२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ ।
नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो ।
नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ ।
भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् ।
सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको जानकारी प्राप्त भएको प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ’, प्रजिअ खडकाले भने ।
गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया 4