Comments Add Comment

१० वर्षपछि दाङ फर्किएका महरा कति सुरक्षित ?

१४ कात्तिक, दाङ । माओवादी नेता कृष्णबहादुर महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले रोल्पा उक्लेर चुनाव जिते । अहिले १० वर्षपछि फेरि उनी दाङबाट चुनाव लड्दैछन् ।

एकमात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा यसपटक माओवादी नेता वर्षमान पुन ‘अनन्त’ उम्मेदवार बनेपछि फेरि दाङ झरेका हुन् ।

महरा एमाले-माओवादी वामगठवन्धनका साझा उम्मेदवार हुन् । दाङ क्षेत्र नम्बर २ एमालेले पाउने कि माओवादीले भन्नेमा लामो समय विवाद थियो । एमालेका शंकर पोखरेलले पनि दाबी गरेका थिए । लामो रस्साकस्सीपछि अन्तत महरा नै प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

एमाले नेता पोखरेल प्रदेशसभाको उम्मेदवार बनेका छन् । उनी ५ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका दावेदार हुन् ।

दाङ क्षेत्र नम्बर २ मा टिकट पाउनु नै महराको पहिलो जित हो । तर, उनले चुनाव जित्लान् कि नजित्लान् चासोको विषय बनेको छ । माओवादीका ‘हेभीवेट’ नेता महरासँग नेपाली कांग्रेसका राजु खनाल चुनावी मैदानमा उत्रिने कांग्रेसले जनाएको छ ।

कांग्रेस दाङका अध्यक्ष कीर्तिबहादुर खड्काले भने, ‘पार्टी केन्द्रले आज टुंगो लगाउँदै छ, तर राजु खनालको सम्भावना बढी छ ।’

खनाल कांग्रेसका पूर्वसांसद हुन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले माओवादी उम्मेदवार निर्मल आचार्यलाई दाङ क्षेत्रनम्बर ३ बाट पराजित गरेका थिए । पहिले क्षेत्र नम्बर ३ मा परेको दाङ सदरमुकाम घोराही अहिले क्षेत्र नम्बर २ मा पर्छ ।

स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा क्षेत्र नम्बर २ मा कांग्रेसको मत २१ हजार ४६, एमालेको २२ हजार ४६ र माओवादीको १७ हजार ५३५ छ । यसैगरी राप्रपाको १ हजार १८४ र फोरम लोकतान्त्रिकको २६३ मत छ ।

हुन त स्थानीय तह निर्वाचनको मतको आधारमा प्रतिनिधिसभा निर्वाचनको नतिजाको निष्कर्ष निकाल्न सकिँदैन । तर स्थानीय तहको मतले चुनावी नतिजाको विश्लेषणको आधार भने तयार पार्दछ ।

घुमन्ते नेताको आरोप

अहिले माओवादी र एमाले चुनावी गठवन्धनमा छन् । कांग्रेसले राप्रपा र फोरम लोकतान्त्रिकको साथ पाएको छ । यसरी हेर्दा दाङ क्षेत्र नम्बर २ मा कांग्रेस, राप्रपा र फोरम लोकतान्त्रिक मिलिहाले पनि माओवादी र एमालेको झण्डै दोब्बर बढी मत देखिन्छ ।

यसैलाई मात्र हेर्ने हो भने महरा कांग्रेस उम्मेदवार खनालभन्दा अगाडि नै देखिन्छन् ।

तर, ०६४ को चुनावमा प्रचण्ड रोल्पाबाट चुनाव लड्ने भएपछि महरा दाङ झरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा दाङ छाडेर उनी रोल्पाबाट चुनाव लडे । अहिले फेरि उनी दाङमै चुनाव लड्न आएका छन् । त्यसैले कांग्रेसका स्थानीय नेताहरुले महरालाई ‘घुमन्ते नेता’को संज्ञा दिएका छन् । यसलाई चिर्नुपर्ने चुनौती महरासँग छ ।

एमालेको मत तान्ने कांग्रेसको दाउ

घोराही क्षेत्रनम्बर २ मा घोराही उपमहानगरपालिकाका १९ वटा वडाहरुमध्ये १, २, ३ र ५ वडा क्षेत्र नम्बर एकमा र बाँकी सबै २ मा पर्दछन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकाको १६, १७, १८ र १९ वडा पनि २ नम्बर क्षेत्रमा पर्दछन् । बंगलाचुली गाउँपालिका पनि क्षेत्र नम्बर २ मा नै पर्दछ ।

स्थानीय तहको चुनावको मत परिणामलाई हेर्दा बंगलाचुलीको एक नम्बर वडा कांग्रेसले र ६ नम्बर वडा एमालेले जितेको छ । बाँकी अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा माओवादी विजयी भएको छ ।

यस्तै क्षेत्र नम्बर २ भित्र पर्ने घोराहीका १५ वटा वडाहरुमध्ये ४ वटा वडामा कांग्रेसले, ८ वटा वडामा एमालेले र ३ वटा वडामा माओवादीले जितेको छ । दाङ क्षेत्र नम्बर २ भित्र पर्ने तुलसीपुरका १६, १८ र १९ मा एमालेले तथा वडा नम्बर १७ मा कांग्रेसले जितेको छ ।

यसरी स्थानीय तहको मतलाई हेर्दा वाम गठवन्धन कांग्रेसभन्दा धेरै अगाडि नै छ । तर दोस्रो संविधानसभा निर्वाचनको मतलाई हेर्दा कांग्रेस झण्डै सात हजार भोटले अगाडि देखिन्छ । त्यसैले कांग्रेसका नेताहरु आसन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ जित्नेमा ढुक्क त छैनन् तर प्रतिस्पर्धार्मा जान सकिने अनुमान लगाइरहेका छन् ।

कांग्रेसका युवा नेता राजु खनाल आफूहरु क्षेत्र नम्बर २ मा कमजोर नरहेको दावी गर्छन् । उनले अनलाइनखबरसँग भने, ‘०७० को चुनावलाई हेर्दा हामी ७ हजार मतले अघि छौं, स्थानीय चुनावमा अन्तरघातको कारण हामी कमजोर देखिए पनि अहिले एकढिक्का भएर वाम गठवन्धनको सामना गर्दैछौं । त्यसैले हामी दाङका कुनै पनि क्षेत्रमा कमजोर छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment