Comments Add Comment

उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमणः ७ दिनमा ६ नेता निशानामा

प्रहरी भन्छ- तर्साएर निर्वाचन भाँड्ने नियत

१ मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमण शुरु भएको छ ।

घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले आक्रमणकारी समूहको पत्तो लगाउन सकेको छैन ।

यद्यपि, प्रहरीको शंका चुनावविरोधि गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतिर देखिन्छ ।

उक्त पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा भने आफूहरुको नाममा तेस्रो पक्षले फाइदा लिइरहेको बताउँछन् । भन्छन्, ‘हामी शान्तिपूर्ण विरोधमा छौं ।’

एक सातामा ६ नेता निशानामा

२४ कात्तिकमा विनाविभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो ।

त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो ।

उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो ।

२८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए ।

भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए ।

सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो ।

३० कात्तिकमा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । पुन रोल्पाबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार हुन् भने श्रेष्ठ गोरखा-२ का ।

तर्साएर चुनाव भाँड्ने नियत

शृंखलाबद्ध विष्फोटका क्रममा ठूलो क्षति भने हुन पाएको छैन ।

एक प्रहरी अधिकारी भन्छन्, ‘घटनाको प्रकृति हेर्दा तर्साएर चुनाव भाँड्ने नियत देखिन्छ ।’

प्रहरीले चुनावविरोधी विप्लव समूहको गतिविधिलाई निगरानीमा राखेको छ । बम आक्रमणको क्रम भने रोकिएको छैन ।

चुनावविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले हालसम्म एक सय ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।

रुकुम, रोल्पा, दाङ, प्यूठान, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा विप्लव समूहको पकड रहेको प्रहरीको भनाइ छ । ती जिल्लाका साथै गोरखामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सुरक्षा स्रोतका अनुसार प्रदेश ६ का विप्लव कार्यकर्तालाई प्रदेश ४ मा खटाइएको भेटिएको छ ।

प्रहरीको व्यापक परिचालनका कारण निर्वाचनविरोधी समूहले सुरक्षाकर्मीको तैनाथी रहेभन्दा केही टाढा विष्फोट गराइँदै आएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपाने बताउँछन् ।

उनका अनुसार रेडबुलको बट्टालगायत सामान्य विष्फोटक सामग्री प्रयोग भइरहेको पाइएको छ । बम बनाउन आवश्यक पदार्थ कहाँबाट भित्रिन्छ भन्ने खुलेको छैन ।

यसअघि स्थानीय निर्वाचनमा देशभरबाट विप्लव समूहका करिब तीन सय कार्यकर्ता पक्राउ परेका थिए । चुनाव सकिएपछि उनीहरुलाई छाडिएको थियो । अहिले पक्राउ पर्नेहरु तिनै व्यक्तिहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment