Comments Add Comment

कोइरालाका भान्से कांग्रेसमै, छोराबुहारी माओवादीमा !

सुन्दरहरैंचामा यस्तो देखियो डा.शेखरको चुनावी अभियान

२४ कात्तिक, सुन्दरहरैंचा (मोरङ) । शुक्रबार बिहानै बिराटनगरस्थित कोइरालानिवास कार्यकर्ताले भरिभराऊ भयो । कोशी अस्पताल नजिकै रहेको घरमा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला कार्यकर्ताका वीचमा थिए ।

केहीछिनको चिया गफ सकिँदा घडीले ८ बजेको संकेत गर्‍यो । डा. कोइरालाका सहयोगी दिनेश थपलियाले उनलाई चुनावी अभियानमा जानेबेला भएको संकेत गरे ।

लगत्तै रुख चिन्ह र चारतारे झण्डा फर्फराउँदै एक हुल गाडी उत्तरपूर्वी मोरङको सुन्दरहरैंचातर्फ हुइँकिए । गाडी हुइँकिएको सो क्षेत्र मोरङको क्षेत्र नम्वर ६ मा पर्छ ।

करिव २१ किलोमिटर पूर्वोत्तरमा पर्ने सुन्दर हरैंचा ३ स्थित लक्ष्मीनारायण मन्दिरमा गाडीहरु घ्याच्च रोकिए । चारवटा गाडीमध्ये एउटाबाट डा. कोइराला ओर्लिए ।

कोइराला आफ्नो सदावहार स्टायलमा थिए- कुर्ता-पाइजामा, काँधमा गम्छा ।

गाडीबाट झरेपछि कोइरालालाई स्थानीय कार्यकर्ताले घेरा हाले । जयनेपालको अभिवादनपछि केहीबेर भलाकुसारी भयो । लगत्तै उनी सोही मन्दिर परिसरमा आयोजित चुनावी कार्यक्रममा सहभागी भए ।

डा. कोइराला कार्यक्रमको वीचवीचमा स्टेजबाट बाहिर निस्किएर मोटरसाइकलमा बस्थे र मोबाइलमा गफिन्थे ।

कार्यक्रममा ६ जनाले भाषण ठोकेपछि डा. कोइरालाको पालो आयो । भाषणका क्रममा उनले सुन्दरहरैंचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा एक वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले त्यस क्षेत्रको सडक, बिजुली विद्यालय लगायतको विकास गर्ने बताए ।

मध्यान्हको १२ बज्यो । कार्यक्रम सकिएपछि डा. कोइराला केहीबेर सञ्चारकर्मीसँग गफिए ।

कार्यक्रम सकेर हिँड्नै लाग्दा बाटामा उभिएका दुई जेष्ठ नागरिक बद्री चौधरी र मनमोहन चौधरीले डा. कोइरालालाई भने- अब यताको नेता भएछौ, यो बाटो पूरै कालोपत्रे गरिदिनू

पत्रकारसँग गफ गरिरहेका बेला स्थानीय देवराज पौडेलले अलि परैबाट गुनासो पोख्न भ्याए । नेताहरुले सधैं आश्वासन मात्रै बाँड्ने काम गर्छन् । ५२ वषर्ीय पौडेलले यसो भन्दै गर्दा उनलाई कार्यकर्ताले डा. कोइरालाको नजिक पुग्न नदिई बाहिर पठाए ।

सञ्चारकर्मीसँगको कुराकानीपछि कोइरालाको टोली पुनः दोस्रो चुनावी अभियानतर्फ हुइँकियो ।

अपरान्ह १ बजिसकेको थियो । बिहान खाजामात्रै खाएर हिँडेको टोली भोकाइसकेको थियो । त्यसैले दोस्रो कार्यक्रमभन्दा पहिला नै खाना खाने सल्लाह भयो ।

सुन्दर हरैंचा नगरपालिका-२ मृगौलियामा राखिएको कार्यक्रमस्थल नजिकै जनार्दन चौधरीको घरतर्फ खाना खानका लागि गाडीहरु हुइँकिए ।

डा. कोइरालासहितको टोलीलाई खानाको व्यवस्था चौधरीले आफ्नै घरमा गरेका रहेछन् । चौधरी फोरम लोकतान्त्रिकका पुराना कार्यकर्ता रहेछन् । विजयकुमार गच्छदार कांग्रेसमा आएपछि उनी पनि हालै मात्र कांग्रेसको कार्यकर्ता बनेका रहेछन् ।

डा. कोइराला हात धोएर टेबल छेउमा बसे । उनको अर्डर अनुसार तोरीको तेलमा साँधेेको भुजा र हाँसको मासु तयारी अवस्थामा राखिएको रहेछ । आँगनमा राखिएको डाइनिङ टेबलमा चौधरी भेषभुषामा सजिएर सुष्मा चौधरी भान्साबाट निस्किइन् । उनले अर्डर अनुसारको खाना राखिदिइन् ।

सहभागी टोलीलाई खानाका साथमा बोइलर कुखुराको मासुको व्यवस्था चौधरीले गरेका रहेछन् ।

खाना खाएपछि घरधनी चौधरीले डा. कोइरालालाई घरभित्र लगे । कोठामा प्रवेश गर्नेक्रममा जुत्ता खोल्नुपर्छ कि पर्दैन भनी कोइरालाले सोधे । ‘पर्दैन’ भन्ने जवाफपछि उनी भित्र पसे ।

केहीछिनपछि सयपत्री फूलको माला लगाएर डा. कोइराला चौधरीसँगै बाहिर आए ।

दिउँसो साढे २ बजिसकेको थियो । टोली मृगौलियाको चुनावी कार्यक्रमतर्फ लाग्यो । कोइरालाले सो कार्यक्रममा पनि त्यस क्षेत्रको विकासका लागि आफ्नो ठूलो योगदान हुने बताए ।

करिव पौने ४ बजे कार्यक्रम सकियो । कार्यक्रम सकिएपछि चौधरी भेषभुषामा सजिएका कांग्रेस कार्यकर्तासँग कोइरालाले फोटो सेसन गरे ।

कार्यक्रम सकेर हिँड्नै लाग्दा बाटामा उभिएका दुई जेष्ठ नागरिक बद्री चौधरी र मनमोहन चौधरीले डा. कोइरालालाई भने- अब यताको नेता भएछौ, यो बाटो पूरै कालोपत्रे गरिदिनू ।

जवाफमा कोइरालाले मलाई भोट दिनुहोला, गरिदिन्छु भने ।

मृगौलियाको कार्यक्रम सकेर बाटोमा निस्कएपछि डा. कोइरालाको टोली आफ्नो चुनावी क्षेत्र नभए पनि सुन्दरहरैंचा ७ मा रहेको मानबहादुर न्यौपानेको घरतर्फ लाग्यो । ९५ वर्षीय जेष्ठ नागरिक न्यौपानेले डा. कोइरालालाई वाल्यकालमा केही समय हुर्काएका रहेछन् ।

घरमा पुग्दा वयोवृद्ध मानबहादुर बरण्डामा तन्ना ओच्छ्याइएको खाटमा बसिरहेका थिए । कोइरालालाई सत्कारका लागि खाटमा चिटिक्क पारेर सफा तन्ना ओच्छ्याइएको थियो । छेउमा पाँच/सातवटा कुर्सी थिए ।

डा. कोइरालाले नजिकै पुगेर नमस्कार गर्नासाथ न्यौपाने हजुरबाले कोइरालाई चुनाव जित्नु भन्दै टाउकामा हात राखेर आर्शिवाद दिए ।

कोइराला निवास बिराटनगरमा मानबहादुर एक समय भान्सेका रुपमा रहेको उनले सुनाए । न्यौपानेले विगत सम्झिँदै भने- मैले तपाईलाई ४ वर्षको हुँदा खेलाएको हुँ ।

कोइराला र न्यौपानेवीच यतिका समयपछि यो नै पहिलो भेटघाट रहेछ ।

न्यौपानेले अगाडि भने- डा. शेखरबाबु चुनावमा उठ्नुभएको छ भनेर सुनें, अनि भेट्न मन लाग्यो । तपाईको मलाई धेरै माया लाग्छ, त्यसैले आर्शिवाद दिन घरैमा बोलाएको हुँ ।

डा. शेखरलाई भेट्न मन छ भनेर पटक-पटक भनेपछि स्थानीय कांग्रेस कार्यकर्ता चिरञ्जीवी सापकोटाले कोइराला र न्यौपानेको भेटको चाँजोपाँजो मिलाइदिएका रहेछन् ।

मेरो क्षेत्रका मतदाताले अब आउने संसदमा फेरि गएर महत्वपूर्ण भुमिका निर्वाह गरोस् भन्ने चाहेका छन् । कतिपय मतदाताले त प्रधानमन्त्री बन्ने आशिर्वाद नै दिएका छन् ।तसर्थ, म जितको नजिक छु- शेखर कोइराला

डा. शेखरसँगको भेटमा न्यौपानेले आफू दुई वर्षदेखि प्रेसरको बिरामी भन्दै उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे । डा. कोइरालाले अब साह्रो बिरामी हुँदा मलाई भन्नुहोला, म सम्पूर्ण उपचारको व्यवस्था मिलाइदिन्छु भन्ने आश्वासन दिए ।

न्यौपानेले ‘हजुरसंँग बोल्न मन लाग्छ, तर मसँग मोवाइल पनि छैन भन्दै मोबाइलसमेत माग्न भ्याए । डा. कोइरालाले केही प्रतिक्रिया दिएनन् ।

बसाइको अन्तिममा न्यौपानेले अब तपाईको प्रधानमन्त्री हुने पालो आयो, हामीजस्ताको भत्ता बढाइदिनुहोला भन्ने माग गरे । उनले पुल, बाटोघाटो बनाएर विकास गर्नुहोला भन्ने सुझाव पनि दिए ।

कोइरालाले न्यौपानेको सुझाव सुनिसकेपछि भने- म मुलुकको प्रधानमन्त्री भएँ भने तपाईहरु जस्तालाई भत्ता बढाइदिने, निशुल्क इलाज गराइदिने अनि आवासको व्यवस्था गरिदिनेछु ।

न्यौपानेका छोरा गोकुल न्यौपाने गत स्थानीय निर्वाचनमा माओवादीबाट सुन्दरहरैंचा ६ नम्वर वडाको वडाअध्यक्षमा उठेका रहेछन् । तर, उनी पराजित भए ।

गोकुलका अनुसार बुबा बाहेक घरका सबै सदस्यहरु माओवादी केन्द्रमा आवद्ध छन् ।

अन्त्यमा, डा. कोइरालासँग न्यौपाने परिवारले सामुहिक तस्वीर खिचाए । करिब ४५ मिनेटको बसाइपछि चिया खाएर त्यहाँबाट कोइरालाको टोली बिराटनगरतर्फ हानियो ।

चुनावी अभियानअन्तर्गत पहिलो चरणमा कार्यकर्ता भेटघाट र भेला सम्पन्न गरेपछि मात्रै घरदैलो अभियान थाल्ने सोचमा रहेका डा. कोइरालासँग अनलाइनखबरले छोटो कुराकानी गरेको छ ।

प्रस्तुत छ-डा कोइरालासँग गरिएको कुराकानी

कस्तो भइरहेको छ, चुनावी अभियान कार्यक्रम ?

– चुनाव क्षेत्र ठूलो भएकाले पहिलो चरणमा म अहिले वडास्तरमा चुनावी सभा लगायतका कार्यमा व्यस्त छु । एक चरण वडास्तरका चुनावी कार्यक्रम सम्पन्न गरेपछि अनि मात्रै घरदैलो कार्यक्रम गर्ने सोच बनाएकोछु । समय थोरै भएकाले व्यवस्थापन गर्न गाह्रो हुन्छ कि भन्ने लाग्दैछ ।

मेरो नयाँ क्षेत्र भएकाले पनि धेरैजसो ठाउँहरुमा भेटघाट गर्नेसँगै अन्तरक्रिया, छलफल गर्ने काम पनि भइरहेका छन् ।

सबै मतदाता समक्ष पुग्न भ्याइन्छ ?

-सकेसम्म धेरै मतदातामाझ पुग्छौं । चुनावी अभियानालाई निरन्तरता दिँदै जानेछु । भ्याएसम्म क्षेत्र नम्वर ६ का सबै मतदाता माझ पुग्ने प्रयासमा छु ।

मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?

-ठाउँ अनुसारको विकासका एजेन्डाहरु छुट्टाछुटै पाएँ । सुन्दर हरैंचा र विराटनगरवासी मतदातको मनस्थिति फरक फरक छ । म यो निर्वाचनमा सुन्दर हरैंचावासी मतदाताका लागि नयाँ अनुहार बनेको छु । तर, पनि बिराटनगरवासी, जो मेरा पुराना मतदाता पनि हुनुहुन्छ, उहाँहरुले दिने न्यानो सदभावमा भने केही फरक पाएको छैन ।

केही ठाउँमा स्थानीय विषयहरु छन् । तर, उहाँहरुले त्यसलाई सुझावका रुपमा, यसमा पनि अतिरिक्त ध्यान दिनुपर्छ भनेर भन्नुभएको छ ।

यो क्षेत्रका लागि तपाईंका एजेण्डा के हुन् ?

– विषेश र मुख्य एजेण्डा भनेको विराटनगरलाई प्रादेशिक राजधानी बनाउने हो । तर, त्यतिमा मात्रै मेरो एजेण्डा सीमित छैन । पूर्वाञ्चल विश्वविद्यालयमा एक वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्नेछु । क्षेत्रगत रुपमा हेर्दा बाटोघाटो बिजुली लगायतका काम पनि गर्नु पर्ने हुन्छ ।

त्यसैगरी गरिवीको रेखामुनि रहेका फुसका छानालाई जस्तापाताको छाना भएको घरमा रुपान्तरण गर्ने लक्ष्य छ । गएको बाढीबाट यो क्षेत्र अस्तव्यस्त बनेको छ, अब त्यस्तो हुन नदिने मेरो एजेण्डा छ । यस क्षेत्रभित्र पर्ने जति पनि खोलानाला छन्, तिनलाई नियन्त्रण गर्नका लागि तटवन्धन गर्ने लक्ष्य छ । यीबाहेक अन्य धेरै काम यस क्षेत्रमा गर्न बाँकी छन्, यसलाई विस्तारै पूरा गर्दै जाने लक्ष्य राखेको छु ।

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

चुनावमा उम्मेदवार हुने जित्ने भनेर नै हो । म जित्छु पनि । तर, म प्रतिद्वन्द्वीलाई कहिल्यै कमजोर ठान्दिनँ ।

मेरो क्षेत्रका मतदाताले अब आउने संसदमा फेरि गएर महत्वपूर्ण भुमिका निर्वाह गरोस् भन्ने चाहेका छन् । कतिले त मुलुककै प्रधानमन्त्री हुनुपर्ने भन्ने चाहेका छन् । कतिपय मतदाताले त प्रधानमन्त्री बन्ने आशिर्वाद नै दिएका छन् ।

तसर्थ, मेरा मतदाताले दिएको माया र सदभावले पक्कै पनि म जित्छु । म जितको नजिक छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment