवस्थाको पालनामा ती उद्योग उदासिन देखिन्छन् ।

दुवै उद्योगका सञ्चालक अशोक वैद्यले सरकारले सञ्चालनको दर्ता प्रमाणपत्र दिएकाले जवाफदेही पनि सरकार नै हुनुपर्ने बताए । उद्योगको प्रदुषणका कारण स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको भने उनले स्वीकारे । ‘प्रदुषण न्यूनीकरण गर्दै लगिएको छ ।

केही दिनभित्रै समस्या समाधान हुन्छ,’ वैद्यले भने, ‘१५ दिनभित्र टि्रटमेन्ट प्लान्ट स्थापना गर्दैछौं, जसबाट प्रदुषण शून्य प्रतिशतमा झर्नेछ ।’

उद्योगले ट्रिटमेन्ट प्लान्ट स्थापना गर्ने आश्वासन पटक-पटक दिए पनि कार्यान्वयन नभएको स्थानीय राजन पौडेलले बताए ।

पथलैया-वीरगन्ज औद्योगिक करिडोरका केही उद्योग अझै नियमविपरित रहेको वातावरण मन्त्रालयको प्रदुषण नियन्त्रण तथा अनुगमन शाखा प्रमुख शंकरप्रसाद पौडेलले बताए । केही दिनअघि अनुगमनका लागि बारा आएको टोलीले युनिटेक सिमेन्टले नगरमा अत्यधिक प्रदुषण गरेको प्रतिवेदन बुझाएको उनले जानकारी दिए ।

पौडेलका अनुसार सोही प्रतिवेदनअनुसार युनिटेकका सञ्चालकलाई बयानका लागि पत्राचार गरिएको छ ।

सिमेन्ट उद्योगले प्रदुषण नियन्त्रण नगरी मापदण्डविपरित सञ्चालन गर्न खोजे उद्योग खारेजी वा स्थानान्तरणको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

उपमहानगरका मेयर डा. कृष्ण पौडेलले उद्योगको प्रदुषण नियन्त्रणमा छिट्टै रणनीतिक योजना ल्याइने बताए । मापदण्डविपरित पाइए कारवाही प्रक्रिया बढाइने प्रतिबद्धता उनले जनाएका छन् ।

उपमहानगरका निमित्त कार्यकारी अधिकृत गोपाल खपांगीले ती उद्योगका सञ्चालकलाई प्रदुषण व्यवस्थापनका लागि पत्राचार गरिए पनि नआएको जानकारी दिए ।

‘पत्रै काटेर बोलाउँदा पनि सम्पर्क गर्न आउँदैनन्, प्रदुषण व्यवस्थापन गर्छौं भनेको वर्षौं बितिसक्यो,’ खपांगीले भने, ‘विभागसँग समन्वय हुन नसक्दा उद्योगको मनोबल बढेको छ ।’

ठूलो उद्योगको नियमन वातावरण विभागले नै गर्ने भएकाले समस्या कायम रहेको उनको भनाइ छ ।

विभागको टोली महिनैपिच्छे अनुगमनमा आउने गरेको छ । तर, केही उद्योगले सामान्य मापदण्ड अपनाएका छन् भने अधिकांशले वातावरण ऐनविपरित नगर क्षेत्र प्रदुषित बनाएको खपांगीले बताए ।

उक्त उपमहानगरमा साना-ठूला गरी दुई दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब एक दर्जन सिमेन्ट उद्योग हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment