Comments Add Comment

भक्तपुर १ मा विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धा

२८ कात्तिक, भक्तपुर । आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धा हुने भएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेले यसपटक चुनाव लडेका छैनन् ।विजुक्छेले सचिव प्रेम सुवाललाई उठाएपछि यस क्षेत्रको प्रतिस्पर्धामा अन्य दल उत्साहित भएका हुन् ।

बिजुक्छेको व्यक्तित्वका कारण नेमकिपाले चुनाव जित्दै आइरहेको र यसपटक उनी नहुँदा हुने प्रतिस्पर्धामा आम मतदाताको पनि चासोको विषय बनेको छ । बिजुक्छेले यस क्षेत्रको भक्तपुर नगरभित्र धेरै सुधारका काम गरे पनि भक्तपुर नगर बाहिरको क्षेत्रमा केही गर्न नसकेको आरोप पनि उत्तिकै छ । भक्तपुर नगर उनको जन्मथलो पनि हो ।

पञ्चायतकालमा चुनावलाई जनताको पक्षमा उपभोग गर्ने नेमकिपाको नीतिअनुसार २०३९ र २०४४ वडाध्यक्षमा चुनाव जितेका पार्टी सचिव सुवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख बने ।

२०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका सुवालले रूपान्तरित संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरे। उनी नगर प्रमुख हुँदा नेपालमै पहिलो पटक नगरपालिकाबाट विद्यालय सञ्चालनको कार्य गर्नुका साथै न्यूनतम शुल्कमा कलेजसमेत सञ्चालन गरेर स्थानीय जनतालाई शिक्षा आर्जनको अवसर दिइएको थियो ।

राज्यबाट शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने नेमकिपाले माग गरेपनि उक्त नगरपालिकाले सञ्चालन गरेको विद्यालय र कलेजमा शिक्षा निःशुल्क भने हुन सकेको छैन ।

फेरि पनि संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्न आफ्नो उम्मेदवारी रहेको चर्चा गर्दै उम्मेदवार सुवालले भने, ‘विगतमा देश र जनताका भावनाअनुसार गरेको कामको मूल्यांकन गर्दै जनताले नै फेरि एकपटक जनताको सेवा गर भनेकाले देश र जनताका लागि नै मेरो उम्मेदवारी हो ।’

पार्टी अध्यक्षले लगातार पाँच पटक चुनाव जितेर यस क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप यसपटक भक्तपुर १ का मतदाताले आफूलाई जिताउने उनको विश्वास छ । सुवालले भने, ‘नेमकिपा मात्र एउटा यस्तो पार्टी हो, जसले देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको रक्षाको निम्ति लडेको छ । संसद्मा आवाज उठाएको छ । हाम्रो यही भूमिकाको मूल्यांकन नै नेमकिपालाई विजयी गराउने आधार हो ।’

कांग्रेसले भक्तपुर १ मा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई उठाएको छ । नेपाल कानून आयोगका अध्यक्षसमेत भइसकेका जोशी जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता पनि हुन् ।

मुलुकमा धेरै अघि लोकतन्त्र आए पनि लोकतान्त्रिक आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको भक्तपुरमा अझै एक दलीय व्यवस्था समाप्त हुन नसकेको जिकिर गर्दै त्यसैको अन्त्यको लागि आफ्नो उम्मेदवारी भएको जोशीले बताए । राप्रपा प्रजातान्त्रिकको पनि समर्थन रहेकाले भक्तपुर १ मा नेमकिपाको किल्ला भत्किने जोशीको दाबी छ ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा भएको सहमतिअनुसार भक्तपुर क्षेत्र नं १ मा माओवादी केन्द्रका मिलन सुवाल पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुरमा विद्यमान वर्ग विभाजनको अन्त्य गरी समतामूलक समाज निर्माण, किसान वर्गको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

२०७० को संविधानसभा निर्वाचनमा नेमकिपाका बिजुक्छेले २० हजार ४४६, कांग्रेस कृष्णलाल भँडेलले १२ हजार ८२६, एमालेका रञ्जु नापितले ५ हजार ६६८, माओवादीका सानु सुवालले ६ हजार २१६ र राप्रपाका रवीन्द्र प्रताप शाहले ४ हजार ४५८, राप्रपा नेपालका माधव खत्रीले दुईहजार ६४३ मत प्राप्त गरेका थिए ।

भक्तपुरमा यस पटक क्षेत्र निर्धारण गर्दा विगतको सिमाना हेरफेर गरिएको छ । यसअघि भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको आधा भाग यस क्षेत्रमा रहेकोमा यसपटक मध्यपुर थिमि क्षेत्र नं २ मा पारेको छ भने यसअघि क्षेत्र नं २ मा रहेको भक्तपुर नपाको भाग यस पटक क्षेत्र नं १ मा सारेको छ भने यस क्षेत्रमा चाँगुनारायण नगरपालिका छ ।

स्थानीय तहको निर्वाचनको मतलाई विश्लेषण गर्दा यस क्षेत्रमा नेमकिपाको ३० हजारभन्दा बढी मत छ भने नेपाली काँग्रेसको १४ हजार ५००, नेकपा एमालेको १३ हजार, राप्रपाको छ हजार, माओवादीको तीन हजार मत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment