Comments Add Comment

भारतीय ट्रकको निर्वाध आवतजावतः ओरालो लाग्दै नेपाली ढुवानी व्यवसाय

न्यूनतम भाडा पनि पाएनन् ढुवानी व्यवसायीले

१५ कात्तिक, सिमरा । सामान आयातमा प्रयोग हुने भारतीय मालवाहक सवारी साधनको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायीहरु संकटमा पर्न थालेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकमै ल्याइने गरेको छ ।

कोलकाता बन्दरगाह तथा अन्य भारतीय शहरहरुबाट तयारी र कच्चा पदार्थ भारतीय ट्रकहरुले सीमासम्म मात्र नभई नेपालभर पुर्‍याउने गर्छन् । ६ महिनायता त त्यस्ता मालवाहक सवारी साधन नेपाली गन्तव्यसम्मै निर्वाध आवत-जावत गरिरहेका छन् ।

तेस्रो मुलुकबाट आयात गरिने कच्चा तथा तयारी सामान भारतीय ट्रकले नेपालभर ढुवानी गर्दै आएका छन् । तराई यातायात व्यवसायी संघका महासचिव शंकरकुमार बिष्ट भन्छन्, ‘हाम्रा साधनहरु थन्किन थालेका छन्, यसको सोझो असर बैंक तथा वित्तीय संस्थालाई पर्ने निश्चित छ ।’

उनका अनुसार नेपालका सडकमा सामान बोकेर हिँड्ने नेपाली सवारी साधनकै हाराहारीमा भारतीय नम्बर प्लेटका ट्रकहरु देखिन थालेका छन् ।

‘राज्यले बेलेमै ध्यान नपुर्‍याउने भने नेपालको ढुवानी व्यवसाय संकटमा पर्छ र यसले राज्यलाई नै क्षती पुर्‍याउँछ,’ बिष्ट भन्छन् ।

ट्राफिक प्रहरीका अनुसार भारतीय ट्रकहरुले नेपालको मापदण्डभन्दा तीन गुणा बढी सामान बोकेका हुन्छन् । भारतकै नापजोखका आधारमा भन्सार प्रक्रिया पूरा हुने भएकाले त्यस्ता ट्रकलाई नेपालभर कसैले छेक्दैन ।

नेपाली प्लेटका १४ चक्के ट्रकले २५ टन मात्र बोक्न पाउने नियम छ । भारतीय १८ चक्के ट्रकले ८० टनभन्दा बढी सामान बोकेका हुन्छन् ।

भारतीय साधनले भन्सार नाकाबाट २४ घण्टासम्म निःशुल्क ढुवानी गर्न पाउँछन् ।

मध्य क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीले भारतीय ट्रकहरु केही समययता वीरगञ्जबाट क्षमताभन्दा तीन गुणा बढी सामान बोकेर नेपाली बजारमा आउने गरेको स्वीकारे ।

‘हामीले भ्याएजति बढी भार बोकेर भारतीय ट्रकलाई जरीवाना गर्ने गरेका छौं,’ एसपी मैनालीले भने, ‘नेपालका सडक र पुलले धान्नै नसक्ने कतिपयलाई भार मिलान गरेपछि मात्र पठाउने गरेका छौं ।’

न्यूनतम भाडा पनि पाएनन् व्यवसायीले

देशभरिका उद्योगबाट उत्पादित वस्तु र कच्चा पदार्थ ओसारपसार गर्ने ढुवानी व्यवसायीहरुले सरकारले तोकेको न्यूनतम भाडा पनि पाएका छैनन् ।

पथलैया-वीरगञ्ज औद्योगिक करिडोरमा तीन सयभन्दा बढी ‘ट्रान्सपोर्ट’ सेवा सञ्चालनमा छन् । ढुवानीका वस्तु उपलब्ध गराएवापत प्रतिट्रक सात सय रुपैयाँ शुल्क लिने नियम छ । तर, ढुवानी सेवाले सोझै उद्योगका कर्मचारीसँग मिलोमतो गरी ओसारपसारको जिम्मा लिने गरेकाले मनोमानी भाडामा चित्त बुझाउनु परेको ढुवानी व्यवसायीहरुको भनाइ छ । सोही कारण आठ महिनायता राज्यले तोकेको भाडा ट्रक व्यवसायीले पाएका छैनन् ।

‘सरकारी मापदण्डअनुसार वीरगञ्जबाट काठमाडौंसम्मको भाडा २३ हजार रुपैयाँ छ । तर, बिलमा २३ हजार लेखेर भुक्तानी १७/१८ हजार रुपैयाँ मात्र दिइन्छ,’ सिमराका ट्रक व्यवसायी प्रकास लम्साल भन्छन्, ‘विचौलीयाहरुले उद्योगका कर्मचारीसँग मिलेर बिल्टि काट्छन्, लाखौं लगानी गरेर व्यवसाय सञ्चालन गरेकाहरु उनीहरुकै भर पर्नुपर्छ ।’

व्यवसाय संकटमा पर्दै गएपछि ऋण लिएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुबाट लुक्दै/भाग्दै हिँड्नु परिरहेको ट्रक व्यवसायी दिलुमाया श्रेष्ठ बताउँछिन् । भन्छिन्, ‘ट्रक बेचौं भने किन्ने मान्छे भेटिँदैन, नबेचौं घर-खेत जाने भयो । ट्रकले कमाएको पैसा चालकको तलबभत्ता र बीमामै सकिन्छ ।’

कतिपय व्यवसायीले त ट्रक नै बिक्री गरिसकेका छन् । उद्योगका कर्मचारी र विचौलियाहरु विरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था देखिन थालेको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्की बताउँछन् ।

नेपालभर करिब ६० हजार ट्रक सञ्चालनमा छन् । बाराका चार हजार ट्रक उक्त संघमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment