Comments Add Comment

प्रेस रिभ्यूः किन आए भारतीय सुटर नेपालमा ?

टिकट माग्न भारतीय गाढी चढेर बालुवाटारमा !

१६ कात्तिक, काठमाडौं । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभामा दलहरुको उम्मेदवार टुंगो लागेको र आज मनोनयन दर्ता हुने समाचारलाई सबै दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । प्रदेशसभा खर्चिलो हुने विषयलाई पनि आजका पत्रपत्रिकाहरुले समेटेका छन् । यसका आलावा कांग्रेस–राजपा तालमेल असफल भएको, भारतीय सुटर काठमाडौंबाट पक्राउ परेको, काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सर्वोच्चले आदेश दिएकोलगायतका समाचारले पनि पत्रिकामा स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले निर्वाचनपछि बन्ने दुई तहको संसद्को प्रशासनिक खर्च सवा चार अर्ब हुने लेखेको छ । संघीय संसद् र सचिवालयको अनुमानित नियमित चालू खर्च एक अर्ब ७० करोड तथा प्रदेशसभा संसद् र सचिवालयको खर्च २ अर्ब ५५ करोड हुने पत्रिकामा उल्लेख छ ।

सांसद्को तलब १ लाख १० हजार

प्रदेशसभाका लागि १ जना सांसद्को तलबका लागि मात्रै राज्यकोषबाट मासिक १ लाख १० हजार रुपैयाँ खर्च हुनेछ । संविधानअनुसार प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ गरी संघीय संसद्मा ३ सय ३४ र प्रदेशसभामा ५ सय ५० सांसद् हुन्छन् । यो आँकडालाई केलाएर दुई संसदमा हुने खर्च निकालिएको हो ।

नयाँ पत्रिकामै वाम लोकतान्त्रिक दुवै गठबन्धनले उम्मेदवार टुंगो लगाएको समाचार छ । सकसपूर्ण तरिकाले दुई गठबन्धनले मनोनयनको एक दिनअघि उम्मेदवार टुंगो लगाएका हुन् ।
एमालेले जिल्ला पठायो खाली मनोनयन पत्र

एमालेले समयमै उम्मेदवार टुंगो लगाउन नसकेपछि अधिकांश खाली मनोनयनपत्र जिल्ला पठाइएको छ । त्यसमा अध्यक्षले हस्ताक्षर गरेका छन् । तर, उम्मेदवारको नाम राखिएको छैन । नयाँ पत्रिकाका अनुसार, एमाले प्रदेश प्रमुखमार्फत् जिल्ला इञ्चार्ज र जिल्ला अध्यक्षहरुलाई ओलीले हस्ताक्षर गरेको खाली मनोनयन पत्र पठाएका हुन् ।

टिकट माग्न भारतीय नम्बरको गाडी लिएर बालुवाटारमा


यसैगरी कांग्रेसमा टिकटका दाबेदारहरु भारतीय गाडी नम्बर प्लेटका गाडी चढेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ पत्रिका लेख्छ–कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटको गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए ।

नागरिक दैनिकले दलहरुले उम्मेदवार टुंग्याएको समाचार प्राथमिकताका साथ छापेको छ । नागरिकका अनुसार, कांग्रेसले ७४, एमालेले अधिकांश, माओवादी केन्द्रले ४२ र एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको समाचार छ । सँगै भारतीय सुटर काठमाडौंबाट पक्राउ परेको समाचारले पनि नागरिकमा ठाउँ पाएको छ । कमलादीबाट भारत पञ्जावका जस्वीर सिंह र सरदेवेन्द्र सिंह पक्राउ परेका हु्न र उनीहरुको साथबाट भारतीय रक्षा मन्त्रालयअन्तर्गतको कारखानामा उत्पादित अत्याधुनिक पेस्तोल, ४ वटा म्यागाजिन र ५१ राउन्ड गोली बरामद भएको समाचारमा उल्लेख छ । दुवैजना व्यवसायिक सुटर भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

किन आए भारतीय सुटर नेपालमा ?
राजधानी दैनिकले भारतीय सार्प सुटर पक्राउबारे लेखेको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार स्थलमार्गबाट भारतीय नाका हुँदै भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएको बताए । उच्च स्रोतले उनीहरु ठूलै घटना घटाउन काठमाडौं छिरेको आशंका गरेको छ । ३ साताअघि काठमाडौंमै भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि भारतीय सुटरको प्रयोग गरिँदै आएको आशंका हुँदै आएको छ । यसले राजधानीको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
नागरिकमै नेपाल आयल निगमको इन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियारले स्थलगत अनुसन्धान सुरु गरेको समाचार छ ।

‘दोस्रो चरण निर्वाचनः मनोनयन आज’ शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्र नर्कजस्तै बनेको समाचार लेखेको छ । समाचारमा भनिएको छ–फोहोरको दुर्गन्धमा एक दशकभन्दा बढी समय गुजारिसकेका स्थानीयहरु बिरामी पर्न थालेका छन् । फोहोर ढुवानी गर्ने टिपरको धुलोले मर्कामा परेको र झिँगाले समेत सताएपछि स्थानीय आजित बनेका छन् ।

मतदाता शिक्षा बेकार

अन्नपूर्णले भित्री पृष्ठमा लाखौंका मतदाता शिक्षा बेकारलाई भित्री पृष्ठमा छापेको छ । दुईवटा मतपत्र छाप्ने निर्णयसँगै छापिएका मतदाता शिक्षा सामग्री बेकार बन्न पुगेका हुन् । ‘छापिएका मतदाता शिक्षा सामग्री र नमूना मतपत्र काम नलाग्ने भयो’, आयुक्त नरेन्द्र दाहालले भने । उनका अनुसार, नयाँ सामग्री छाप्न र तालिमसमेत दिनका लागि अब थप बजेट खर्च गर्नुपर्ने भएको छ ।

राजधानी दैनिकमा कांग्रेस–राजपा तालमेल असफल’ शीर्षकको समाचार छ । राष्ट्रिय जनता पार्टी र कांग्रेसका बीचमा निर्वाचन क्षेत्रको विषयमा कुरा नमिलेपछि यो गठबन्धन अन्योलमा परेको हो । कांग्रेससँगको वार्ता असफल भएपछि अब प्रदेशमा आवश्यकता अनुसार तालमेल गर्ने राजपा नेताले बताए ।

कान्तिपुर दैनिकले काठमाडौं नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज नगर्न सर्वोच्चले आदेश दिएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । सरकारी निकायको अनुमति बिना फर्जी निरीक्षण प्रतिवेदनका आधारमा काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका नवनियुक्त न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कात्तिक ८ गते त्यस्तो आदेश दिएको हो । कलेजका सञ्चालक जैनुद्धिन अन्सारीले दायर गरेको रिट निदवेदनमाथि जारी अन्तरिम आदेश झन्डै १ सातासम्म गोप्य राखिएको थियो । आदेशमा त्रिवि कार्यकारी परिषद्को गत भदौ १७ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको छ ।

कान्तिपुरकाे अर्थ पृष्ठमा स्थानीय तहकाे  विकास बजेट अब फ्रिज नहुने समाचार पनि छ । स्थानीय तहलार्इ केन्द्र सरकारबाट जाने बजेट वर्ष दिनभित्र खर्च नभए गाउँपालिका तथा नगरपालिकाकाे सञ्चित काेषमा स्वतः रकमान्तर हुनेछ ।

हेर्नुस् पत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment