Comments Add Comment

फेरिएका प्रचण्डः ‘रियलाइजेसन’को फेजमा

प्रचण्डपथदेखि मदन भण्डारीको बहुदलीय जनवादसम्म

२८ कात्तिक, चितवन । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवास भरतपुर-१४, शिवनगरमा चितवन जिल्लाबाट राष्ट्रिय सञ्चारमाध्यममा प्रतिनिधित्व गर्ने पत्रकारसँग भेटघाट गरे ।

पत्रकारसँगको भेटमा उनले अबको राजनीतिक लाइन र कार्यदिशाका बारेमा केही बोले, जुन कुराले उनमा आएको परिवर्तन र ‘रियलाइजेसन’को झल्को प्रस्ट दिन्थ्यो ।

‘प्रचण्डपथ’देखि बहुदलीय जनवादसम्म !

प्रचण्डले अब सिद्धान्तको मात्रै पछि लागेर जनता र राष्ट्रको प्रगति हुन नसक्ने स्पष्टरुपमा बताए । मदन भण्डारीकै विचारलाई पछ्याउँदै उनले भने- ‘मान्छेका लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।’

प्रचण्डपथको ‘वीथ ड्र’ लाई उनले यसमै लगेर जोडे ।

शान्तिपूर्ण प्रतिस्पर्धाबाट देशमा समाजवाद ल्याउन सम्भव भएकाले यसमै टेकेर नेपालमा आर्थिक समृद्धि ल्याउन सकिने प्रचण्डको अठोट छ । सिद्धान्त मिलाउँदै जान सकिने तर समृद्धिको साझा एजेण्डामा सबै समाहित हुनुपर्ने उनको तर्क छ ।

बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाउँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाउँ

एमाले र माओवादीवीचका राजनीतिक एवं वैचारिक भिन्नता, कार्यशैली र दृष्टिकोण पार्टी एकताका लागि तगारो बन्ने त होइनन् ? पत्रकारहरुको यस्तो जिज्ञासामा प्रचण्डले भने- ‘राष्ट्रको समृद्धि र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै जानुपर्छ । बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाउँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाउँ, यो नै बढी राष्ट्रको हितमा हुन्छ ।’

‘एमाले र माओवादीका साझा मुद्दा र एजेण्डा मार्क्सवाद-लेनिनवाद दुवै पार्टीको मिल्ने सिद्धान्त हो । समाजवाद अबको साझा उद्देश्य हो’ प्रचण्डले थपे ।

‘अबको १० वर्ष समृद्धिमा लाग्छु’

सक्रिय राजनीतिक जीवनको उत्तारार्द्धतर्फ अघि बढिरहेका प्रचण्डले अबको १० वर्ष देशलाई समृद्धितर्फ लैजान समय खर्च गर्ने बताए । विध्वंस, अस्थिरता र संक्रमणकालका विभिन्न १० वर्षे अवधि देश र जनताले भोगेकाले अब चुपचाप १० वर्ष देशको विकास र समृद्धिका लागि लाग्नुपर्ने प्रचण्डको तर्क छ ।

प्रचण्डले आफैंलाई जोडेर भने- ‘राजनीतिमा लागेपछि १० वर्ष विचार र संगठन निर्माणमा लागें, अर्काे १० वर्ष गणतन्त्र र शान्ति प्रक्रियामा बित्यो । अबको दश वर्ष देशलाई समृद्धितर्फ लैजान लगाउने सोच बनाएको छु ।’

नेपाली राजनीतिमा ‘युर्टन’ गर्न सिपालु प्रचण्डले कांग्रेससँग मिलेर सत्ताको नेतृत्व मात्रै लिएनन्, झण्डैझण्डै धरासयी बन्दै गएको पार्टीलाई केही जोगाए । यो प्रचण्डका कारणले मात्रै सम्भव थियो । सत्तामा बसेर केही राम्रा कामसमेत गरेर उनले पार्टीसँग भड्किएका जनतालाई ‘विचार गर्ने’ ठाउँसम्म पुर्‍याए । यो मौका नपाएको भए उनको पार्टीको विजोग हुनेवाला नै थियो ।

प्रचण्डले सत्ता समीकरण मात्रै नभई स्थानीय तहको निर्वाचनमा कांग्रेससँग मिलेरै भए पनि पार्टीको लज्जास्पद हारलाई केही भरथेग गरेर जोगाए । यसको ज्वलन्त उदाहरण भरतपुर महानगरपालिका नै छ । भरतपुर १३ को वडाध्यक्षसहितको प्यानल बाहेक माओवादीले कहीँ पनि प्यानल जितेको छैन । तर, कांग्रेसकै बैशाखी टेकेर भए पनि उनले देशका ३०/३५ ठाउँमा एमालेलाई हराए ।

अहिले फेरि कांग्रेससँग पनि सम्वन्ध विच्छेद गर्दै उनी एमालेसँग नै मिलेर वाम गठवन्धन र पार्टी एकता गर्ने तहमा आइसकेका छन् । प्रचण्ड अब एमालेसँग पार्टी एकता नै गरेर ठूलो कम्युनिष्ट पार्टीकै काखापोल्टामा बाँकी दशक बिताउन चाहान्छन् भन्ने देखिन्छ ।

बाँकी जीवन चितवनलाई ?

उम्मेदवारी दर्ताको दिन (कार्तिक १६ गते भरतपुरको आमसभामा) प्रचण्डले भने- ‘सुरक्षित जिल्ला र निर्वाचन क्षेत्र हुँदाहुँदै तँ चितवन नजा, घेरावन्दीमा पारेर सवै मिलेर हराउँछन्, तर खै किन हो, मनमा चितवन नै जान्छु भन्ने लाग्यो र आएँ ।’

प्रचण्डले त्यतिमात्रै भनेनन्, अगाडि थपे ‘मलाई जसले हुर्कायो, जसले राजनीतिक रुपले प्रशिक्षित गर्‍यो जहाँका जनताले अगाडि बढ्न प्रेरित गर्‍यो म यसपटक चितवन नै जान्छु भनेर आएँ ।’

सम्वोधनका क्रममा प्रचण्डले आफू उत्तरार्द्धमा पुग्दै गर्दा चितवनबाटै चुनाव लड्ने विचार पलाएको भावनात्मक अभिव्यक्ति दिए । उनले चितवनका जनताले हराए पनि आफूलाई स्वीकार्य भएको बताए । उनको यो अभिव्यक्ति र भनाइबाट के कुरा प्रस्ट हुन्थ्यो भने, दिनभरि चारो खोज्न हिँडेको चखेवा अन्नतः साँझ गुडमा नै र्फकन्छ ।

जीवनको उत्तरार्द्धमा अघि बढ्दै गरेका प्रचण्ड ६१ बर्षका भए । अब उनको सक्रिय राजनीति मुस्किलले १ दशक बाँकी होला । तर, यतिका बर्षसम्म राजनीति गर्दा पनि चितवनका लागि खास केही गर्न नसकेको गहिरो अनुभूति उनले यसपटक राम्रैसँग गरेको देखिन्छ ।

प्रचण्डमा पछिल्लो समयदेखा परेका केही व्यवहारिक परिवर्तनहरुले यही विषयको छनक दिन्छ ।

अघिल्ला बर्षहरुमा दशैंमा टीका समेत नलगाउने प्रचण्डले यसपटक दशैंमा टीका मात्रै लगाएनन्, एमालेसँग मिलेर वामपन्थी गठवन्धन बनाउने र पार्टी एकता गर्नेसम्मको निर्णय गराउन पुगे ।

झटट् सुन्दा अस्वाभाविक जस्ता लाग्ने यी व्यवहारका पछाडि प्रचण्डको उत्तारार्द्धको जीवनको प्रस्थानले काम गरेको पक्कै छ ।

भीषण युद्धलाई शान्तिपूर्ण रुपान्तरण गरेर जस लिएका प्रचण्ड अब आफ्नो जीवनकालमा नै एउटै कम्युनिष्ट पार्टी बनाएर सक्रिय राजनीतिबाट विश्राम लिने योजनामा छन् भन्दा खासै हतारो नहोला । राजनीतिक हिसावले पनि यसपटकको निर्वाचन जित्दा र हार्दा प्रचण्डको जीवनमा यसले ठूलो अर्थ राख्छ । त्यसैले उनले भनेका छन् ‘हराए पनि तपाई (चितवनवासी) कै पोल्टामा ।’

खुल्ला राजनीतिमा ०६३ सालदेखि प्रवेश गरेका प्रचण्ड र त्यसको दश बर्षपछिका प्रचण्डको शारीरिक स्वरुपदेखि धेरै कुराहरुमा परिर्वतन देखिएका छन् । प्रचण्डका लागि यसपछिको अर्को एक चुनावमात्रै राजनीतिक जीवनको अन्तिम अवसर बन्नेछ । यसपटक निर्वाचन जिते उनी अझै केही वर्ष नेपालको राजनीतिको केन्ऽमा नै रहनेछन् । हारे भने उनका लागि चुनावी राजनीतिको अध्याय करिव-करिव बन्द हुने जोखिम छ ।

रोल्पा र काठमाण्डौंबाट ०६४ सालको संविधानसभा निर्वाचन जितेका प्रचण्ड ०७० सालको संविधानसभा निर्वाचनमा आउँदा काठमाण्डौं १० मा तेस्रो भए भने सिराहाबाट लगभग पराजयको नजिकबाट बचे । त्यसकारण चितवनको यो निर्वाचन उनका लागि विशेष महत्वको छ ।

संविधानसभाबाट संविधान जारी भएपछि हुन गइरहेको पहिलो निर्वाचनमा उम्मेदवार भइरहँदा जित्नैपर्ने दबावमा छन् प्रचण्ड । अहिले दुई ठाँउबाट निर्वाचन लडन नपाउने कानुनी व्यवस्थाका कारण झनै उनीमाथि ‘प्रेसर’ थपिएको छ ।

प्रचण्डलाई पिरोल्ने जोखिमहरु

प्रचण्ड उठेको निर्वाचन क्षेत्र ३ माओवादी पार्टी तेस्रो भएको ठाउँ हो । जहाँ, एमाले र कांग्रेसजस्ता बलिया पार्टीहरु छन् । एमालेको मतमा पूर्णयता आश्रति बनेका प्रचण्डलाई सायद यही कुराले राम्रोसँग निदाउन दिएको छैन ।

भरतपुर महानगरको निर्वाचनमा एमालेलाई वेस्सरी चिढ्याएको माओवादीले त्यसको ५ महिनापछि हुन लागेको निर्वाचनमा एमालेलाई फकाउनुमात्रै छैन, पूराका पूरा एमालेको मत आफूतिर खसाल्नु छ । प्रचण्डको मनमा जित्ने नजित्ने दुविधा बेस्सरी नै छ । यद्यपि चितवनका केही बसाई र खटाइपछि उनको आत्मवल केही बढेको देखिन्छ ।

चितवनको यो क्षेत्र आफ्ना लागि सुरक्षित छैन भन्ने कुरा जान्दा जाँदै पनि प्रचण्ड चितवन आए । चितवनमै हुर्किएको, बढेको, खेलेको र राजनीतिक जीवन यहीँबाट शुरु गरेकाले यहाँका जनताले अविश्वास नगर्ने र विश्वास गरेर नै आएको प्रचण्डको बुझाइ छ ।

चितवनका जनताले हराए भने स्वीकार्छु भन्नुको अर्थ उनी जनतामाथि मतका लागि दवाब बढाइरहेका छन् ।

चितवनको निर्वाचन क्षेत्र नः ३ मा माओवादीको पार्टी संगठन मूलतः कमजोर छ । कांग्रेसको बलियो पकड क्षेत्र र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेको पनि प्रभाव क्षेत्र यहीँ छ । उनीहरु गठवन्धनमा छन् ।

माओवादी केन्द्रसँग तालमेल गरेको एमाले पनि कांग्रेसको ‘नेक टु नेक’को अवस्थामा छ । यद्यपि प्रचण्ड त्यति ढुक्क बन्न सकेका छैनन् । चितवनमा ३ मा मूलतः पहिलो र दोस्रो भनिने पार्टीका उम्मेदवारहरु मैदानमा छैनन् प्रतिनिधिसभाका लागि । पहिलो पार्टी कांग्रेसले चोथो पार्टी राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवारलाई समर्थन गरेको छ ।

त्यस्तै, दोस्रो पार्टी एमालेका मतदाताले तेस्रो पार्टी माओवादीका लागि मत दिनुपर्ने हुन्छ । तर, माओवादीका अध्यक्ष नै उठ्ने भएपछि उनको ‘हेभिवेट’ को प्रभाव स्वतः पर्नेछ ।

ठूला पार्टीका आफ्नो उम्मेदवार नै नभएपछि मतदाताहरु तरल बन्छन् । एकढंगले भन्दा स्वच्छन्द जस्तो पनि । ०५६ सालदेखि चुनावमा उठ्न थालेका पाण्डे तेस्रो प्रयासमा ०७० सालमा विजयी भए । ‘क’ वर्गका निर्माण व्यवसायी पाण्डेले सो क्षेत्रमा ‘विकासवादी नेता’ को छवि बनाएका छन् । माओवादीले गठबन्धन तोडेर गएको रीस पोख्न पनि कांग्रेसी मतदाताले विक्रम पाण्डेलाई मत दिने धेरैको अनुमान छ ।

स्थानीय चुनावको मतलाई आधार मान्दा चितवन क्षेत्र नं ३ मा कांग्रेस-राप्रपाभन्दा एमाले र माओवादीको गठबन्धन ७ हजार मतले अगाडि देखिन्छ । स्थानीय चुनावपछि यस क्षेत्रमा ७ हजार ८ सय मतदाता थपिएका छन् । यो तथ्याङ्कले दाहाललाई राहतसम्म दिन्छ । तर ढुक्क हुन सक्ने अवस्था देखाउँदैन । एमालेले आफूलाई कति प्रतिशत देला ? यो उनको चिन्ताको विषय पक्कै बनेको छ ।

एमालेको बैशाखीमा उभिनुपर्ने वाध्यता छ प्रचण्डलाई । स्थानीय तहको निर्वाचनमा एमालेसँग गठवन्धन गरेको भए उनका लागि आज सहज हुने थियो ।

प्रचण्डकै भनाइलाई मान्ने हो भने विगतको तीक्तता हार्दिकतामा बदलिन थालेको छ । उनी भन्छन्- ‘नेताहरुका वीचमा खास समस्या छैन, हामी सबैजना मिलेर नै चुनावी अभियान अघि बढाएका छौं, वीचमा मझौला कार्यकर्ता र कतिपय केही नेतामा अझै यस्ता असजिलाहरु छन्, विषेश गरी एमालेभित्र ।’

हो, एमालेभित्र अझै पनि केही आशंका छन् । रेणुलाई जिताउन जसरी कांग्रेसहरुले हिजो लागे र आज पछुताउँदैछन्, भोलि एमालेका लागि पनि त्यो दिन नआउला भन्ने ग्यारेन्टी के छ ? यो कुरा बुझेका प्रचण्डले सभाहरु मार्फत एमाले पंक्तिलाई आश्वस्त बनाउन बल गरिरहेको देखिन्छ ।

मदन भण्डारीसँग पार्टी एकता हुन थालेको, एमालेसँग अब निर्वाचन लगत्तै पार्टी एकता भै हाल्ने जस्ता विषयहरु कलात्मक र भावनात्मक रुपमा पस्किएर एमालेको सेन्टिमेन्ट आफूतिर तान्ने प्रयास प्रचण्डले गरेका छन् ।

विगतमा मदन भण्डारीसँग वार्ताका लागि आफू तयार रहेको र जेठ ११ गते ‘डिनर बैठक’को तयारी भइरहेका बेला जेठ ३ मै भण्डारीको निधन भएको भन्दै भन्दै प्रचण्डले आफू पहिल्यैदेखि एमालेसँग जोडिन चाहेको बताएका छन् ।

प्रचण्डविरुद्ध जनमत भड्काउन लागि उनका विपक्षीलाई यो निर्वाचन क्षेत्र सबैभन्दा सजिलो छ । किनकि यही निर्वाचन क्षेत्रमा बाँदरमुढे घटना भएको र गत स्थानीय निर्वाचनको मतगणनामा मतपत्र च्यातिएको भरतपुर यही निर्वाचन क्षेत्रमा पर्छ ।

बाँदरमुढे घटनाका पीडितहरुलाई कुनै न कुनै रुपमा सम्वोधन गरेर अगाडि बढ्न चाहान्छन् प्रचण्ड । त्यसका लागि उनले उचित मौका खोजिरहेका छन् । पीडितहरुलाई विश्वासमा लिएर सहमतिमा ल्याउनु प्रचण्डका लागि ठूलो राजनीतिक जीत हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment