१ मंसिर, नुवाकोट । पूर्वअर्थमन्त्री एवं नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई लक्षित गरी शक्तिशाली एम्बुस विष्फोट भएको छ ।
बिष्फोटमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । उनीहरूमध्ये ३ जनालार्इ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने समान्य घाइते २ जनाको स्थानीय अस्पतालमै उपचार गरिएको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले बताए ।
कांग्रेस उम्मेदवार महत ककनी-७,चतुरालेमा चुनावीसभालार्इ सम्बोधन गर्न प्रदेशसभाका उम्मेदवारसहित गाडीमा जाँदै थिए ।
तर, ककनी–५, काउलेथामा भन्ने स्थानमा एम्बुसमा परे ।
घटनाका प्रत्यक्षदर्शी नुवाकोटबाट प्रदेशसभा सदस्यका उम्मेदवार रमेशकुमार महतले अनलाइनखबरले भने, ‘काउलेथामा पुगेपछि हामी चढेको गाडीलाई लक्षित गरी बम विष्फोट भयो । डा. सा’बको गाडी सबैभन्दा अगाडी भएकाले थोरैले बच्यो ।’
बम विस्फोटमा परेको गाडी उत्तानो परेर पल्टिएको छ भने सडकमा ठूलो खाल्डो भएको छ । ‘सडकमा ठूलो खाल्डो भएको छ । एम्बुस नै विस्फोट गराइएको अनुसन्धानबाट खुलेको छ’ प्रजिअ बरालले भनेका छन् ।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विपक्षीमाथि शंका छः महत
विस्फोटमा जोगिएका कांग्रेस नेता महतले घटनामा विपक्षीको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् । ‘चुनावमा जित्न लाग्यो भनेर विपक्षीले एम्बुस राखेको हुन सक्छ’, डा. महतले अनलाइनखबरसँग भने, ‘बढ्दो जनसमर्थनबाट विपक्षीहरु आत्तिएका छन् ।’
नुवाकोट १ मा वाम गठबन्धनको तर्फबाट माओवादी नेता हितबहादुर तामाङ चुनावी मैदानमा छन् ।
माओवादी हत्या हिंसाको राजनीतिबाट आएको भन्दै महतले निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लव समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको बताए । महतले भने, ‘यो आमसभामा जान नपाओस् भन्नेहरुले गराएको आक्रमण हो ।’
उनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।
‘थोरैले बच्यो महतको गाडी’
रमेश महत, नुवाकोट, प्रदेशसभा उम्मेदवार
ककनी–७,चतुरालेमा चुनावीसभा थियो । त्यसलाई सम्बोधन गर्न डा. रामशरण महतसहितको टोली त्यसतर्फ जाँदै थियो । उहाँको गाडी सबैभन्दा अगाडी थियो ।
पछाडि लस्करै तीन वटा गाडी थिए । डा. सा’बको गाडी र पछाडिको गाडीबीच डेढ सय मिटर जतिको दुरी थियो । उहाँको गाडी थोरैले बच्यो ।
काउलेथामा पुगेपछि हामी चढेको गाडीलाई लक्षित गरी बम विष्फोट भयो, ठूलो आवाजसहित । विष्फोटपछि गाडी उत्तानो परेर पल्टियो ।
पछाडिको गाडीमा रहेका हामी विष्फोट लगत्तै गाडीबाट निस्कियौं । दुर्घटना गाडीमा हेर्दा ५ जना घाइते थिए । अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4