Comments Add Comment

यी हुन् आफूलाई भोट हाल्न नपाउने राप्तीका पाहुना उम्मेदवार

२२ कात्तिक, दाङ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सिकाइरहेका छन् । तर राप्ती अञ्चलका केही नेताहरु यस्ता पनि छन् जो आफूले आफैंलाई भोट हाल्न नपाउने गरी पाहुना उम्मेदवार बनेका छन् ।

यस्तै एकजना उम्मेदवार हुन् माओवादी नेता कृष्णबहादुर महरा । उनी दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् । उनले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । किनकी उनी रोल्पाका हुन् । मतदाता नामावलीमा उनको नाम रोल्पा नगरपालिका १ तारामावि केन्द्रमा छ ।

०६४ को संविधानसभा निर्वाचनमा दाङबाट चुनाव लडेका उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा गृहजिल्ला रोल्पाबाटै चुनाव लडेका थिए । फेरि १० वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा उनी पाहुना उम्मेदवारको रुपमा दाङ आएका छन् ।

यसैगरी प्रदेश नम्बर पाँचको भावी मुख्य मन्त्रीको रुपमा हेरिएका एमालेका शंकर पोखरेलले पनि आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । पोखरेल दाङ क्षेत्रनम्बर २ को (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । तर उनको नाम मतदाता नामावलीमा दाङ क्षेत्रनम्बर २ को (ख)मा छ ।

शंकर पोखरेलले दाङ २ को (क) रोजेपछि २ को (ख)मा अमरबहादुर डाँगीलाई वाम गठवन्धनले उम्मेदवार बनाएको छ । जबकी उनी दाङ क्षेत्रनम्बर २ (क) को उम्मेदवार हुन् । क्षेत्र परिवर्तन भएकाले उनले पनि आफूले आफैलाई भोट हाल्न पाउने छैनन् ।

एमाले नेता शंकर पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेले पनि आफूले आफैलाई भोट हाल्न पाउँदैनन् । उनको नाम दाङ क्षेत्रनम्बर १ भए पनि उनलाई कांग्रेसले दाङ २ (क)को उम्मेदवार बनाएको छ ।

दाङमा मात्रै होइन रोल्पामा पनि अवस्था यस्तै छ । माओवादीका नेता कुलप्रसाद केसी ‘सोनाम’ प्रदेशसभा (क)बाट उम्मेदवार बनेका छन् । तर उनी प्रदेश सभा (ख) अन्तर्गत रोल्पा नगरपालिका ६ का मतदाता हुन् ।

रोल्पाकै अर्का माओवादी नेता झक्कु सुवेदी पनि आफूले आफैलाई भोट हाल्नबाट बन्चित हुनेछन् किनकी उनी काठमाडौंबाट चुनाव लड्दैछन् । रोल्पाको सुवर्णावती गाउँपालिका घर भएका उनी काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लड्दैछन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट एमाले नेता माधव कुमार नेपाललाई हराएर सुवेदी चर्चामा आएका थिए ।

एमाले नेता प्रकाश ज्वाला पनि आफूले आफैंलाई भोट हाल्न नपाउने नेताहरुमध्येका एक हुन् । सल्यानको प्रदेशसभा खबाट वाम गठबन्धनका उम्मेदवार बनेका उनी प्रदेशसभा कका मतदाता हुन् ।

प्यूठानका हरि रिजाल पनि आफूले आफैंलाई भोट हाल्न नपाउने गरी उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेका उनी प्रदेश सभा ‘ख’का मतदाता हुन् ।

रूकुमका मुसिकाेट नगरपालिकाका मतदाता हुन्, अनिल शर्मा । उनी पनि पाहुना उम्मेदवार बनेर काठमाडाैं -१ काे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भिड्दै छन् । अखिल क्रान्तिकारीकाे अध्यक्षमा रञ्जित तामाङसँग पराजित शर्मा ‘हेभिवेट’ कांग्रेस नेता प्रकाशमान सिंहसँग प्रतिष्पर्धामा उत्रिएका छन् । यही क्षेत्रमा युवामाझ चर्चित रवीन्द्र मिश्र विवेकशील साझा पार्टीकाे तर्फबाट चुनावमा हाेमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment