Comments Add Comment

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव समेत दिए ।

स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यो बेला पनि कम्युनिस्टले जिते बुढाबुढीलाई गोली ठोकेर मार्छ भनेकै हुन् । हामीले सरकार बनाएर बृद्धभत्ता दियौं । राष्ट्रको ढुकुटी रित्यायो भनेर कांग्रेसले नै बिरोध गर्‍यो । मैले २ हजार बनाइदिएँ अब चुनाव जितेपछि बृद्धभत्ता ५ हजार दिने हो । कांग्रेसले टाउको फुटाए पनि बृद्धभत्ता ५ हजार पुग्छ ।’

वाम गठबन्धनले ल्याउन खोजेको कम्युनिस्ट सत्ता भएको पनि ओलीले बताएका छन् । ‘हो हामीले ल्याउन खोजेको कम्युनिस्ट सत्ता नै हो । अब मंसिर २१ पनि देशमा कम्युनिस्ट सरकार बन्छ’ उनले भने, ‘कांग्रेसको लुटतन्त्र रोक्न कम्युनिस्ट सत्ता चाहिएकाले एमाले र माओवादी मिल्नुपरेको हो ।’

ओलीले समय अभावका कारण तत्काल दुई पार्टीबीच एकीकरण हुन नसके पनि चुनावपछि एउटै कम्युनिस्ट पार्टी बन्ने बताए । उनले भने, ‘हामी एउटै सूर्य चिन्हबाट चुनाव लड्न सहमत भएका हौं तर, प्राविधिक कारणले सम्भव भएन । अब केही समयमै एउटै पार्टी हुन्छ, त्यसैले यो ऊ नभनी मत दिनुस् ।’

क्षेत्र नम्बर १ मा नारायण मरासिनी र २ मा पद्मा अर्यालसहित वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै एमाले अध्यक्ष ओलीले आँधीखोलामा हाइड्याम बनाउने बताए ।

उनले भने, ‘आँधीखोलामा हाइड्याम हामी बनाउछौं । पोखरासम्म जाने सुरुङमार्ग निर्माण गर्छौं । वालिङमा प्याराग्लाइडिङ चलाउछौं । भिरकोटको पर्यटन विकास पनि हामी गर्छौं ।’

एमाले अध्यक्ष ओलीले आफूले फाउमा (सित्तैमा) पाएको जिन्दगी नेपाल र नेपालीको सम्बृद्धिमा लगाउन चाहेको भन्दै बहुमतको सरकार निर्माणमा सघाउन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment