Comments Add Comment

बाबुरामले भोट माग्दा ‘कांग्रेस मामा’ले भने-विवेक प्रयोग गर्छु

'मामा आर्शिवाद दिनुस् भन्नुभयो, मैले चिरञ्जीवी भनिदिएँ'

३० कात्तिक, गोरखा । नयाँ शक्ति पार्टीका गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई बुधबार साँझ छोप्राकस्थित कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्यौपाने कहाँ पुगे ।

न्यौपाने तीनै हुन्, जसले अघिल्लो साता गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरेर भट्टराईलाई भोट नहाल्ने घोषणा गरेका थिए ।

जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका न्यौपानेलाई भेट्न भट्टराईले छोरी मानुषीलाई पनि पठाएका थिए । तर, न्यौपानेले भोट नदिन अडान लिएपछि आफैं पुगे ।

‘हिजो बेलुका ७ बजेतिर आउनु भएको थियो’ कांग्रेसका पुराना नेता न्यौपानेले अनलाइनखबरसँग भने, ‘मामा आर्शिवाद दिनुस् भन्नुभयो, मैले चिरञ्जीवी भनिदिएँ ।’

ठट्यौली शैलीमा उनले अघि थपे, ‘हिन्दु सस्कारमा आर्शिवाद भनेको त चिरञ्जिवी नै हो नि होइन !

कांग्रेसको समर्थनमा उम्मेदवार बनेका भट्टराईले चुनावी अभियानमा सँगै हिँड्न प्रस्ताव गरेका छन् ।

तर, न्यौपानेले भने स्वास्थ कमजोर छ भन्दै भट्टराईको प्रस्ताव अस्वीकार गरेका छन् । ‘मेरो नैतिकताले पनि दिँदैन भानिज भनेँ, उहाँले बुझ्नु भयो होला,’ उनी भन्छन् ।

केही सुरक्षाकर्मी मात्र लिएर पुगेका भट्टराईले भानिजलाई भोट दिने होइन त भनेका थिए । तर, उनले ‘विवेक प्रयोग गर्छु’ भन्दै कूटनीतिक जवाफ दिएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा भने न्यौपानेले बाबुरामलाई भोट दिन नसक्ने अडान दोहोर्‍याए ।

बाबुराम जनपरिषद्को संयोजक हुँदा गोरखामा धेरैले ज्यान गुमाएको स्मरण गर्दै न्यौपाने भन्छन्, ‘जहाँ गएपनि रुवाबासी छ । त्यो रुवाबासीको बीचमा गएर हामीले उहाँलाई कसरी भोट माग्न सक्छौं ? त्यही भनेर पठाइदिएको छु मैले ।’

यदि रुख चिन्हमै चुनाव लडेको भए बाबुरामले आफूहरुको भोट पाउने सम्भावना रहने उनले सुनाए । सूर्यमा चुनाव लड्न हुने तर, रुखमा किन नहुने ? उनको प्रश्न छ ।

न्यौपानेले पार्टी नेतृत्वप्रति पनि आक्रोस पोखे । ०४८ देखि बाहिरबाट उम्मेदवार पठाएर भोट हाल्न लगाएको भन्दै उनले भने, ‘शेरबहादुरजीले भैंसीसँग गोरु लगाइदिनु भएको छ, गाईसँग राँगा लगाइदिनु भएको छ । कता मिल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment