Comments Add Comment

कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै

जम्बो भ्रमण टोलीलाई परराष्ट्रले दियो स्वीकृति

फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएर्इ) को भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिँदैछ ।

राष्ट्रपति भण्डारीको विदेश भ्रमणले सरकारी ढुकुटीमा त घाटा लाग्ने छ नै, अहिलेसम्म नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिमा समेत यसले धक्का दिने सम्भावना देखिएको छ । कतारले दिएको निम्तो अस्वीकार गर्दै राष्ट्रपतिले युएईको भ्रमण रोजेकी छिन् र यसबाट खाडी मुलुकको द्वन्द्वमा नेपाल अनावश्यक रुपमा विवादमा तानिने त्रास बढेको कूटनीतिक क्षेत्रमा टिप्पणी हुन थालेको छ ।

राष्ट्रपति भण्डारीको युइए भ्रमणबारे परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असहमत रहेको बाहिर चर्चा चले पनि परराष्ट्र मन्त्रालयले भ्रमणमा सहमति जनाइसकेको छ ।

यसैवीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुने र यसले दुई देशवीचको सम्बन्धलाई सुमधुर बनाउने बताएको छ ।

स्रोतका अनुसार यसअघि नै कतारले राष्ट्रपति भण्डारीलाई विदेश भ्रमणको निम्तो दिएको थियो । तर, युएई लगायत चारवटा खाडी राष्ट्रले कतारमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्थामा नेपालका राष्ट्र प्रमुख विवादमा मुछिनु हुँदैन भन्दै भण्डारीको कतार भ्रमण रोकिएको थियो ।

कतारले भ्रमणको निम्तो दिएको थाहा पाएपछि युएईले पनि राष्ट्रपति भण्डारीलाई निम्तो दियो । गत मंगलबार मात्रै युएईका राजदूतले शीतलनिवासमा भेटेर अबुधाबीका राजकुमारको निम्तोपत्र राष्ट्रपति भण्डारीलाई बुझाए । त्यसको एक साता पनि नबित्दै राष्ट्रपति भण्डारी २६ जनाको जम्बो टोलीसहित युएई जान तयार भइन् ।

अनावश्यक भ्रमण


परराष्ट्र मन्त्रालयकै अधिकारीहरु अहिलेको समयमा राष्ट्रपतिको यएई भ्रमण आवश्यक नरहेको बताउँछन् । त्यसमा पनि २६ जनाको टोली विदेश शयरमा जानु खर्चका दृष्टिकोणले पनि अनुचित रहेको ती अधिकारीको भनाइ छ ।

अरब मुलुकहरुबीच तनाव बढिरहेका बेला नेपालको राष्ट्रपतिबाट हुन लागेको भ्रमणलाई राम्रो मानिएको छैन । कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका बेला हुन लागेको यो भ्रमणलाई राष्ट्रपतिको विदेश घुम्ने मोहको रुपमा टिप्पणी हुन थालेको छ ।

तथापि नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा राष्ट्रपति भण्डारी युएई जान लागेको बताइएको छ ।

राष्ट्रपतिको २६ सदस्यीय भ्रमण टोलीमा छोरी निशाकुसुम भण्डारी, सवारी मन्त्रीका रुपमा आपूर्तिमन्त्री जयन्त चन्द, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मदनकुमार भट्टराई, सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा लगायत २६ जना छन् ।

युएईमा के छ कार्यक्रम ?


युएई भ्रमणमा राष्ट्रपतिको खासै एजेण्डाहरु छैनन् । सोमबार त्यहाँ पुगेपछि मंगलबार उनले दुबईका युवराजसँग भेटवार्ता गर्नेछिन् । दुबईपछि अबुधाबीका भाइस प्रसिडेन्टसँग भेट गर्ने कार्यक्रम छ ।

साथै मंगलबार सरकारी अधिकारीहरुले दुईपक्षीय भेटघाट गर्नेछन् भने राष्ट्रपतिले युएईमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपति भण्डारीले युएईबाट फर्केपछि खाडी राष्ट्र र नेपालवीचको सन्तुलन मिलाउन कतारको समेत भ्रमण गर्न सक्ने शीतलनिवास स्रोतले अनलाइनखरबलाई बतायो ।

यो पनि पढ्नुहोस् 
राष्ट्रपतिको सवारी रुट थाहा पाउनुस्, जामबाट जोगिनुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment