Comments Add Comment

लमहीमा ट्रक र जीप ठोक्किँदा २ को मृत्यु, १० घाइते


२६ कात्तिक, देउखुरी । दाङ देउखुरीको लमही नगरपालिकामा अाइतबार बिहान ट्रक र जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ४ ख ७५५५ नम्बरको ट्रक र भालुबाङबाट लमही आउँदै गरेको ना १ ज १३४५ नम्बरको जीप लमही नगरपालिका १ नर्तीमा ठोक्किएका हुन् ।

दुर्घटनामा राप्ती गाउँपालिका ५ निवासी ३६ वर्षीया रामपती चौधरी र घोराही अम्बापुर निवासी २५ वर्षीया गंगा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ भने ५ जनालाई थप उपचारको लागि बुटवल अस्पताल रिफर गरिएको छ ।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुमा एकजनाको मृत्यु

यसैबीच कपिलवस्तुमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्यूठानबाट भैरहवा जाँदै गरेको रा १ च ६५५ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु ३० प ५२५३ नम्बरको मोटरसाइकल शुद्धोधन गाउँपालिका-६ तितिरियामा शनिबार साँझ ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको कोटिवामायी गाउँपालिका-५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

– शिवु खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment