Comments Add Comment

इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले

१७ कात्तिक, इलाम । दुई निर्वाचन क्षेत्र रहेको इलाममा १० वटा दलका १८ जनाले प्रतिनिधि सभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि ३३ उम्मेदवार मैदानमा खडा भएका छन् । इलाममा प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । खनाल १ र नेम्वाङ २ नम्बर क्षेत्रको उम्मेदवार बनेका हुन् । खनालविरुद्ध कांग्रेसबाट भुपेन्द्र कट्टेलले प्रतिष्पर्धा गर्ने छन् भने नेम्वाङले केशव थापाको सामान गर्ने छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाममा प्रदेश सभातर्फ मात्रै उम्मेदवारी दिएको छ । संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल अर्गनाइजेशन नेपालले इलामका दुई प्रतिनिधि सभा र ४ वटै प्रदेशमा उम्मेदवार बनाएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, ग्रीन पार्टी नेपालसँगै केही स्वतन्त्र उम्मेदवारी इलाममा परेको छ ।

लेप्चाको प्रतिनिधित्व नहुने

इलाममा मात्र बसोबास गर्दै आएका लोपोन्मुख लेप्चा जातिको प्रतिनिधित्व गराउन ठूला दल उदासीन देखिएका छन् । इलाममा ५ हजारको हाराहारीमा लेप्चा समूदाय भए पनि कुनै पनि ठूला दलले उम्मेदवार बनाएका छैनन् । यद्यपि, नयाँ शक्तिले मानवीर लेप्चालाई इलाम–१ को उम्मेदवार बनाएको छ ।

अघिल्लो संविधानसभाको निर्वाचनमा लेप्चा जातिबाट नेपाली कांग्रेसका तर्फबाट टीका लेप्चा र एमालेबाट शकुन्तला लेप्चाले प्रतिनिधित्व गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment