Comments Add Comment

रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील

विप्लव र सिके रावत प्रशासनको निगरानीमा

१५ कात्तिक, भैरहवा । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रुपन्देहीमा कायम गरिएका २०८ वटा मतदान स्थल मध्ये ११७ वटा संवेदनशील रहेका छन् ।

रुपन्देहीको जिल्ला सुरक्षा समितिले जिल्लाको २०८ मतदान स्थलमध्ये ११७ वटा मतदानस्थललाई अति संवेदनशील र संवेदनशील मतदानस्थलका रूपमा वर्गिकरण गरेको हो ।

२०८ मतदानस्थल मध्ये ७५ मतदानस्थललाई अति संवेदनशील, ४२ मतदानस्थललाई संवेदनशील र ९१ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

उनले मतदानस्थललाई विशेष गरी जिल्ला सदरमुकामदेखि पश्चिम दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रलाई अतिसंवेदनशील र संवेदनशीलमा बर्गिकरण गरिएको छ भने जिल्लाको उत्तरी क्षेत्रमा रहेका मतदानस्थललाई सामान्यमा वर्गिकरण गरिएको बताए ।

त्यस्तै उनका अनुसार बढी जनसंख्या, अधिक मतदाता भएको क्षेत्रमा रहेको मतदानस्थललाई पनि अति संवेदनशील र संवेदनशीलमा वर्गिकरण गरिएको छ । सोही अनुसार सुरक्षा व्यवस्था मिलाइने उनले बताए ।

जिल्लाको पश्चिम दक्षिणी मर्चवार, लुम्बिनी, धकधई, सालझण्डी, देवदह र उत्तरी भागको केही मतदान स्थललाई अति संवेदनशील र संवेदनशीलमा वर्गिकरण गरिएको उनले बताए ।

उनले भारतसगँको खुला सीमा रहेको कारण पनि सिमासगँ टासिएको क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलमा वर्गिकरण गरिएको बताए ।

विप्लव र सिके राउत चुनौती 

विप्लव नेतृत्वको नेकपा र स्वतन्त्र मधेस गठबन्धन (सिके राउत)ले निर्वाचन समस्या उत्पन्न गर्ने सक्ने विषयलाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले जिल्लाको ११७ वटा मतदानस्थललाई अतिसंवेदनशील र संवेदनशीलमा वर्गिकरण गरेको हो ।

जिल्लाको पश्चिमी दक्षिणी, पश्चिमी र पुर्वी क्षेत्रमा सिके राउत समुहले तथा जिल्लाको उत्तरी, उत्तरी पूर्व, उत्तरी पश्चिमी क्षेत्रको मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाले समस्या उत्पन्न गर्न सक्ने रुपन्देही प्रशासनले अनुमान गरेको छ ।

यी समूहरुको गतिविधिबारे आफूहरु सजक रहेको बताउँदै यी समूहहरुको उपस्थित रहेको क्षेत्रको मतदानस्थलमा उच्च सुरक्षा अपनाइने सहायक प्रजिअ रेग्मीले बताए ।

१० हजार सुरक्षाकर्मी परिचालन हुने

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा करीब १० हजार सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।

सुरक्षाकर्मीले प्रत्येक मतदानस्थललाई तीन घेरमा सुरक्षा दिनेछन् । जसमा पहिलो घेरामा अर्थात मतदानस्थलमा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना सुरक्षाका लागि खटिने उनले बताए ।

उनका अनुसार निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी करीब दुई हजार तीन सय, नेपाल प्रहरी एक हजार दुई सय, सस्शत्र प्रहरी एक हजार र नेपाली सेना करीब पाँच हजार खटिने छन् ।

यो सँगसँगै राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीद्वारा पनि आवश्यकता अनुसार जिल्लाको प्रत्येक मतदान स्थलमा गोप्य रुपमा खटिनेछ ।

सिमानामा संयुक्त गस्ती

त्यस्तै नेपाल भारतको खुल्ला सीमालाई मध्येनजर गर्दै सिमानामा नेपाल भारतको सुरक्षाकर्मीको संयुक्त सुरक्षा गस्ती हुने उनले बताए ।

उनले भारतमा पनि चुनाव हुन लागेको र केही दिन भित्र दुबै देशका अधिकारीबीचको छलफलले नाकाको सुरक्षाको विषयमा थप विभिन्न निर्णय हुने बताए ।

उनले सीमामा संयुक्त सुरक्षा गस्ती हुनुका साथै जिल्लाको विभिन्न क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पैदल गस्ती समेत हुने बताए ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०८ वटा मतदानस्थल, ५९८ वटा मतदान केन्द्र रहेका छन् भने ५ लाख २२ हजार ६०२ मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment