Comments Add Comment

वीरगञ्ज बाइपास सडक सधैं जीर्णः देशको प्रमुख नाका प्रवेश मार्गप्रति राज्यको बेवास्ता

डिभिजन सडक र महानगरबीच स्वामित्व विवाद


१६ कात्तिक, वीरगञ्ज । वैदेशिक व्यापारका लागि मुलुकको प्रमुख नाका हो, वीरगञ्ज । तर, त्यही नाका प्रवेश गर्ने सडक वर्षौंदेखि जीर्ण छ । मर्मतमा कुनै निकायले चासो दिएको पाइँदैन ।

वीरगञ्ज बाइपासको प्रतिमाचोकदेखि रजतजयन्ती चोक हुँदै मितेरीपुल जोड्ने सडक अत्यधिक व्यस्त पनि रहने गर्छ । ठूला भारवाहक सवारी साधन चौबीसै घण्टा गुड्छन्, यात्रुको चाप पनि उत्तिकै रहन्छ ।

उक्त खण्डमा दैनिक करिब १५ सय मालवाहक साधन गुड्छन् । त्यसभन्दा बढी हुन्छ, निजी र सार्वजनिक सवारी साधनको संख्या । रिक्सा, ठेला, गाडा, टेम्पोलगायत सवारी साधनको चाप पनि अत्यधिक रहन्छ ।

तर, त्यही सडक वर्षामा हिलो र हिउँदमा धुलो–धुँवाका कारण हिँडिनसक्नु हुन्छ । वीरगञ्ज बाइपासमा सवारी साधन चलाउनु निकै जोखिमपूर्ण हुने बस चालक सरोज कोइराला बताउँछन् । भन्छन्, ‘बाटो खत्तम छ, कसैले ग्राभेल पनि बिछ्याउँदैन ।’

पानीट्यांकीका सुरज बेल्दार महानगर बनिसकेको वीरगञ्जका लागि उक्त सडक लाजमर्दो रहेको बताउँछन् । ‘सडक डिभिजन हेटौंडा र वीरगञ्ज महानगरपालिकाको उदासिनताका कारण मर्मत नभएको हो,’ उनी भन्छन् ।

देशकै मुख्य नाकाको सडक दुरावस्थामा रहनु दुःखद भएको वीरगञ्ज भन्सार प्रमुख सेवन्तक पोखरेल बताउँछन् । ‘सडक जीर्ण छ, सधैं जाम हुन्छ, गाडी बिग्रेर त्यत्तिकै हैरानी हुन्छ । त्यसको असर सबैतिर परिरहेको छ,’ उनी भन्छन्, ‘यसको मर्मत सम्भारका लागि राज्यका निकायहरुको ध्यान पुग्न नसक्नु दुःखद हो ।’

उद्योगी÷व्यवसायीहरुको गुनासो पनि त्यस्तै छ । राज्यलाई सबैभन्दा बढी राजश्व संकलन गरिदिने नाकाको प्रवेश मार्गमाथि भइरहेको उपेक्षा दुर्भाग्यपूर्ण रहेको उनीहरु बताउँछन् ।

सोही सडकखण्डका कारण भारततर्फबाट कार्गोहरु आउन नमान्ने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता बताउँछन् । ‘भारततर्फ रक्सौलदेखि मोतिहारीसम्मको सडकको अवस्था पनि उस्तै छ,’ उनी भन्छन्, ‘यता आउनुभन्दा कार्गोहरु विराटनगर र भैरहवा जान रुचाउँछन् ।’

मुलुकको ७० प्रतिशत व्यापार वीरगञ्ज नाकाले नै धान्ने गरेको छ ।

कहिले होला मर्मत ?

२०५४ सालमा सडक डिभिजनले मर्मत गरेको थियो, उक्त खण्ड । अहिले भने यो कसको जिम्मामा छ भन्ने विवाद छ ।

सडक डिभिजनले महानगर र महानगरले सडक डिभिजनतर्फ औंल्याउने गरेका छन् । दुवै निकाय मर्मतका लागि भने तयार देखिँदैनन् ।

गत साउनमा यातायात व्यवसायी र कर्मचारी आन्दोलित भएपछि महानगरपालिकाले ग्राभेल बिछ्यायो । तर, त्यो टिकाउ भएन ।

डिभिजन सडक, हेटौंडाका प्रमुख कमलेशकुमार कर्ण उक्त खण्डको निर्माण र मर्मतको जिम्मा महानगरको भएको बताउँछन् । भन्छन्, ‘स्वामित्व नगरपालिकासँग छ, हामीले के गर्ने ?’

सडक डिभिजनका सूचना अधिकारी जयराम अधिकारी भने तत्कालका लागि ग्रेडर लगाएर मर्मत थाल्ने सहमति महानगरसँग भएको बताउँछन् । भन्छन्, ‘कालोपत्रेका लागि माथिल्लो निकायसँग रकम माग गर्ने कुरा छ, भन्सारले पनि अर्थ मन्त्रालयमा चिठी पठाएर सहयोग गर्छ भन्ने आशा छ ।’

एकैनासको सडक बनाउन आग्रह

त्रिभुवन राजपथको घण्टाघर चोकदेखि पावरहाउस चोकसम्मको सडक चार लेन छ । पावरहाउस चोकदेखि गण्डकसम्म दुई लेन मात्रै छ ।

महानगरपालिकाले दुवै खण्डलाई एकैनासको बनाउन आग्रह गर्दै आएको छ । गण्डकदेखि परवानीपुरसम्मको खण्ड भने चार लेनको बन्ने प्रक्रियामा गइसकेको छ ।

वीरगञ्जको बृहत्तर विकासका लागि सडकमा एकरुपता आवश्यक भएको महानगरको भनाइ छ । गण्डक–बसपार्क–भन्सार र पावरहाउसचोक–भन्सार खण्डलाई चार लेनको बनाउन महानगरको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment