Comments Add Comment

बाँचुञ्जेल टिकट पाउने २२ भाइ, जसलाई सिंहदरबार पानीपँधेरो !

जतिचोटि चुनाव आउँछ, त्यतिचोटि टिकटको उपहार

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै चरणको चुनावमा प्रतिस्पर्धा गरिरहेका केही उम्मेदवार यस्ता छन्, जसले ०४८ यता छैठौंपटक संसदीय प्रतिस्पर्धा गरिरहेका छन् । कोही त ०३८ सालदेखि चुनाव लडिरहेका वयोवृद्धसमेत चुनावी मैदानमा उत्रिएका छन् ।

कांगेस, एमाले र राजपाका अधिकांश शीर्षनेताहरु छैठौंपटक प्रतिस्पर्धामा लगातार उत्रिएका छन् । यिनीहरु यस्ता भाग्यमानी नेता हुन्, देशमा जतिपटक निर्वाचन हुन्छ, त्यति नै पटक उनीहरुको हातैमा टिकट पर्छ ।

यसरी निरन्तर टिकट पाउनेमध्ये केही नेताहरु पाँच पटकसम्म अपराजित रहेर छैठौं पटक प्रतिस्पर्धामा छन् भने केहीले बीचमा पराजय पनि भोगेका छन् ।

आखिर कोको हुन् न नेपालका ती भाग्यमानी नेताहरु ? हेर्नुहोस् अनलाइनखबरको एक रिपोर्टः

प्रदेश नम्बर १ का चार भाइ

प्रदेश नम्बर एकबाट कांग्रेस र एमालेका शीर्षतहका केही नेता छैठौंपटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये कांग्रेसका बिजयकुमार गच्छदारको अपराजित यात्रा हो भने अरुले एक-एक पटक पराजयको स्वाद चाखिसकेका छन् ।

झलनाथ खनालः एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छैठौं पटक इलाम १ बाट प्रतिस्पर्धा गर्दैछन् । ०४८, ०५१, ०६४ र ०७० मा गरी चारपटक सोही क्षेत्रबाट निर्वाचित भएका खनाल ०५६ मा भने कांग्रेसका बेनुप प्रसाईसँग ७० मतको अन्तरमा पराजित भएका थिए ।

केपी शर्मा ओलीः एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ बाट छैठौं पटक प्रतिस्पर्धामा छन् । उनले ०६४ सालको संविधानसभा निर्वाचन बाहेक सबै चुनाव सोही क्षेत्रबाट जितेका छन् । यसपटक ओलीको प्रतिस्पर्धामा कांग्रेसलेडा. खगेन्द्र अधिकारीलाई अघि सारेको छ । त्रिचन्द्र क्याम्पसका प्राध्यापक अधिकारी राजिनामा दिएर चुनाव लड्न गएका हुन् ।

बिजयकुमार गच्छदारः कांग्रेसबाट ०४८, ०५१ र ०५६ गरी तीनपटक सुनसरी ३ बाट सांसद जितेका बिजय गच्छदार ०६४ मा फोरमबाट सोही क्षेत्रसहित मोरङबाट समेत चुनाव जितेका नेता हुन् । ०७० मा उनले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ मै चुनाव जिते । यो उनको छैठौं प्रतिस्पर्धा हो ।

बलबहादुर केसीः नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट छैठौं पटक सांसद पदको प्रतिस्पर्धामा छन् । उनी ०६४ मा माओवादीका गोपाल किरातीबाट पराजित भएका थिए । त्यो बाहेक अरु सबै चुनाव उनले जित्दै आएका छन् ।

प्रदेश नम्बर २ मा पाँच भाइ

दुई नम्बर प्रदेशबाट छैठौं पटक संसदीय चुनावको प्रतिस्पर्धा गर्नेमा अधिकांश राजपाका शीर्षनेता छन् । उनीहरुको निर्वाचन क्षेत्र भने हेरफेर भएको छ ।

महन्थ ठाकुरः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर कांग्रेसमा हुञ्जेल ३ पटक लगातार सांसद जितेका थिए । तमलोपा गठन गरेपछि दुवै चुनाव सर्लाही ६ बाट पराजित भएका ठाकुर यसपटक पनि महोत्तरी ३ बाट प्रतिस्पर्धा गर्दैछन् ।

शरदसिंह भण्डारीः राजपा अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीको बहुदलीय व्यवस्थामा छैठौं चुनावी प्रतिस्पर्धा हो । उनी पञ्चायतकालमा पनि चुनाव जितेका थिए । ०४८ मा महोत्तरी ३ बाट कांग्रेसका बसन्त गुरुङसँग राप्रपा उम्मेदवारका रुपमा पराजित भएका भण्डारी ०५१ मा स्वतन्त्र उम्मेदवार बनेर गुरुङलाई पराजित गरे ।
०५६ मा कांग्रेस उम्मेदवार बनेर बिजयी भएका भण्डारी ०६४ मा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भए । ०७० मा मधेस समाजवादी पार्टीको तर्फबाट उनी पराजित भए । यसपटक उनी क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्दैछन् ।

राजेन्द्र महतोः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको पनि यो छैठौं प्रतिस्पर्धा हो । ०४८ र ०५१ मा सर्लाही २ बाट नेपाल सद्भावना पार्टीका तर्फबाट पराजित भएका महतो ०५६ मा सोही क्षेत्रबाट बिजयी भएका थिए । ०६४ मा उनी अर्को क्षेत्रमा गएर बिजयी भए भने ०७० मा हाल राजपामै रहेका महिन्द्र राय यादवसँग पराजित भए । यसपटक उनी छैठौं पटक धनुषा ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

रामचन्द्र झाः माओवादी केन्द्रबाट धनुषा २ बाट प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र झाको यो छैठौं चुनावी भिडन्त हो । ०४८ मा धनुषा २ मा कांग्रेसकी लीला कोइरालासँग पराजित झाले ०५१ बिजय हासिल गरे । ०५६ मा पुनः कांग्रेसका स्मृतिनारायण चौधरीसँग पराजित झा ०६४ मा एमालेबाटै धनुषा १ बाट बिजयी भए । ०७० मा माओवादीबाट पराजित भएका झा यसबीचमा नयाँ शक्ति हुँदै पुनः माओवादीबाट उम्मेदवार बनेका छन् ।

रमेश रिजालः कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालको पनि पर्सा ४ मा यो छैठौं प्रतिस्पर्धा हो । ०४८ र ०५१ मा सोही क्षेत्रबाट जितेका रिजाल ०५६ मा एमालेकी उर्मिला अर्यालसँग पराजित भएका थिए । ०६४ मा पुनः अर्याललाई हराएर सभासद बनेका रिजाल ०७० मा एमालेकै जयप्रकाश थारुसँग पराजित भएका थिए । यसपटक उनको प्रतिस्पर्धा पुनः .उर्मिला अर्यालसँग.हुँदैछ ।

प्रदेश नम्बर ३ का चार भाइ

पशुपतिशमसेर जबराः राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबराको बहुदलीय व्यवस्थाको यो छैठौं र सम्भवतः अन्तिम चुनावी प्रतिस्पर्धा हेा । पञ्चायतकालमा ०३८ देखि लगातार चुनाव जितेका राणा बहुदलीय व्यवस्थामा पनि ०४८, ०५१ र ०५६ मा सिन्धुपाल्चोक-३ बाट सांसद बने । ०६४ मा माओवादीका दावा लामा र ०७० मा एमालेका शेरवहादुर तामाङसँग पराजित राणा यसपटक पुनः एमालेका शेरबहादुरसँगै प्रतिस्पर्धामा छन् ।

रामशरण महतः नेपाली कांग्रेसका नेता रामशरण महतले नुवाकोट साबिक २ नम्बर क्षेत्रबाट ०५१ देखि लगातार पाँचवटै चुनाव जिते । ०४८ सालमा क्षेत्र नम्बर १ बाट राप्रपाका प्रकाशचन्द्र लोहनीसँग पराजित भएका महत छैठौं पटक यसपालि क्षेत्र नम्बर १ बाटै माओवादीका हितबहादुर तामाङसँग प्रतिस्पर्धामा छन् ।

अर्जुननरसिंह केसीः कांग्रेस नेता अर्जुननरसिंह केसीका लागि पनि यो छैठौं प्रतिस्पर्धा हो । ०४८ र ०५१ मा नुवाकोट ३ बाट निर्वाचित केसी ०५६ र ०६४ मा पराजित भए । ०७० मा नुवाकोट १ बाट निर्वाचित भएका केसी यसपटक क्षेत्र नम्बर २ बाट एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धामा छन् ।

राजेन्द्रप्रसाद पाण्डेः एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र प्रसाद पाण्डेको बहुदलीय व्यवस्थामा यो छैठौं प्रतिस्पर्धा हो । ०४८, ०५१ र ०५६ मा तीनपटक धादिङ ३ बाट निर्वाचित भएका पाण्डे ०६४ मा माओवादीका शालिकराम जमरकट्टेलसँग पराजित भए । ०७० मा पुनः शालिकरामलाई पराजित गरेका पाण्डे यसपटक प्रदेशसभाको उम्मेदवार बनेका छन् ।

उनी पञ्चायतकालमा पनि एकपटक राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवार बनेका थिए ।

प्रदेश ४ का तीन भाइ

रामचन्द्र पौडेलः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा छैठौं पटक चुनाव लड्दैछन् । ०४८ मा तनहुँ १ बाट निर्वाचित पौडेल त्यसयताका सबै चुनावमा तनहुँ २ बाट लगातार निर्वाचित भएका थिए । यसपटक उनी क्षेत्र हेरफेरपछि पुनः क्षेत्र नम्बर १ बाट एमालेका किसानकुमार श्रेष्ठसँग भिड्दैछन् ।

पृथ्वीसुब्बा गुरुङः नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ पनि राजेन्द्र पाण्डेजस्तै निरन्तरका प्रतिस्पर्धी हुन् । बहुदलीय व्यवस्था स्थापनायताका हरेक चुनाव लमजुङ २ बाट चुनाव लडेका गुरुङले ०६४ मा मात्रै जित निकाले ।

अरु सबै चुनावमा पराजित गुरुङ यसपटक भने प्रदेशसभा उम्मेदवार बनेका छन् ।

हृदयेश त्रिपाठीः नेपाल सद्भावना पार्टीबाट तीनपटक र तराई मधेस लोकतान्त्रिक पार्टीबाट एक पटक गरी नवलपरासीबाट लगातार चार पटक जितेका हृदयेश ०७० मा कांग्रेसका देवनारायण कलवारसँग पराजित भएका थिए ।

यसपटक उनी नेकपा एमालेको तर्फबाट नवलपरासी १ बाट उम्मेदवार बनेका छन् ।

प्रदेश ५ का चार भाइ

बामदेव गौतमः एमाले उपाध्यक्ष बामदेव गौतम बहुदलीय व्यवस्था स्थापनयताका सबै चुनाव बर्दिया १ बाट लडे । उनले ०४८ र ०५१ मा जिते भने ०५६ मा मालेबाट पराजित भए । ०६४ मा पुनः पराजय भोगेका गौतम ०७० मा बर्दिया १ का साथै प्युठान १ बाट पनि बिजयी भए ।
यसपटक गौतम पुनः आफ्नौ पूरानै क्षेत्र बर्दिया १ मा फर्किएका छन् ।

दीपक बोहोराः राप्रपा नेता दीपक बोहोरा पञ्चायतकालपछि बहुदलीय व्यवस्थामा पनि लगातार सबै चुनाव रुपन्देहीबाट लडिरहेका छन् । तर, उनले ०४८ पछि लगाातार ४ वटा चुनाव हारेर पाँचाैं पटक रुपन्देही २ बाट जित निकालेका थिए । यसपटक उनी छैठौं प्रतिस्पर्धामा छन् रुपन्देही ३ बाट । उनको प्रतिस्पर्धा एमाले उपमहासचिव एवं वैचारिक नेता घनश्याम भुसालसँग हुँदैछ ।

सर्बेन्द्रनाथ शुक्लः राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लको पनि यो छैठौं प्रतिस्पर्धा हो । ०४८ मा राप्रपाबाट पराजित भएका शुक्ल ०५१ मा निर्वाचित भए । ०५६ सद्भावनाका यज्ञजित शाहसँग पराजित भएका शुक्ल ०६४ र ०७० मा तमलोपाबाट निर्वाचित भए । यसपटक उनी राजपाबाट छैठौं पटक प्रतिस्पर्धामा छन् ।

दीपकुमार उपाध्यायः छैठौं पटक कपिलबस्तुबाट चुनावी प्रतिस्पर्धा गर्न भारतका लागि नेपाली राजदूतबाट राजिनामा दिएर फर्किएका दीपकुमार उपाध्यायले..यसपटक कपिलवस्तु १ मा माओवादी नेता बलदेव खनालको सामना गर्दैछन् ।

विसं. ०४८ र ०५१ मा कपिलवस्तु २ बाट निर्वाचित कांग्रेस नेता उपाध्याय ०५६ मा राप्रपाका वृजेशकुमार गुप्तासँग पराजित भएका थिए । ०६४ मा पुनः कपिलवस्तु १ बाट निर्वाचित उपाध्याय ०७० मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

प्रदेश नम्बर ७ का एक्ला शेरबहादुर

लगातार टिकट पाउने र जित्ने नेताहरु प्रदेश नम्बर ५ मा खासै देखिएका छैनन् । कांग्रेस नेता पूर्णबहादुर खड्का धेरै पटक चुनाव लडे पनि निरन्तरता नपाएका नेता हुन् ।

प्रदेश नम्बर ७ मा भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा गृहजिल्ला डडेलधुरामा छैठौं पटक अपराजित यात्रा कायम राख्दै चुनावी प्रतिस्पर्धामा छन् । यसपटक पनि उनले ०६४ र ०७० का परिचित प्रतिद्वन्द्वी माओवादी नेता खगराज भट्टको सामना गर्नेछन् ।

जो बहुदलपछि लगातार सातौं चुनाव लड्दैछन्

बहुदलीय व्यवस्था स्थापनापछि नेपालमा दुईवटा संविधानसभा चुनाव सहित पाँचवटा आम चुनाव भए । मंसिरमा हुने चुनाव छैठौं हो । तर, यसपटक कांग्रेस र एमालेका दुईजना यस्ता नेता छन्, जो यही अवधिमा ६ पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् र अहिले साताैं पटक प्रतिस्पर्धामा छन् ।

कृष्णप्रसाद सिटौला,नेपाली कांग्रेस

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापाबाट सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् । हुनत ०४८ पछि ६ वटा चुनाव भए । तर, उपचुनावसमेत लडेका कारण सिटौलाको यो सातौं प्रतिस्पर्धा हो ।

०४८ मा झापा १ मा एमालेका द्रोणाचार्य क्षेत्रीसँग ५ हजार मतले पराजित भएका थिए सिटौला । तर क्षेत्रीको बीचमै निधन भएका कारण पुनः भएको उपचुनावमा सिटौलाले एमालेका लीला उदासीलाई पराजित गरे ।

०५१ मा एमालेकै पुष्प पोखरेलसँग दोस्रो पटक पराजय भोगेका सिटौला ०५६ मा एमालेकै नारायण राजवंशीलाई पराजित गरेर फेरि सांसद बने । ०६४ मा माओवादीका पूर्ण राजवंशीसँग पराजित भएका सिटौलाले ०७० मा राप्रपाका राजेन्द्र लिङदेनलाई पराजित गरे ।

यसपटक सिटौलाको प्रतिस्पर्धा पुनः राजेन्द्र लिङदेनसँगै हुँदैछ । लिङदेनलाई वामपन्थी गठबन्धनको साथ छ ।

कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले

०४८ सालमा काठमाडौं १ र ५ मा महासचिव मदन भण्डारीले चुनाव जितेपछि कृष्ण गोपाल श्रेष्ठ उपचुनावमा काठमाडौं ५ बाट निर्वाचित भए । त्यसपछि ०५१ मा पुनः निर्वाचित भएका श्रेष्ठ ०५६, ०६४ र ०७० का तीनओटै निर्वाचनमा काठमाडौं ९ बाट पराजित भए ।

श्रेष्ठले ०७० पछि माधव नेपालले छाडेर रिक्त रहेको काठमाडौं २ बाट पुनः उपचुनाव लडे । तर, उनी कांग्रेसका दीपक कुइँकेलसँग पराजित भए । यसपटक श्रेष्ठ पुनः काठमाडौं ९ बाट चिर परिचित प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितसँग चुनाव लड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment