३० कात्तिक, दाङ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महरा र एमाले स्थायी समिति सदस्य एवं प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क) का उम्मेदवार शंकर पोख्रेलले दाङले विकासको नेतृत्व गर्न थालेको बताएका छन् ।
स्यूजाको बोजपोखरामा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले केन्द्रमा महरा र प्रदेशमा पोख्रेलले विकासको नेतृत्व गर्न थालेकाले दाङका लागि यो महत्वपूर्ण अवसर भएको बताए ।
चुनवपछि बन्ने वाम गठबन्धनको सरकारले पहाडका सडकको विकासमा ध्यान दिने महराले बताए । ‘यहाँका पहाडी गाउँहरुमा विकास हुन सकेको छैन । सडक मुख्य समस्या छ,’ उनले भने, ‘अब हामी सडकलाई प्राथमिकता दिएर पहाडी क्षेत्रको विकास गर्नेछौं । हामी ग्रामिण जनताको विकासलाई प्राथमिकता दिएर काम गर्छौं ।’
पोख्रेलले पनि दाङबाटै प्रदेश प्रमुख बनाउने अवसर नगुमाउन मतदातालाई अनुरोध गरे । दाङले प्रदेश प्रमुख पाउनु गौरवको कुरा भन्दै उनले भने, ‘म प्रदेशको मुख्य मन्त्री हुनेगरी चुनावी मैदानमा आएको छु । म यहाँको विकासको नेतृत्व गर्न आएको छु । यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्यो ।’
उनले केन्द्रीय सरकारमा महरा र प्रदेशमा आफूले नेतृत्व गरेर दाङको विकासमा ठूलो परिवर्तन ल्याउने बताए । ‘स्थानीय सरकार पनि हाम्रै छन् । अब केन्द्र र प्रदेश सरकार प्रमुख छान्ने बेला आएको छ,’ उनले भने, ‘यसप्रति सबै जनता सचेत भैदिनुपर्यो । सही नेता र पार्टी छानेर विकासको जिम्मेवारी दिनुपर्यो ।’
प्रतिक्रिया 4