२२ कात्तिक, वीरगञ्ज । चुनावमा नेताहरुलै भोटका लागि पैसा बाँडेको चर्चा हुने गरेको समयमा पर्सामा भने एक नेतालाई जनताले नै पैसा दिएका छन् ।
पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राज कुमार यादवलाई मतदाताले नै पैसा दिएका हुन् ।
उनको घरदैलो कार्यक्रममा मतदाताले यादवको हातमा पैसा दिएर भोट दिने प्रतिवद्धता समेत जनाइरहेका छन् । पर्साको सखुवा प्रसौनी गाँउपालिकाको सखुई जमुनियामा बुधबार भएको घर दैलो कार्यक्रममा स्थानीयले यादवको हातमा एक रुपैयाँदेखि पाँच रुपैयाँसम्म दिएर भोट दिने प्रतिबद्धता समेत जनाएका छन् ।
भोट माग्न जाँदा स्थानीयले नै एक रुपैयाँ सहयाेग र भोट पनि भनेर दिएको नेता यादवले बताए ।
स्थानीय जनताले तपाई इमान्दार हुनुहुन्छ, हामीलाई धोका दिनुहुन्न भन्ने विश्वास छ भन्दै रुपैयाँ दिएर भोट दिने प्रतिबद्धता गरेको यादवले जानकारी दिए । ‘घरदैलो कार्यक्रममा मलाई स्थानीय जनताले हातमा एक रुपैयाँदेखि पाँच रुपैयाँसम्म दिएर भोट पनि दिने वाचा गरेका छन्,’ यादवले भने, ‘मैले उनीहरुबाट रकम लिँदै आफू जनताको ऋणी भएको र सकुन्जेल जनताको सेवामा लाग्ने बाचा गरेको छु ।’
यादवले मतदाताले दिएको रकम स्थानीय मन्दिर, मस्जिद, चर्च र गुम्बामा चढाउने गरेको पनि बताए ।
प्रतिक्रिया 4