Comments Add Comment

महोत्तरी र सप्तरीमा कांग्रेसको एकतर्फी प्रेमः महन्थ र उपेन्द्रलाई समर्थन

समय अभावले कांग्रेस नेताको उम्मेदवारी फिर्ता भएन

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले एकतर्फीरुपमा राजपा-फोरम गठबन्धनका दुईजना शीर्षनेताहरुलाई समर्थन गर्ने घोषणा गरेको छ ।

आइतबार कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थनको घोषणा गरेको हो । ठाकुर महोत्तरी ३ र यादव सप्तरी २ मा उम्मेदवार बनेका छन् ।

कांग्रेसले महोत्तरी ३ मा बजरंग नेपाली र सप्तरी २ मा सकलदेव सुतिहारलाई उम्मेदवार बनाएको थियो ।

ठाकुर र यादवलाई समर्थन गर्दै कांग्रेसले पार्टीका दुबै उम्मेदवारलाई पछि हट्ने निर्णय सुनाएको छ । उम्मेदवारी फिर्ताका लागि आयोगको केन्द्रीय कार्यालयमा नेपाली र सुतिहारका तर्फबाट निवेदन पनि दिइएको थियो । तर, प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन सम्भव भएन ।

‘महन्थ ठाकुर र उपेन्द्र यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय भएको हो’ कांग्रेस नेता मिनेन्द्र रिजालले अनलाइनखबरसँग भने ।

निर्धारित समयभन्दा ढीलो निवेदन दिएको र पार्टीको आधिकारिक पत्र समावेश नगरिएकाले औपचारिकरुपमा उम्मेदवारी भने फिर्ता भएन ।

यसअघि नेपाली कांग्रेसले राजपा र फोरमसँग चुनावी तालमेलकै प्रयास गरेको थियो । तर, यसमा कांग्रेस असफल भयो । तथापि तालमेल सफल नभए पनि आइतबार कांग्रेसले उपेन्द्र यादव र महन्थ ठाकुरमाथि एकतर्फी प्रेम प्रकट गरेको छ ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मको समय दिएको थियो । तर, प्राविधिक रुपमा उम्मेदवारी फिर्ता नभए पनि दुबै नेतालाई समर्थन गरिने कांग्रेसले जनाएको छ ।

एकतर्फी प्रेम किन ?

कांग्रेसले राजपा-संघीय फोरमसँग प्रदेश नम्बर २ का सबै सिटमा चुनावी तालमेलको प्रयास गरेको थियो । तर, झण्डै एक महिनासम्म वार्ता गर्दा पनि तलमेल प्रयास सफल भएन । तालमेल नभएपछि कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो धनुषा ३ मा भिडेका छन् ।

तर, निधिकै पहलमा राजपा संयोजक ठाकुर र फोरम अध्यक्ष यादवलाई समर्थन गर्ने कांग्रेसले निर्णय गरेको छ ।

निधिले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेर उम्मेदवारी फिर्ताको निर्णय गराएका हुन्
ठाकुर र यादव दुबैको क्षेत्रमा कांग्रेसले खुट्टा झिकेपछि अब त्यहाँ बागी उम्मेदवारहरु भए पनि राजपा- फोरमको जित सहज हुने अनुमान गरिएको छ ।

‘एउटा त महन्थ ठाकुर, उपेन्द्र यादव जस्तो व्यक्ति संसदमा चाहिन्छ भन्ने हो’ राजपा उम्मेदवारलाई समर्थन गर्नुका कारणबारे कांग्रेस स्रोतले भन्यो, अर्को, सांकेतिक रुपमा भए पनि गठबन्धनलाई कायम राख्न खोजिएको हो ।’

कांग्रेसले ठाकुर र यादवलाई समर्थन गरेपछि राजपा-फोरमले धनुषा ३ मा के गर्छ हेर्न बाँकी छ ।

तर, विमलेन्द्र निधिले आफ्नो पहलमा यादव र ठाकुरलाई समर्थन गर्ने निर्णय गरेर धनुषा ३ मा मधेस केन्दि्रत दलका कार्यकर्ताको सहानुभूति आफूतिर तान्न खोजेको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment