+
+
Shares

साउदी युवराजको कदमः भ्रष्टाचारीमाथि कारवाही कि विरोधी सिध्याउने खेल ?

बीबीसी बीबीसी
२०७४ कात्तिक १९ गते १८:४०

१९ कात्तिक, काठमाडौं । साउदी अरेवियाको राजगद्दीका उत्तराधिकारी मोहम्मद बिन सलमानले राज्य सत्तामा आफ्नो मजबुत पकड बनाउन अप्रत्याशीत र आक्रामक कदम चालेका छन् ।

युवराज मोहम्मद बिन सलमानले नेतृत्व गरेको एउटा नयाँ भ्रष्टाचार विरोधी निकायले ११ जना राजकुमार, ४ बहालबाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई गिरफ्तार गरेको हो । पक्राउ गरिएकामध्ये टि्वटर र एप्पलको लगानीकर्तासमेत रहेका अर्बपति राजकुमार अलवालिद बिन तलाल पनि रहेको पुष्टि भएको छ ।

उनले देशको राजनीतिक र व्यापारिक नेतृत्वको शुद्धीकरण’का नाममा आफ्नो आशय स्पष्ट गरे ।

यसका अलावा राजा सलमानले नेसनल गार्ड तथा नेभी चिफहरु पनि परिवर्तन गरेका छन् ।

नयाँ भ्रष्टाचारविरोधी समितिलाई पक्राउ वारेन्ट जारी गर्ने र यात्रा प्रतिवन्ध लगाउने अधिकार रहेको छ ।

साउदी ब्रोडकास्टर अल अरेबियाले २००९ को जेदाह बाढी र २०१२ मा देखिएको मर्स भाइरसको प्रकोपका विषयमा ताजा अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

तर, विश्लेषकहरुले भने युवराजको यो कदमलाई विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक राष्ट्रमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्ने प्रपञ्चका रुपमा लिएका छन् ।

साउदी नागरिक सरप्राइज्ड

शनिबार बेलुकीको स्क्यान्डलले साउदी अरेबियामा एक किसिमको सनसनी मच्चाएको छ ।

भ्रष्टाचारविरोधी कारवाहीको आवरणमा युवराजले चालेको कदमले पछिल्लो विकासक्रमबारे अनभिज्ञ साउदी जनता रणभुल्लमा परेका छन् ।

युवराज देशमा निकै लोकप्रिय छन्, विशेषतः युवा पुस्तामाझ । तर, पुरानतन सोच भएका बुढापाकाहरु भने उनी बढि नै आक्रामक भएर अघि बढेको ठानिरहेका छन् । उनले यमनमा कहिल्यै नजितिने युद्ध प्रारम्भ गरे भने तथाकथित स्लामिक स्टेटका अतिवादीहरुसँग अझै लडिरहेका छन् ।

उनका समर्थकहरुले भने वृद्ध व्यक्तिको दशकौं लामो नेतृत्वपछि साउदी अरेबियालाई आधुनिकीकरण गर्ने प्रयत्नको प्रशंसा गरेका छन् । उनीहरुले आगामी ५० वर्षसम्म राजा बन्न सक्ने नयाँ भिजन भएको व्यक्तिलाई स्वागत गरेका छन् ।

को हुन् राजकुमार अलवालिद ?

लन्डनको साभोय होटलको मालिक समेत रहेका राजकुमार अलवालिद संसारकै सबैभन्दा धनी व्यक्तिहरुमध्ये एक हुन्, जसको खुद सम्पत्ति १७ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ । राजकुमारको स्वामित्वमा रहेको इन्भेस्टमेन्ट र्फम किङ्डम होल्डिङको सेयर गिरफ्तारी प्रकरणलगत्तै ९.९ प्रतिशतले घटेको छ ।

टि्वटर र एप्पलको अलावा यो र्फमको लगानी रुपर्ट मुरडोचको न्यूज कर्पोरेसन, सिटिग्रुप बैंक, द फोर सिजन्स होटल चेन र राइड सेयरिङ सर्भिस लिफ्टमा छ ।

राजकुमार अलवालिदले एक पटक डोनाल्ड ट्रम्पको एउटा होटल र एउटा नौकाको स्वामित्व खरिद गरेका थिए, जतिबेला ट्रम्प राजनीतिमा आएकै थिएनन् ।

ट्रम्प राष्ट्रपतिमा उम्मेदवार बन्ने घोषणापछि टि्वटरमै उनले नजित्ने भविष्यवाणी गरे । यसको जवाफमा ट्रम्पले राजकुमारको सम्पत्तिको स्रोतमा प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?