+
+
अन्तर्वार्ता :

गोविन्दराजमाथि कारवाही हुन्छः रामचन्द्र पौडेल

'रकमी कुरा गरेर काम छैन, मलाई जित्न अफ्ठ्यारो पर्दैन'

अमृत सुवेदी अमृत सुवेदी
२०७४ कात्तिक १७ गते १८:५४

१७ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवारी दिने गोविन्दराज जोशीलाई पार्टीले कारवाही गर्ने बताएका छन् । जोशीको उम्मेदवारीलाई ‘कुण्ठा’को’ संज्ञा दिँदै पौडेलले यसबाट आफ्नो जितलाई केही पनि असर नगर्ने बताए ।

‘पार्टीमा यस्ता सानातिना घटना घटिरहन्छन्, सबैको चित्त बुझाउन सकिँदैन,’ कांग्रेस नेता पौडेलले अनलाइनखबरसँग भने, ‘नेपाली कांग्रेस मूलरुपमा एक छ र यो चुनावमा कांग्रेसले जित हासिल गर्नेछ ।’
गोविन्दराजको बागी उम्मेदवारीलाई आफूले ठूलो रुपमा नलिएको र खासै महत्व पनि नदिएको पौडेलले प्रतिक्रिया दिए ।

तनहुँ १ मा परेको जोशीको बागी उम्मेदवारी र कांग्रेसको चुनावी योजनाबारे अनलाइनखबरले पौडेलसँग गरेको संक्षिप्त कुराकानीः

वाम गठवन्धनपछि कांग्रेस एक भयो, बाहिर गएकाहरु घर फर्किए, अब कांग्रेस बलियो हुन्छ भनिँदैथ्यो । तर, टिकट वितरणमा असन्तुष्टि देखाउने बागीहरु त धेरै निस्किए नि पार्टीमा ?

पार्टीमा यस्ता सानातिना घटना घटिरहन्छन् । सबैको चित्त बुझाउन सकिँदैन । तर, नेपाली कांग्रेस मूल रुपमा एक छ र यो चुनावमा कांग्रेसले जित हासिल गर्नेछ ।

तपाई यसो भन्दैहुनुहुन्छ, तर तनहुँ १ मा तपाईंकै क्षेत्रमा गोविन्दराज जोशीले बागी उम्मेदवारी दिए, यसलाई कसरी लिनुभएको छ ?

उहाँको के कुण्ठा हो, त्यो मलाई थाहा छैन । मैले त्यसलाई ठूलो रुपमा लिएको छैन । खासै महत्व दिएको छैन ।

उहाँले त कांगेसको आधिकारिक उम्मेदवार मै हुँ भनिरहनुभएको छ नि ?

जसले जे पनि बोलेर कहाँ हुन्छ ? आधिकारिक हुनलाई आधिकारिकता चाहिएन ? रकमी कुरा गरेर काम छैन । कांग्रेसको आधिकारिक उम्मेदवार हुँदाहुँदै जोशीले उम्मेदवारी दिनुको कुनै अर्थ छैन । हामीलाई जित्न अफ्ठ्यारो पर्ने छैन ।

कांग्रेसको सदस्य नै भएर बागी उठ्नेलाई के गर्नुहुन्छ त अब ?

सदस्यता नै खारेज हुन्छ । स्वतः पार्टीबाट निस्कासित हुन्छ ।

तनहुँमा तपाईलाई ‘रिस्क’ बढेको हो ?

तनहुँमा हामीलाई अफ्ठ्यारो छैन । किनभने हामी सजिलै चुनाव जित्छौं । जहिले पनि तनहुँमा नेपाली कांग्रेसले जित्दै आएको छ, हामी जित्छौं ।

समग्र देशैभरि अनुकुल नतिजा आएन भने चुनावपछिको कांग्रेस कहाँनेर होला ?

कांग्रेस अरु सुव्यवस्थित हुनेछ । झन विकासवादी हुनेछ । जनताको पक्षमा जनमुखी हुनेछ । चुनावपछि कांग्रेस एकीकृत हुनेछ ।

यो चुनावमा तपाई आफ्ना मतदातालाई के सन्देश लिएर आउनुभएको छ ?

नेपाली जनतालाई सन्देश एउटै छ, देश ७० वर्षदेखि एउटा अन्योलमा फस्यो । त्यसको कारण देशको विकास हुन पाएको छैन । देशलाई राजनीतिक स्थिरता दिएर उन्नतिका लागि अगाडि बढ्ने हो । समृद्धिको बाटोमा हिँड्ने हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि देशमा पहिलो आम निर्वाचन हुँदैछ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव एकसाथ हुन लागिरहेको छ । अब यसले नेपाललाई नयाँ बाटोमा लैजाने छ । अहिलेसम्म जुन अन्योल थियो । त्यो अन्योललाई हटाएर शान्ति शुव्यवस्था कायम गराएर देशलाई स्थिरता र प्रगतिको बाटोमा लैजाने काम यो निर्वाचनले गर्नेछ ।

यो निर्वाचन अत्यन्त महत्वपूर्ण घडीमा भइरहेको छ । यो निर्वाचन देशमा लोकतन्त्र राख्ने कि निरंकुशतातिर जाने भन्ने बीचमा पनि लडाईं हो । र, हामी लोकतन्त्रका पक्षमा ७० वर्षदेखि लड्दै आएका छौं र लोकतन्त्रलाई बचाईं राख्नेछौं । लोकतान्त्रिक समाजवादको माध्यमले नेपालको प्रगति गर्छाैं । नेपाली जनताको उन्नति हुन्छ । नेपाली जनतालाई शान्ति, सुख र समृद्धि दिन हामी आतुर छौं ।

अहिले दुई वाम शक्ति एकतावद्ध भएका छन् । योबेला नेपाली कांग्रेस कठिन अवस्थामा छ कि सहज अवस्थामा ?

लोकतन्त्रलाई पछाडि धकेल्न चाहने तत्वहरुले फेरि पनि नयाँ किसिमको चहलपहल गरेको देखिन्छ । यसबाट हामी लोकतन्त्रवादीहरु विचलित हुँदैनौं । हामी नेपाली जनतामा विश्वास गर्छौं। नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन् । र, नेपाली जनताले लोकतन्त्रको अहित हुन दिने छैनन् । लोकतन्त्रलाई अब फेरि पछाडि धकेल्ने प्रयत्न सफल हुन दिने छैनन् । त्यसैले हामी निश्चिन्त छौं ।

‘हामी लोकतन्त्रवादीहरु’ भन्नुभयो, ‘हामी’मा कोको रहे अब ? राप्रपा त तपाईंहरुसँग असन्तुष्ट भएर अन्तै जान लाग्यो 

नेपाली कांग्रेसको सदस्यको नाताले र नेपाली कांग्रेसलाई माया गर्ने, कम्युनिस्ट एकतामा नजाने सबै शक्तिहरु हामी हौं ।

मधेसवादी दलसँग किन तपाईंहरुको एकता हुन सकेन ? चुनावमा कांग्रेस किन एक्लियो ?

होइन । यो सिट बाँडफाँडको कुरा भयो । अनि व्यवहारिकता अलि मिलेको छैन । तर, हामी लोकतन्त्रको रक्षाका लागि एक छौं ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?