Comments Add Comment

मन्त्री पाउने कास्कीको भाग्यमानी क्षेत्र, जहाँ अहिले पनि हुँदैछ दुई मन्त्रीको भीडन्त

कास्कीले पाएका पाँच मन्त्रीमध्ये चार जना क्षेत्र नम्बर १ कै


२९ कात्तिक, पोखरा । कास्की–१ त्यस्तो भाग्यमानी निर्वाचन क्षेत्र हो, जसले हालसम्म चार जना मन्त्री पाइसकेको छ । तीमध्ये तीन जना त कानुन मन्त्री बने ।

अन्य क्षेत्रले हालसम्म एक मन्त्रीसँगै राज्य र सहायक मन्त्री मात्र पाएका छन् ।

२०४८ सालको निर्वाचनमा कास्की–१ बाट विजयी भएका तारानाथ रानाभाट कानुन मन्त्री भए । ०५६ मा फेरि निर्वाचित भएका उनी सभामुखसमेत बने ।

माओवादी शान्तिप्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा उक्त पार्टीका नेता देव गुरुङले कास्की–१ बाट निर्वाचित भएका थिए । र, उनी पनि त्यसलगत्तै गठित सरकारमा कानुन मन्त्री बने । उनी यसपटक भने लमजुङबाट उम्मेदवार बनेका छन् ।

कास्की–१ बाट निर्वाचित नभए पनि एमाले नेता खगराज अधिकारी ०७२ सालमा केपी ओलीको नेतृत्वको नौ महिने सरकारका स्वास्थ्यमन्त्री बने । उक्त क्षेत्रबाट दोस्रो संविधानसभामा निर्वाचित कांग्रेस नेता यज्ञबहादुर थापा अहिलेका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुन् ।

अखण्ड नेपाल पार्टीबाट समानुपातिक सांसद बनेका कुमार खड्काले यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेका थिए । खड्का क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन् । र, क्षेत्र नम्बर १ भन्दा बाहिरबाट मन्त्री बन्ने एक्ला नेता हुन् उनी ।

विगतमा तीन निर्वाचन क्षेत्र रहेको कास्की ०६४ र ०७० मा चार तथा अहिले फेरि तीन वटामा विभाजित छ ।

आसन्न निर्वाचनमा दुई ‘हेभिवेट’ नेता तथा पूर्व र बहालवाला मन्त्री प्रतिस्पर्धामा छन् । र, निर्वाचित हुनेमध्येका एक फेरि मन्त्री बन्ने आशा जिल्लावासीको देखिन्छ ।

रोचक इतिहास र प्रतिस्पर्धा

उक्त क्षेत्रमा यसपटकको निर्वाचन पनि कम चाखलाग्दो छैन । वाम गठबन्धनबाट एमाले नेता तथा पूर्वस्वास्थ्यमन्त्री अधिकारी र हालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै नेता दोस्रो पटक चुनाव जित्ने दाउमा छन् । कानुन मन्त्री थापा ०७० सालको निर्वाचनमा हालको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलाई दुई सय ७२ मतले पराजित गर्दै सांसद बनेका थिए । ०६४ सालको पहिलो संविधानसभामा भने उनी क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।

हाल थापाका प्रतिस्पर्धी अधिकारी ०६४ मा माओवादी नेता देव गुरुङका निकटतम प्रतिद्वन्द्वी थिए ।

थापा तेस्रो पटक चुनावी मैदानमा छन् भने अधिकारी पाँचौं पटक । जसले जिते पनि दुवै दोस्रो पटक निर्वाचित हुने हुन् ।

अधिकारी ०४८ सालमा कांग्रेस नेता रानाभाटसँग १७ सय ३३ मतले पराजित भएका थिए । त्यतिबेला उनी २७ वर्षका मात्र थिए । ०५१ सालको निर्वाचनमा भने अधिकारीले अघिल्लो निर्वाचनको बदला लिए । कांग्रेस नेता रानाभाटलाई १२ सय ५२ मतले पराजित गर्दै संसदको यात्रा तय गरे ।

२०५६ को निर्वाचनमा अधिकारी र रानाभाटबीच अर्को चुनावी प्रतिस्पर्धा भयो । यसपटक रानाभाटले बाजी मारे ।

रानाभाटले ०६४ सालको निर्वाचनमा टिकट पाएनन् र कांग्रेसबाट यज्ञबहादुर थापा उम्मेदवार बने । प्रतिस्पर्धा भने माओवादीका गुरुङ र एमालेका अधिकारीबीच भयो, जित गुरुङको पोल्टामा पर्‍यो  ।

अधिकारीले ०७० मा भने टिकट पाएनन् । अहिले फेरि टिकट पाएका उनी थापासँग दोस्रो पटक लड्दैछन् ।

२०४८ यताका पाँच निर्वाचनमा उक्त क्षेत्रबाट तीन पटक कांग्रेस, एक पटक एमाले र एक पटक माओवादीले जितेका छन् ।

अहिले एमाले–माओवादी गठबन्धनसहित चुनावी मैदानमा होमिएको र स्वास्थ्यमन्त्री हुँदा धेरै राम्रा काम गरेर जनताको मन जितेकाले आफ्नो जीत सुनिश्चित रहेको अधिकारी बताउँछन् ।

जनताको सुख, दुःखमा आफू सधैं साथमा रहेको र गठबन्धनभन्दा पनि जनताले अहिलेको आवश्यकता बुझेर हौसला दिने काम गरेकाले आफ्नै जीत हुनेमा थापा पनि ढुक्क रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment