Comments Add Comment

डडेल्धुरामा देउवाले जित्छन् कि हार्छन् ? यस्ता छन् आधार

मतदातामा अन्योलः पुरानैलाई रोज्ने कि क्रमभंग गर्ने ?


१९ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्दैछन् । र, बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराउन कस्सिएका छन्– वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका युवा नेता खगराज भट्ट ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचनमा पराजय भोगे भने यसबाट नेपाली कांग्रेसको मात्रै होइन, देशकै राजनीतिको शक्ति सन्तुलनमा परिवर्तन हुनेछ । तर, अझ योभन्दा बढी शेरबहादुर देउवाले डडेलधुरामा चुनाव हार्नु भनेको उनको विजय यात्राको निरन्तरताको क्रमभंगता पनि हुनेछ ।

आखिर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा के कस्तो ‘रिस्क जोन’ मा छन् ? यसबारे अनलाइनखबरको एक रिपोर्टः

अपराजित नेता

बहुदलीय व्यवस्था पुर्नस्थापनायता संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि गृहजिल्ला डडेल्धुराबाटै चुनाव लड्दैछन् । उनी जिल्लाबाट अहिलेसम्म चुनाव हारेका छैनन् । ०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव जित्दै आएका छन् ।

देउवाले डडेल्धुराबाट आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै आएका छन् । उनी हाल चौथोपटक मुलुकको प्रधानमन्त्री छन् । र प्रधानमन्त्री पदबाटै चुनाव लडिरहेका छन् ।

अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । ०४८ देखि ०७० सालसम्म भएका ५ वटा निर्वाचनमा देउवाको सिंहदरबार यात्रालाई कसैले रोक्न सकेन ।

०५१ सालको मध्यावधि चुनावका बेला कांग्रेस दोस्रो दलमा खुम्चिँदा होस् वा ०६४ मा देशैभर माओवादीको चर्चा हुँदा पनि देउवाको चुनावी भेललाई रोक्न कुनै दल र उम्मेदवारहरु सफल भएनन् । ०४८, २०५१ र ०५६ को प्रतिनिधिसभा एवं ०६४ र ०७० को संविधानसभा निर्वाचनमा चुनिँदै देउवाले ०४८ यताका सबै निर्वाचन जित्ने नेताका रुपमा रेकर्ड कायम राख्न सफल भएका छन् ।

यसपटक पनि देउवाले डडेल्धुराबाट विगतमा जसरी नै सहजै चुनाव जित्ने अनुमान गरिएको थियो । तर, स्थानीय तह निर्वाचनकै आधारमा मतदान हुने भए एमाले र माओवादीले चुनावी तालमेलपछि देउवाको स्थिति पहिलेजस्तो सहज छैन ।

डडेल्धुराको वाम गठबन्धनले उनीविरुद्ध माओवादी नेता खगराज भट्टलाई उठाएको छ । वाम गठबन्धन मिलेर चुनावमा गएका कारण प्रधानमन्त्री देउवालाई चुनौती बढेको छ ।

देउवाले चुनाव जित्न सक्ने ४ आधार

वाम गठबन्धन भए पनि प्रधानमन्त्री देउवाले चुनाव जित्न सक्ने सम्भावना छ । देउवाले चुनाव जित्न सक्ने ४ वटा आधार यी हुन्–

१. प्रधानमन्त्री पदः शेरबहादुर देउवा आफैं सत्तामा भएकाले यतिबेला डडेल्धुराको चुनाव उनका लागि अनुकूल छ भने वाम गठबन्धनका लागि चुनौतीपूर्ण छ । प्रधानमन्त्रीले आफू चुनाव जित्न राज्यको पुरै शक्ति प्रयोग गर्न सक्ने विपक्षीहरुलाई डर छ, चाहे त्यो चुनावी प्रचार प्रसारमा होस् या बाम गठबन्धनलाई बिर्गान ‘मास्टर गेम’ प्लान गरेर होस् ।

यही सन्दर्भमा डडेल्धुराका एक व्यापारी पुस्करसिंह ठकुरी भन्छन्– ‘प्रधानमन्त्रीको आफ्नै प्रभाव हुन्छ र मतदाताले यो कुरालाई नर्बिसेर यिनी त प्रधानमन्त्री हुन्, केही गर्छन् कि भनेर भोट खसाल्न सक्छन् ।’

२.व्यक्तित्वः प्रधानमन्त्री देउवाले पञ्चायतकालमा विभिन्न समयमा जेल जीवन, स्वतन्त्रताको लडाइ अनि डडेल्धुराको विकासका लागि, विद्यालय, स्वास्थ्यचौकी, टेलीफोन, सडकआदिमा काम गरेका छन् । राजमार्ग, खानेपानी र विद्युत विकासमा थुप्रै कामका लागि पहल गरेको कांग्रेस कार्यकर्ताको भनाइ छ । यससँगै मुलुककै राजनीतिको उच्च तहमा पुगेका कारण देउवाको व्यक्तित्वले समेत उनलाई चुनाव जित्न अरु नेताहरुलाई भन्दा सजिलो छ ।

डडेल्धुराका एक स्थानिय व्यापारी गणेश भट्ट भन्छन् ‘तपाई सुदुरका पहाडी जिल्लाहरुलाई डडेल्धुरासँग दाँज्नुहोस, अरु जिल्लामा के कति विकास भएको छ र डडेल्धुरामा कति भएको छ’ उनी भन्छन् यसमा देउवाको प्रभावले काम गरेको छ ।’

३. दुई गुटको मिलापः डडेल्धुरामा कांगे्रसभित्रै दुईवटा गुट पनि नभएका होइनन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीकै पूर्वसभापति रघुवर भट्टका अलग गुट रहँदै आएका छन् । नेपाली कांग्रेसको छैठौं जिल्ला अधिवेशनबाट नै दुईवटा गुट भएका थिए । रघुवर भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर मल्ललाई खुमबहादुर खड्का नजिक मान्ने गरिन्छ ।

यी दुवै गुटका कारण टिकट प्रक्रियामा चित्त नबुझेर अन्र्तघात भई बागी उम्मेदवारका कारण कांग्रेसले जिल्लामा ३ वटा स्थानीय तहमा गुमाएको थियो । तर, यस पटक भने कांग्रेसले प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा क्षेत्र नं ‘क’ बाट पूर्वसभापति रघुवर भट्ट र क्षेत्र नं ‘ख’ बाट वर्तमान सभापति कर्णबहादुर मल्ललाई टिकट दिएको छ । यसबाट अन्तरकलहको अन्त्य भएको कांग्रेस नेताहरुको दाबी छ ।

अनलाइनखबरसँगको कुराकानीमा सभापति कर्ण मल्ल भन्छन्– ‘अब डडेल्धुरामा कांग्रेसका दुई गुट रहेनन्, त्यसकारण नतिजा हाम्रो पक्षमा आउनेछ ।’

४. मतदाताको मुडः डडेल्धुराको सन्र्दभमा केहीले शेरबहादुर देउवालाई भगवान भनेर दर्जा दिने गरेका छन् । मतदाताहरुले अरुलाई भोट खसाल्ने मनसाय लिएर गए पनि मतदान केन्द्रमा पुगेपछि आफ्नो निर्णय बदल्ने गरेको कांग्रेस कार्यकर्ताहरुको दाबी छ ।

जिल्लाका कांग्रेसका नेता भरत नेपाली भन्छन् ‘भोट हाल्दा अन्तिम समयमा देउवा प्रधानमन्त्री हुन्, केही त गर्लान् कि भनेर ‘इमोसनल’ भएर उनलाई भोट दिने धेरै हुन्छन् ।’

देउवाले हार्न सक्ने ४ आधार

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हार्ने कुनै खतरा छैन भन्ने दाबी गर्न सकिँदैन । यसपालि देउवासमक्ष केही चुनौतीहरु पनि छन् । मुख्यतः प्रधानमन्त्री देउवाले चुनाव हार्छन् भनेर दाबी गर्नेहरुले चारवटा आधारहरु प्रस्तुत गर्ने गरेका छन्ः

१. स्थानीय निर्वाचनको आँकडा र वाम गठबन्धनः नेपाली कांग्रेस गत स्थानीय चुनावमा एमाले र माओवादीको कुल मतभन्दा ८ हजार ३३७ ले पछि परेको छ ।

स्थानीय तहमा (अध्यक्ष र प्रमुखका आधारमा) कांग्रेसले १९ हजार ५२३ मत पाएको थियो । एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याएको थिए । एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि कांग्रेसको १९ हजार मात्रै छ ।

सरसर्ती हेर्दा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । उसो त डडेल्धुरामा ६ हजार ८ सय ४ जना मतदाता थपिएका छन् । तर, थपिएका यी सबै मतदाता कांग्रेसका मात्रै होइनन् ।

२. ओरालो लागेको लोकप्रियताः पछिल्लो समयमा प्रधानमन्त्री देउवा विभिन्न ‘स्क्याण्डल’ हरुले गर्दा विवादमा आइरहेका छन् ।

कतिपयले देउवालाई ६४ जना जम्बो मन्त्रीमण्डल बनाइरहँदा ‘असक्षम प्रधानमन्त्री’को ताज पनि पहिर्‍याएका छन् । यिनै विभिन्न कुराले गर्दा उनको व्यक्तित्वमा दाग लागेको छ र उनको लोकप्रियता घटेको छ । यही विषयमा एक सामाजिक अभियन्ता कैलाश पनेरु भन्छन्– ‘अब देउवालाई गाह्रो हुनेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको ‘तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ’ काण्ड चर्चामा रह्यो । सप्तरीको भेडिया र मयनाकरेडी महुली खोलामा आएको बाढीको स्थलगत भ्रमणका लागि पुगेका पीडितलाई राहत प्याकेज घोषणा गर्दा उनले अर्कै सामग्री वाचन गरे ।

संयुक्त राज्य अमेरिकाको एक पत्रकार सम्मेलनमा झुक्किएर अंग्रेजी बिगारेको विषय पनि जिल्लामा चर्चामा छ ।

३. क्रमभंग गर्ने मतदाताको मनसायः डडेल्धुराका मतदाता अब आफ्ना प्रतिनिधि परिवर्तन चाहन्छन् भन्ने स्थानीय निर्वाचनको परिणामले देखाइसकेको छ । डडेल्धुरामा अब चार–चार पटक प्रधानमन्त्री भइसकेका देउवा बाहेक अरुलाई पनि चान्स दिनुपर्छ भन्ने चर्चा निकै व्यापक छ ।

‘वाम एकताका कारण अब देउवा प्रधानमन्त्री हुँदैनन् । र, उनी अब बुढो पनि भइसके’ स्थानीय युवा भुवन भण्डारीले भने ‘अब जिल्लामा पालो अरुलाई दिनु्पर्छ । यसै विषयमा कानुन विज्ञ विष्णु भट्ट भन्छन् ‘अब डडेल्धुरावासी परिवर्तन चाहान्छन ।’

४. देउवाको व्यस्तताः शेरबहादुर देउवा देशका प्रधानमन्त्री हुन् । सँगसँगै उनी नेपाली कांग्रेसका सभापति पनि हुन् । प्रधानमन्त्री भएका कारण उनको व्यस्त दैनिकी हुने गरेको छ । उनीमाथि सारा देशको जिम्मेवारी छ ।

साथै चुनावी प्रचार प्रसारमा उनलाई आचारसंहिता लाग्छ र सधैंभरि हेलिकोप्टर चढ्न पनि पाइँदैन । साथै उनी पार्टी सभापति भएकाले पार्टीका लागि पनि समय दिनुपर्ने हुन्छ । टिकट प्रक्रिया ढीलो टुङगिएका कारण देउवा मनोनयन दर्ता गराउन गृहजिल्ला आउन भ्याएनन् र बारेस गणेश पन्तमार्फत उनले मनोनयत दर्ता गराए ।

यिनै कारणहरुले देउवाले जिल्लामा समय दिन भ्याउँदैनन् र यो नै उनको हारको कारण नै बन्न सक्छ भन्ने विपक्षीहरुको तर्क छ ।

व्यस्त दैनिकीका कारण देउवाले मतदातालाई रिझाउन सकेनन् भने उनको भोट घट्न सक्छ ।

मनोनयन दर्ताकै बेला देउवा जिल्ला नआएको भन्दै एक कांग्रेस कार्यकर्ताले गुनासो गरे– ‘देउवा आफैं आएको भए राम्रो हुने थियो ।’

अन्त्यमा,

चुनाव आउन एम महिनामात्रै बाँकी रहँदा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा यतिबेला चुनावी सरगर्मी बढेको छ ।

देउवाका अगाडि अरु पार्टीका उम्मेदवारहरु सधैं फिक्का हुने निर्वाचनमा यसपटक भने वामएकता भएको छ ।

त्यसैले यसपटक के होला ? कसले बाजी मार्ला ? त्यसको ठोस जवाफका लागि भने मंसिर २१ सम्म कुर्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment