Comments Add Comment

अपरिचितबाट सिन्धुपाल्चोकमा उम्मेदवारलाई ‘सुरक्षा थ्रेट’

साना हतियार भित्रिएको आशंका, दुवै गठबन्धनका अभिव्यक्ति उत्तेजक

२१ कात्तिक,सिन्धुपाल्चोक । केही दिन अघि सुकुटेको एक रिसोर्टमा नेपाली कांग्रेस निकट तरुण दलका कार्यकर्ताहरुले खाजा खाने क्रममा पेस्तोल प्रदर्शन गरिएको सूचना पाउनासाथ प्रहरीले सर्च अभियान चलायो । जिल्लामा चिनिएकै नेताले पेस्तोल प्रदर्शन गरेको खबर प्रहरीले तत्कालै पाए पनि कसैलाई पक्राउ गरेन ।

पिस्तोल प्रर्दशन गरेको केही दिन पछि सञ्चारकर्मीहरुसँग माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम क्षेत्र नम्बर १ मा बामपन्थी गठबन्धनका उमेदवार अग्नि सापकोटा र प्रदेश २ का उमेदवार सरेश नेपालले भने- ‘यो पटक चुनावमा कांग्रेसले साना हतियार धेरै भित्र्याएको छ ।’

दुई चरणमा चुनाव हुने भएको र खुला सीमा भएका कारण अरु जिल्लाका मान्छे आएर सिन्धुपाल्चोकका मतदाताहरुलाई आतंकित पार्ने योजना हामीले थाहा पाएका छौ उमेदवारद्वय अग्नि सापकोटा र सरेश नेपालले भने- ‘यस्तो अवस्था भयो भने मतदाताहरुले शान्तिपुर्वक मतदान गर्न बाट बञ्चित हुनेछन् ।’

उमेदवारहरुले यस्तो आशांका गरिरहेको बेला सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि खुला सीमा भएकाले अन्य जिल्लाबाट नौलो मान्छे जिल्लामा आउने सक्ने सूचना आफुहरुले पाएको बताएका छन् । हामीले चुनावका लागि ९९ दशमलब ९ प्रतिशत सुरक्षा व्यवस्था चुस्त बनाएका छौ तर कहिले काँही ‘पोइवन्ट वानले’ पनि अशान्ति हुदो रहेछ प्रजिअ तामाङले भने ।

काभ्रे लगायतका जिल्लामा दोस्रो चरणमा मतदान हुने भएकाले बाहिरी जिल्लाबाट नयाँ मान्छे जिल्लामा भित्रन सक्ने सुरक्षा निकायको विश्लेषण छ । सबै मान्छे चिन्न सकिन्न,आयतीतबाट शान्ति सुरक्षामा खलबल हुने सूचनाहरु आएको छ,हामी त्यसमा गम्भीर छौ प्रजिअ तामाङले भने । अपरिचित बाट सुरक्षा ‘थ्रेट’ रहेको उनको भनाइ थियो ।

उमेदवार मनोनय कै दिन सञ्चार मन्त्री एवम कांग्रेस उमेदवार मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुलाई हृयाकुलाले पेलेरै ठिक गर्ने र लड्न परेपनि पछि नह्टन कार्यकर्ताहरुलाई निर्देशन दिएपछि हृयाकुलो शब्दले राष्ट्रिय चर्चा समेत पायो । उच्च सुरक्षा स्रोतका अनुसार सिन्धुपाल्च्ाोकमा उमेदवारहरुमाथि समेत सुरक्षा थ्रेट रहेको छ ।

‘केही उमेदवारहरुलाई भौतीक रुपमा नै आक्रमण गर्नै सूचना आएको छ,स्रक्षा स्रोतले भन्यो,हामीले उमेदवारहरुको सुरक्षाको लागि ध्यान दिएका छौ ।

प्रमुख जिल्ला अधिकारी तामाङले पनि उमेदवारको सुरक्षा पहिलो प्राथामिकता भएकाले आफुहरु त्यसमा सचेत रहेकेा बताए । केन्द्रीयस्तरका चर्चित नेताहरु उमेदवार भएका कारण पनि प्रहरीले उमेदवारहरुको सुरक्षामा सर्तकता अपनाएको उनले बताए ।

वर्तमान सञ्चार मन्त्री मोहन बहादुर बस्नेत,राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबरा, पुर्व मन्त्री एवम माओवादी स्थायी कमिटी सदस्य अग्नि सापकोटा,एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल,केन्द्रीय सदस्य शेरबहादुर तामाङ लगायतका ‘हेवी वेट’ नेताहरु चुनावी प्रतिष्पर्धामा छन् ।

चुनावी सभाः हृयाकुलाको चर्चा

उमेदवार मनोनयनका दिन सञ्चार मन्त्रीको हृयाकुलोले मिच्ने अभिव्यक्ति पछि बामपन्थी गठबन्धनका उमेदवारहरुले प्रत्येक कार्यक्रममा यसको जवाफ दिने गरेका छन् ।

केही दिन अघि बाह्रविसेमा भएको बामपन्थीहरुको अगुवा कार्यकर्ता भेलामा बाम उमेदवार अग्नि सापकोटाले भने- ‘सिहं सुतेर बस्छ, तर उठ्यो भने बाँकी राख्दैन, स्यालहरु धेरै नचिच्याउन् ।’

प्रत्येक चुनावी सभामा उत्तेजक अभिव्यक्ति दुवै पक्षका नेताहरुले दिने गरेका छन् । यसले गर्दा दुवै पक्षका कार्यकर्ताहरु झनै उत्तेजीत हुदै गएको सुरक्षा निकाय सतर्क बनेको छ ।

सिन्धुपाल्चोकमा चुनावका बेला आक्रमण र झडपका घटनाहरु हुने गर्छन् । २०७० को संविधान सभा निर्वाचनमा एमाले उमेदवार अरुण नेपालमाथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका थिए भने २०६४ को संविधान सभामा कांग्रेस उमेदवार मोहन बस्नेतलाई वाइसीएलका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

जिल्लामा पाँच दर्जन बढी साना हतियार भित्रीएको हुन सक्ने उच्च स्रोतको दाबी छ । छुरा, खुकुरी खुडा लगायतका घरेलु हतियार समेत जिल्लामा धेरै संख्यामा भित्रीएको सुरक्षा स्रोतले अनुमान गरेको छ ।

मतदाता र अन्य दलका नेता कार्यकर्ताहरुलाई धम्क्याउन यस्ता साना हतियार प्रयोग गर्ने योजनामा दलका युवा कार्यकर्ताहरु रहेको स्रोतको दाबी छ । कांग्रेसले एक बुथ बराबर १ सय जना युवाहरु परिचालन गर्नै योजना बनाएको छ भने बामपन्थी गठबन्धनले एक बुथ १ सय ५० युथका साथ अभियान सुरु गरेको बामगठबन्धन क्षेत्र नम्बर १ का युवा परिचालन समितिका संयोजक माओवादी नेता सरल सहयात्री पौडेलले जानकारी दिए ।

कांग्रेसले भने तरुण परिचालनको जिम्मा तरुण नेता सुगुन श्रेष्ठलाई दिएको छ । विभिन्न अपराधिक क्रियाकलपमा संल्लगन रहेको आरोपमा उनी पटक पटक जेल समेत बसिसकेका छन् ।

कांग्रेसले भने यो चुनावमा बामगठबन्धनले पुर्व लडाकुको प्रयोग गर्ने सूचना आफुहरुले पाएकाले त्यसको प्रतिवादको लागि आफुहरु तयार रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment