Comments Add Comment

यस्तो छ कास्कीका उम्मेदवारको मतदाता फकाउने काइदा

२५ कात्तिक, पोखरा । शनिबार बिहानै पोखरा-९ नयाँ बजारमा घरदैलोमा निस्किएका कास्की क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार देवराज चालिसेले मतदातासँग भने, ‘पटकपटक अरुलाई जिताउनुभयो तर, केही पाउनुभएन । यसपटक मलाई जिताउनुस्, म गर्व गर्न लायक काम गर्नेछु ।’

दलबलसहित मतदाताको घर आँगनमा पुगेर भोट माग्दै चालिसे मतदातासँग साँच्चिकै पोखराको एकीकृत विकासका लागि आˆनो उम्मेदवारी रहेको बताए ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता रवीन्द्र अधिकारी भने पोखरा-७ मासबारमा मतदातालाई नमस्कार गर्दै, मुसुक्क हाँसेर अंगालो मार्दै भोट मागिरहेका थिए ।

‘२ पटक मलाई जिताएर पठाउनुभयो । यो बीचले म सँधै तपाईंहरुसँगै रहन पाएँ । म अझै तपाईंहरुकै दुःखसुखमा सँगै हुन चाहन्छु । फेरि मलाई नै जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

विकास समितिको सभापति रहेका रहेका अधिकारी मतदातालाई भन्दै थिए, ‘तपाईहरुले जिताएर म विकासको सम्वाहक हुन पाएँ । पोखराको मात्रै होइन, देशकै विकास गर्न मलाई जिताउनुहुनेछ भन्ने कुरामा म ढुक्क छु ।’

२१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने कास्कीमा सबै दलले चुनावी अभियान तीव्रमात्रै पारेका छैनन्, मतदातालाई फकाउने सबै अस्त्र प्रयोग गरिरहेका छन् । उम्मेदवारहरुको आआˆनो जितको दाबा त छँदैछ, एकअर्कालाई होच्चाएर, गाली गलौज गर्नसमेत पछिपरिरहेका छैनन् ।

पहिलो पटक टिकट पाएका कांग्रेस नेता देवराज चालिसे भन्छन्, ‘कसैले पनि दुई पटकभन्दा बढी उठ्न पाउनुहुँदैन । काम गर्नेले दुई पटकमा धेरै कुरा गर्न सक्छ । क्षमतावान व्यक्तिले अवसर पाउनुपर्छ । त्यसैले म आˆनो क्षमता, पहिलो पटकको ऊर्जाको यहाँको विकास र समृद्धिमा लगाउनु चाहन्छु ।’

त्यसको प्रतिवादमा अधिकारीको भन्छन्, ‘मलाई भोट देउ भन्दैमा, कराउँदैमा केही हुँदैन । भोट पाउनु मतदाताको मन जित्नुपर्छ । दुई पटकभन्दा बढी उठ्न नपाउने कुरा मतिर होइन्, उहाँले आफ्नै पार्टीको नेता रामचन्द पौडेललाई किन भन्नुहुन्न ? शेरबहादुरजीलाई किन भन्नुहुन्न ?’

कास्कीमा अधिकारी र चालिसेको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । दुई पटकसम्म संविधानसभाको निर्वाचन जितेका अधिकारी यसपाली हृयाट्रिक गर्ने दाउमा छन् भने चालिसे इन्टी मार्न ।

‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ तर, दुश्मनी हुँदैन,’ उनले भने, ‘त्यसै कारण कसैले कसैलाई गालीबेइज्जत गर्न जरुरी छैन ।’

‘देशमा कांग्रेसले धेरैपटक बहुमतको सरकार बनायो, स्थिरता दिन सकेन,’ अधिकारीले भने, ‘अहिले जनता र कांग्रेसका असल कार्यकर्ताले एकपटक वाम गठबन्धनले बहुमतको सरकार बनाओस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।’

कांग्रेस उम्मेदवार चालिसे प्रतिस्पर्धा र दुश्मनीभन्दा पनि एकपटक सबैले आवसर पाउनुपर्ने बताउँछन् । ‘जनता कुनै पार्टीको पेवा होइनन् । एउटै स्वाद होइन, विकासको फरक स्वाद जनताले चाहेका छन्,’ उनले भने, ‘हाम्रा एजेन्डा सबै जनता समक्ष पुर्‍याउनुछ । चुनाव हामी जित्छौं ।’

चालिसे र अधिकारी दुवै विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिबाट स्ववियु सभापति हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

रुपान्तरणका लागि कम्युनिष्ट सरकारः खगराज अधिकारी

वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगराज अधिकारी सामाजिक र आर्थिक रुपान्तरणका लागि नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको बताउँछन् ।

एमाले सल्लाहकार परिषद्का उपाध्यक्ष समेत रहेका अधिकारीले युवा स्वरोजगार, सामाजिक सुरक्षा भत्ता, आˆनो गाउ आँफै बनाउ अभियान र उज्यालो नेपाल जस्ता कार्यक्रम लागु गर्न नेपालमा

कम्युनिस्ट सरकारको विकल्प नरहेको बताए । उनले तालहरुको संरक्षण र व्यवस्थित बस्ती विकास र बेरोजागरीको अन्त्य यस क्षेत्रको पहिलो आवश्यकता भएको बताए ।

राम्रा योजना कार्यान्वयनका लागि पैसाको अभाव नहुने भन्दै अधिकारीले यस क्षेत्रमा लगानीकर्ताको सम्मेलन गरेर ठूलाठूला लगानी गर्न सकिने विश्वास व्यक्त गरे । उनलेे वाम गठवन्धन कसैप्रति लक्षित नभएर नेपालको गरिबी, अशिक्षा र बेरोजगारीको विरुद्ध भएको बताए ।

सम्पूर्ण समस्याको समाधान गर्न कांग्रेसलाई भोटः यज्ञबहादुर

कास्की क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका यज्ञबहादुर थापाले जनताको समस्या आफ्नो समस्या भएको बताएका छन् ।

लामो राजनीतिक यात्राको क्रममा जनताको हरेक समस्यालाई आफूले प्रत्यक्ष रुपमा भोगेको उल्लेख गर्दै उनले भने, ‘यहाँ जनताको समस्यालाई बुझ्ने भनेकै कांग्रेसले मात्र हो । कम्युनिस्टहरु त आफ्नो अभिष्ट पुरा गर्नका लागि मात्रै लागिरहेको अहिलेको यथार्थ छ ।’

उपलब्धी जोगाउन कांग्रेसलाई मतः शर्मा

कास्की क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुक्रराज शर्माले लामो समयसम्मको उतारचढाव पश्चात राष्ट्रले प्राप्त गरेको उपलब्धिको रक्षाका लागि कांग्रेसलाई मत दिनुको बिकल्प नरहेको बताए ।

मतदाताहरुसँग आग्रह गर्दै नेता शर्माले बिगतमा कांग्रेसले नेतृत्व गरेका बिभिन्न आन्दोलनले सफलता हाँसिल गरेको स्मरण गराउँदै यसपालीको चुनावमा पनि नेपाली कांग्रेसलाई मत दिनका लागि अपिल गरे । उनले अहिलेको चुनाव कांग्रेसका लागि लोकतन्त्रको रक्षाको आन्दोलननै भएकोले पनि यस आन्दोलनमा सहभागी भई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

उनले यसपालि कांग्रेसले जित्नैपर्ने वाध्यात्मक परिस्थिति आएको भन्दै कांग्रेसले नजिते देश अफ्ठेरो परिस्थितिमा पर्ने बताए ।

जनताका समस्या सूचीकृत गरेका छौंः जगत

वाम गठबन्धनका उम्मेदवार जगत विश्वकर्माले जनताको घरदैलोमा पुगेर भोट मात्र नमागी आफूहरुले जनताका विकास निर्माण लगायतका साना ठूला समस्याहरुलाई पनि सूचीकृत गरेको बताउँछन् ।

‘जनताको घरदैलोमा हामी भोट माग्नमात्रै गएका छैनौं, जनाका समस्या सूचिकृत पनि गरेका छौं,’ विक भन्छन्, ‘जनताको असली समस्या सधान गर्न, विकास र समृछिका लागि गम गठबन्धनलाई मतदाताले जिताउनुहुने छ । ‘

विकले आफूले जनताले अवगत गराएका सबै समस्याहरुलाई सूचीकृत गरेको र संघ तथा प्रदेश सरकार बनेपछि समाधान गर्न प्रतिबद्ध रहेको भनाइ राखे । ‘चुनावमा भोट माग्ने अधिकार सबै राजनीतिक दलहरुलाई छ । सबै जनतासँग भोट माग्न जान्छन् । तर हामीले भोट मात्र मागेका छैनौं । जनताका समस्याहरुलाई पनि टिपोट गरेका छौं,’ विकले भने’ जनताका समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गछौं ।’

प्रतिनिधि सभाका उम्मेदवारसँगै प्रदेश सभाका उम्मेदवार पनि मतदाताको घरदैलोमा पुगेर कसरी भोट आˆनो पक्षमा पार्न सकिन्छ भनेर लागिरहेका छन् । क्षेत्रगत हिसाबमा प्रतिनिधि सभाका उम्मेदवार र दुई प्रदेश सभाका उम्मेदवार सँगै भोग माग्न जनताको घर दैलोमा पुगेका छन् ।

कास्की क्षेत्र नम्बर एकको प्रदेशसभा क मा वाग गठबन्धनबाट माओवादी नेता दीपक कोइराला र कांग्रेस नेता जीवन परियार चुनावी मैदानमा छन् भने प्रदेशसभा ख मा एमाले कास्की उपाध्यक्ष मनबहादुर गुरुङ र कास्की कांग्रेस सभापति कृष्ण केसी चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा क मा कांग्रेस नेता गुरु बराल र वाम गठबन्धनबाट एमाले कास्की अध्यक्ष कृष्ण थापा मतदातालाई आआˆनो पक्षमा पार्न चुनावी घरदैलोमा छन् भने प्रदेशसभा ख मा वाम गठबन्धनबाट माओवादी कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ र कांग्रेसबाट विन्दुकुमार थापा चुनावी अभियानमा छन् ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा वाम गठबन्धनबाट माओवादी कास्की सहइन्चार्ज रामजी बराल र कांग्रेसबाट पूर्व सांसद शारदा पौडेल चुनावी भीडन्तमा छन् भने प्रदेशसभा ख मा वाम गठबन्धनबाट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी र कांग्रेसका पुराना नेता भोजबहादुर गुरुङ प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment