Comments Add Comment

बागी उम्मेदवारको बिगबिगी, शीर्ष नेताहरु नै समस्यामा

१६ कात्तिक,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको लागि दोस्रो चरणको उम्मेदवारी मनोनयनका क्रममा प्रमुख दलले धेरै ठाउँमा बागी उम्मेदारको सामना गर्नु परेको छ । टिकट वितरणमा असन्तुष्ट भएका बिभिन्न दलका माथिल्लो तहका नेतादेखि कार्यकर्तासम्मले स्वतन्त्र उम्मेदवारी दिएपछि दलहरुलाई समस्या भएको छ ।

कतिपय ठाउँमा चुनावका बेला भर्खरै पार्टी प्रवेश गरेकाहरुले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन् भने कतिपय पूराना र प्रभावशाली नेता समेत विद्रोही बनेका छन् । पहिलो चरणमा भन्दा दोस्रो चरणमा बागी विद्रोहीको संख्या पनि बढी देखिएको छ ।

मनोनयन सकिँदासम्म शीर्ष नेताहरुमध्ये कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध बागी उम्मेदवारी परेको छ ।

त्यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मडण्लका सदस्य अनिल झा र माओवादी नेता हरिबोल गजुरेलविरुद्ध गठबन्धनबाटै बागी उम्मेदवार भएका छन् ।

कांग्रेसका बागी

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ बाट बरिष्ठ नेता रामचन्द्र पौडेलको बागी उम्मेदवार भएका छन् । उनको उम्मेदवारीले पौडेललाई अफ्ठ्यारो पारेको छ ।

त्यस्तै कास्की २ को ख मा पनि कांग्रेस नेता नरेशशंकर पालिखेले आधिकारिक उम्मेदार बिन्दुकुमार थापाविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उता रुपन्देही ३ को क मा पनि कांग्रेसका ओमकुमार श्रेष्ठले आधिकारिक उम्मेदवार देवीराम चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दैलेखमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका राप्रपा उम्मेदवार दिपक शाहीविरुद्ध कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशवहादुर खड्का बागी उम्मेदवार बनेका छन् । त्यस्तै कांग्रेस युवा नेता नरसिंह मल्ल प्रदेशसभाको बागी उम्मेदवार बनेका छन् ।

यस्तै कैलाली-५ मा प्रधानमन्त्री पत्नी डा. अारजु राणा देउवाबिरूद्ध नेपाल बिद्यार्थी संघका नेता क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनका कम छैनन् बागी

वाम गठबन्धनमा एमालेका बरिष्ठ नेता माधवकुृमार नेपालले नै बागीको सामना गर्नु परेको छ । काठमाडौं २ मा एमाले कार्यकर्ता एलपी श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । एक महिनाअघिमात्र एमाले प्रवेश गरेकी गायिका कोमल वलीले दाङ ३ मा आधिकारिक उम्मेदवार हिराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

वामपन्थी गठबन्धन विरुद्ध सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिटमा माओवादी नेताहरुले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा माओवादी नेता टेकवहादुर बस्नेतविरुद्ध पार्टी पोलिटव्यूरो सदस्य तथा पूर्वसभासद उमाकान्त शर्मा उठेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क मा एमालेका गुलाबजंग शाहविरुद्ध माओवादी जिल्ला संयोजक भीमप्रकाश शर्मा र ख मा एमालेका प्रकाश ज्वालाविरुद्ध जितवहादुर पुनले उम्मेदवारी दिएका छन् ।

सिन्धुलीमा माओवादी नेता हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडीविरुद्ध उसकै पार्टीका कुमारबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।

सिन्धुली १ को क मा माओवादी उम्मेदवार लेखनाथ दाहालविरुद्ध माओवादीकै जिल्ला उपाध्यक्ष दिलवहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

उता बारामा वामपन्थी गठबन्धनबाट क्षेत्र नम्बर ३ को क मा ज्वालाकुमारी साहविरुद्ध एमालेका भरत खड्का उम्मेदवार बनेका छन् । रुपन्देही ५ को क मा एमालेका भुमिश्वर ढकालविरुद्ध सोही पार्टीका मिनप्रसाद घिमिरेले बागी उम्मेदवारी दिएका छन् ।

मधेसकेन्द्रित गठबन्धनका बागी

राजपा फोरमको गठबन्धनका प्रमुख तीन शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । महन्थ ठाकुरविरुद्ध सोही पार्टीका चन्द्रेश्वर झा महोत्तरी ३ मा बागी उम्मेदवार बनेका छन् । पूर्वसांसद झा केही समयअघिमात्र राजपा प्रवेश गरेका थिए ।

त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाविरुद्ध रौतहट १ मा पूर्व सभासद बबन सिंह बागी उम्मेदवार बनेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सप्तरी २ मा राजपा सहमहामन्त्री जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment