Comments Add Comment

धनकुटामा राजेन्द्र राई र सुनिल थापाः विरासत जोगाउने कि संगठन ?

माओवादीको भोट निर्णायक, प्रदेशको राजधानी मुख्य मुद्दा

३० कात्तिक, धनकुटा । हालै सम्पन्न स्थानीय चुनावमा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गर्दै गर्दा धनकुटा जिल्लामा राप्रपाले वडाध्यक्ष मात्र होइन, सदस्य पनि जित्न सकेन ।

वडाध्यक्षमा पाएको मत हिसाव गर्दा राप्रपाको ४ हजार ३७८ छ भने एमालेको मत २६ हजार ६२१ । वाम गठबन्धनमा सामेल माओवादीको मत ११ हजार ९०६ छ भने राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेको कांग्रेसको १५ हजार २८८ मत छ ।

अर्थात दलको मात्रै बेग्लाबेग्लै हिसाव गर्ने हो भने ४३ सय मत लिएर राप्रपा प्रजातान्त्रिकका मन्त्री सुनील बहादुर थापा २६ हजार मत बोकेका एमाले नेता राजेन्द्र राईसँग भिड्दैछ । अर्थात् गठबन्धनका आधारमा भन्ने हो भने साढे १९ हजार मत र साढे ३८ हजार मत वीच प्रतिस्पर्धा हुँदैछ धनकुटामा ।

तैपनि राप्रपा प्रजातान्त्रिकका प्रतिनिधिसभा उम्मेदवार मन्त्री सुनिलबहादुर थापा भन्दैछन्, म चुनाव जित्दैछु !

थापाका प्रतिस्पर्धी राजेन्द्र राई एमाले धनकुटाका अध्यक्ष हुन्, जसलाई स्थानीय चुनावपछि केपी शर्मा ओलीले ‘म्यान अफ दि इलेक्सन’को उपाधि दिएका छन् ।

थापाको सर्मनाक हार हुन्छः राई

वाम गठबन्धनका उम्मेदवार राई भने सुनीलबहादुरसँग आफ्नो प्रतिस्पर्धा नै नहुने दाबी गर्छन् । चुनावी प्रचारमा व्यस्त रहेका राईले अनलाइनखबरसँग भने, ‘सुनिल थापाले ढाँट्न र नक्कली कुरा गर्न सक्छन्, तर, चुनाव जित्न सक्दैनन्, एमालेसँग उनको प्रतिस्पर्धा नै हुन्न ।’

माओवादीको समेत समर्थन पाएका राईले आफू १० देखि १५ हजारको मतान्तरले चुनाव जित्ने दाबी गरे । ‘चुनाव जित्छु भन्ने सुनिलको दाबी गाईजात्रामा म मन्त्री भएँ भनेर फूलको माला लगाएर हिँडे जस्तै हो’ राईले भने ।

यदि कसैले पैसाको बलमा चुनाव जित्छु भन्ने सोचेको भए त्यो दिवासपना मात्र हुने राईले बताए । आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई पैसा छ भन्ने दम्भ रहेको भन्दै राईले अनलाइनखबरसँग भने, ‘जनता विक्री हुन सम्भव छैन, उनको सर्मनाक हार हुन्छ ।’

स्थानीय चुनावमा पाएको भोट, जबरजस्त संगठन र वाम गठबन्धनका कारण चुनाव जित्ने एमालेको दाबीलाई गलत मान्न सकिन्न । तर, एमाले नेता राईका चुनावी प्रतिस्पर्धी सुनिलबहादुर थापाको चुनाव जित्ने विश्वासमा रत्तिभर कमी देखिँदैन ।

एमाले उम्मेदवार राईले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने नारालाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

धनकुटाले चरित्रवान र अनुभवी नेता खोजेको छः थापा

के धनकुटामा थापाको जित सम्भव छ ? छोरा सिद्धार्थसहित चुनाव प्रचारमा व्यस्त थापा भन्छन्, ‘चुनाव जितेर गएपछि मैले मन्त्री हुँदा भूकम्प, नाकाबन्दी जस्ता अप्ठ्यारोमा राष्ट्र र जनताको हितमा काम गरेको छु । जनतालेर् राम्रोसँग बुझेका छन् ।’

थापाले अनलाइनखबरसँग भने- ‘धनकुटाबासीले आफ्नो गुम्न लागेको पहिचान बचाउन सक्ने सक्षम, अनुभवी र चरित्रवान् नेता चाहेका छन् ।’

थापाले धनकुटाको पहिचानका लागि बेलाहारामा एयरपोर्ट बनाउनेदेखि धनकुटालाई प्रदेशको राजधानी बनाउने एजेण्डा अघि सारेको बताए । एमालेका नेताहरुले बिराटनगरलाई प्रदेशको राजधानी बनाउन खोजिरहेको भन्दै थापाले प्रदेशको राजधानी धनकुटालाई बनाउने आफ्नो प्राथमिक एजेण्डा भएको बताए । उनले आफ्नो जित सुनिश्चित भएको दाबीसमेत गरे ।

थापाको दाबी आफ्नो ठाउँमा होला तर, उनको चुनाव जित्ने आधार भनेको धनकुटामा सूर्यबहादुर थापाको विरासत हो । सुनील पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुरका छोरा हुन् । दोस्रो संविधानसभाको पूर्वसंध्यामा राष्ट्रसंघको जागिर छाडेर नेपाल फर्किएका उनलाई पिताले नेपाली राजनीतिमा प्रवेश मात्रै गराएनन्, एक प्रकारले आफ्नो शेखअघि नै स्थापित गरेर गए ।

जनताको घरघरमा जान नसक्ने भन्दै दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष उम्मेदवार नबनेका सूर्यबहादुरले तत्कालीन धनकुटा क्षेत्र नम्बर २ मा छोरा सुनिललाई अघि सारे । र, चुनाव जिताई मन्त्री पनि बनाए । पार्टीमा पनि राम्रै स्थान दिलाए । अहिले सुनिल राप्रपा प्रजातान्त्रिकको महामन्त्री पदमा छन् भने देउवा सरकारमा उद्योगमन्त्री छन् ।

सुनिल थापाले सूर्यबहादुर थापाको विरासतमात्रै बोकेको नभई युएनमा काम गर्दा अन्तरराष्ट्रिय सम्बन्ध समेत बनाएको र उनको व्यक्तित्व राजेन्द्र राईको भन्दा उच्च भएकाले मतदाताले व्यक्तिलाई हेरेर मतदान गर्ने राप्रपा प्रजातान्त्रिकका कार्यकर्ताको दाबी छ ।

नयाँशक्तिको समर्थन थापालाई

नेपाली कांग्रेस र संघीय समाजवादीसँग गठबन्धन गरेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई नयाँ शक्ति पार्टीले पनि समर्थन गर्ने संकेत दिएको छ ।
नयाँ शक्ति पार्टीका नेता घनश्याम राईले भने एमालेभित्रको अन्तरविरोध र राजेन्द्र राईको व्यक्तित्वका कारण उनी कमजोर रहेको दाबी गरे । नयाँ शक्ति पार्टीले लोकतान्त्रिक गठबन्धनलाई सघाउने उनले बताए ।

नयाँ शक्तिले गत स्थानीय चुनावमा धनकुटा नगरपालिकामा एउटा वडाध्यक्ष जितेको छ ।

‘माओवादी निर्णायक’

धनकुटाका पूर्वसभासद हेमराज भण्डारी जिल्लाको चुनावमा माओवादी निर्णायक भएको बताएका छन् । उनले भने- ‘धनकुटाको चुनावमा निणर्ायक शक्ति भनेको माओवादी हो, माओवादीले एमाले उम्मेदवार राजेन्द्र राईलाई सघाएका कारण वाम गठबन्धन नै बलियो छ ।’

वाम गठबन्धनका उम्मदेवारलाई जिताउनका लागि माओवादीका नेता कार्यकर्ताहरु पनि जिल्लामा खटिरहेको भण्डारीले बताए ।

चौबीसे र साँगुरीगढीले के गर्ला ?

पहिलो दुईवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा अहिले एउटामात्रै चुनाव क्षेत्र छ । र, अहिले समग्र जिल्लाको उम्मदेवार बनेका राजेन्द्र राई र सुनिल थापा दुबै साविकको दुई नम्बर क्षेत्रका उम्मेदवार थिए ।

अहिले प्रदेशसभामा उम्मेदवार बनेका वाम र गठबन्धन दुबै पक्षका उम्मेदवारहरु साविकको २ नम्बर क्षेत्रका छन् । साविकको १ नम्बर क्षेत्रले भने प्रदेशसभाको उम्मेदवारी नै पाएको छैन ।

चौवीसे गाउँपालिकामा ७ हजारभन्दा बढी मतदाता छन् । साँगुरीगढीमा पनि ८ हजारभन्दा बढी मतदाता छन् । गत स्थानीय चुनावमा दुबै गाउँपालिकामा एमालेले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment