Comments Add Comment

चुनावमा ‘डन’ को सक्रियताः दिउँसो मन्त्रीलाई साथ, राति मुक्कामुक्की (भिडियोसहित)

डनहरु सक्रिय भएपछि काभ्रे र सिन्धुपाल्चोकमा सुरक्षा चुनौति

१ मंसिर, सकुटे (सिन्धुपाल्चोक) । नाम चलेका गुण्डा नाइकेहरु प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार नै बनेपछि उनीहरुका सहयोगीहरु चुनावमा परिचालित हुनु नौलो कुरा रहेन । तर, उम्मेदवारै नभएका ‘डन’ हरु गतिविधिले काभ्रे र सिन्धुपाल्चोकको निर्वाचन सुरक्षामा भने खतरा पैदा भएको छ ।

काठमाडौं लगायत अरनिको राजमार्ग क्षेत्रमा गुण्डागर्दीमार्फत चर्चा कमाएका गणेश लामा काभ्रेबाट प्रदेशसभाको उम्मेदवार बनेपछि काभ्रेली समूहका गुण्डाहरु प्रायः सबै सोही क्षेत्रमा केन्द्रित भएको जानकारी प्रहरीले पाएको छ । गणेश लामा समूहकै केही गुण्डा मेलम्ची क्षेत्रमा समेत देखिएको प्रहरी स्रोतले जनाएको छ ।

विशेष गरी पनौतिदेखि बाह्रबिसे क्षेत्रको राजमार्गमा गुण्डाहरुको बीचमा छिटपुट झगडाका घटनासमेत बाहिर आएपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले गुण्डागर्दीमा संलग्नहरुलाई निगरानीमा राखिएको बताए ।

यसपटक सिन्धुपाल्चोक १ र काभ्रे १ मा व्यवसायिक गुण्डाहरुको चलखेल बढी देखिएको छ । काभ्रेमा दोस्रो चरणमा चुनाव हुने भएकाले पनि काभ्रेली समूहकै गुण्डा सिन्धुपाल्चोकमा केन्द्रित भएका छन् । तर, प्रहरीमाथि राजनीतिक दबाब परेकाले चिनिएका गुण्डा नाइकेको गाडीमा समेत प्रहरीले खानतलासी गर्न सकेको छैन ।

सुकुटे सेन्टर

एक साताअघि अनलाइनखबरमा सिन्धुपाल्चोकको सुकुटेमा तरुण दलका कार्यकर्ताहरुले पिस्तोल टेबुलमा राखेर खानपिन गरेको समाचार सार्वजनिक भएको थियो । त्यो घटनाको केही दिनपछि अर्थात कात्तिक २४ गते शुक्रबार बेलुकी सुकुटेस्थित रिभर बे रिसोर्टमा बामपन्थी युवाहरु र तरुण युवावीच झडप भयो ।

बामपन्थी युवाहरु जलविरे ढाँडेमा प्रचार प्रसार सकेर बलेफी आएका थिए भने तरुण दलका कार्यकर्ताहरु पनि क्षेत्र नम्बर १ का विभिन्न स्थानमा प्रचार सकेर खाजा खानाका लागि सुकुटे आएका थिए । दुवै समुह सुकुटेको त्यो रिसोर्टमा बसेर अलग-अलग स्थानमा बसेर खाजा खाइरहेका थिए ।

तरुण दलको नेतृत्व गुण्डागर्दीका कारण पटक-पटक जेल परिसकेका सगुन श्रेष्ठले गरेका थिए । उनीसँग सानो सगुन श्रेष्ठ, हिमाल श्रेष्ठ, निराजन खडका, राहुल श्रेष्ठ, रोशन राईलगायतका २५/३० जनाको समुह थियो ।

बामपन्थी युवाहरुको नेतृत्व भने बलेफी गाउँपालिकाको युवा परिचालन समितिका संयोजक जलविरेका सूर्य खड्काले गरेका थिए । खड्कासँग मांखाका सुरज लामा, सुनकोशी क्याम्पसका स्ववियु सभापति लगायतको टोली थियो ।

सगुन श्रेष्ठ र सर्य खड्का एक अर्काबीच परिचित थिए । मदिराको नशा चढ्दै गएपछि खड्का र श्रेष्ठबीच विवाद भयो । सगुन श्रेष्ठले सूर्य खडकालाई तिम्रो सक्रियता धेरै नबढाऊ,नत्र जे पनि हुन सक्छ भने । सूर्य पनिले म तिम्रो आदेश मान्ने होइन, पार्टीको आदेश मान्ने व्यक्ति हुँ भने ।
विवाद बढेपछि खड्काले सगुन श्रेष्ठ र सानो सगुन श्रेष्ठलाई नजिकै रहेको किचनमा गएर गफ गरौं भन्दै लगे । अँध्यारो कोठामा पुग्नासाथ सगुनले बढी बोल्छस् भन्दै पिस्तोल तेस्र्याए ।

उनले पिस्तोल पड्काएनन् तर पिस्तोलको चुच्चोबाट खडकाको ओठमा घोचे ।

तस्वीरमा हेर्नुहोस् खडकाको पिस्तोलबाट घोचिएको दृश्य

पिस्तोलले घोचेपछि उनलाई श्रेष्ठ समूहले मुक्का प्रहार गरी रक्ताम्य बनाएको प्रत्यक्षदर्शीले बताए ।

सगुन श्रेष्ठले हतियार देखाएर आक्रमण गर्‍यो भनेपछि बाम समूहका युवाहरु भागे । आफ्नो टोलीमा रहेका सहकर्मीमाथि पिस्तोलले आक्रमण गरेपछि बाम युवा समूहका सुरज तामाङले अपशब्द प्रयोग गर्दै झम्टिए ।

त्यसपछि सगुन श्रेष्ठसहितको टोलीले सुरज लामामाथि पनि निर्घात कुटपिट गरेको थियो । मादक पदार्थले लठ्ठिएका श्रेष्ठले लामामाथि मुक्का र लठ्ठी प्रहार गरेको भिडियोमा देख्न सकिन्छ ।

रिसोर्ट प्रवेश गर्ने गेटमा रहेका भाटा उखेलेर तरुण दलका अर्का नेता हिमाल श्रेष्ठले वाम युवालाई आक्रमण गरेको भिडियोमा देख्न सकिन्छ ।
कुटपिटपछि तरुण दलका युवाहरु बेलुकी नै भागेका थिए ।

राजमार्गमा रहेका प्रहरीलाई घटनाको विषयमा जानकारी गराए पनि प्रहरीले वास्ता नगरेको पीडितहरुको भनाइ छ । दुई पक्षबीच भएको झडपमा तरुण दलका हिमाल श्रेष्ठ पनि घाइते भएका थिए ।

को हुन सगुन श्रेष्ठ ?

जुगल गाउँपालिका हगामाका श्रेष्ठको पृष्ठभूमि विवादास्पद रहेको प्रहरीले जनाएको छ । उनले अपराध लुकाउन बिभिन्न पार्टी चाहार्ने गरेको प्रहरी बताउँछ ।

सगुन पहिलो संविधानसभा ०६४ मा सगनु माओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला हगामका विभिन्न बुथ कब्जा गरेर श्रेष्ठले माओवादी उमेदवार अग्नि सापकोटालाई जिताउन सहयोग गरेको एमाले कार्यकर्ता बताउँछन् ।

चुनावमा माओवादीलाई सहयोग गरे पनि अपराधिक पृष्ठभूमिका श्रेष्ठलाई माओवादीले खासै वास्ता नगरेपछि उनी रुष्ट भए । श्रेष्ठको समूहले बाह्रबीसेका गोविन्द थापाका छोरालाई अपहरण गरेर फिरौती असुल्न खोजेपछि माओवादीकै पहलमा श्रेष्ठविरुद्ध प्रहरीमा थापाले पहिलो पटक जाहेरी दिएका थिए ।

माओवादीसँग् रुष्ट भएपछि उनी एमाले र कांग्रेसको सम्र्पकमा पुगेका थिए । एमाले उनीसँग सकारात्मक नभएपछि काँग्रेस नेता मोहन बस्नेतको सम्र्पकमा पुगे ।

श्रेष्ठले विभिन्न ठेक्कापट्टामा २ देखि ५ प्रतिशतसम्म रकम असुलेर व्यावसायीहरुलाई दुःख दिने गर्थे । उनी अहिले निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका सह-सचिव र अहिले उपाध्यक्ष छन् । त्यो दुवै पदमा कसैले उमेदवारी दिए काटिदिने धम्की दिएपछि कसैले पनि उमेदवारी दर्ता गराएका थिएनन् ।

तातोपानी नाकाका व्यापारीहरुलाई धम्की दिने लगायतका गतिविधि गरेपछि मोहन बस्नेतले श्रेष्ठलाई च्याप्न छाडेका थिए । तर, कांग्रेस जिल्ला सभापति विकास लामा लगायतको साथ पाएपछि उनी तरुण दलका केन्द्रीय सदस्य समेत भए ।

जलविरे आसपासका विभिन्न योजनाहरुमा ठेकेदारहरुलाई धम्की दिएर रकम असुल्ने गरे पनि उनी विरुद्ध कोही पनि बोल्न सक्ने अवस्थामा थिएनन् ।

चुनावी प्रचारका क्रममा कांग्रेस उम्मेदवार तथा सञ्चार मन्त्री मोहन बस्नेतसँग सगुन श्रेष्ठ (रातो घेरामा)

पाङताङ घर भएका स्थानीय जीवन श्रेष्ठलाई ०७० फागुन १२ गते राति बन्दुक देखाएर अपहरण गरेपछि श्रेष्ठले सगुनको विरुद्ध उजुरी दिएका थिए ।

सुगनसहित १२ जनाको समुहले गाउँबाटै जीवनलाई अपहरण गरेर निर्धात कुटपिट गरेका थिए । अपहरणकै भोलिपल्ट जीवनले श्रेष्ठसहित अन्यका विरुद्ध प्रहरीमा जाहेरी दिएपछि अन्य पाँच जना पक्राउ परे पनि श्रेष्ठ भने फरार रहेका थिए ।

फरार सुचीमा नै रहेको बेला सिन्धु प्रहरीले ०७१ साल कात्तिक १७ गते श्रेष्ठ र उनका सहयोगी प्रेमलाल श्रेष्ठलाई प्रक्राउ गरी अदालतमा बुझाएको थियो । पुर्पक्षमा नै रहेका बेला अदालतमा मुद्दा कमजोर भएपछि उनी केही समयमा नै जेलबाट रिहा भए ।

रिहा भएपछि उनी कांग्रेस नेता बस्नेतसँग रुष्ट हुँदै आएका थिए । अहिले बस्नेतसँग उनी निकट भएको धेरै समय भएको छैन । तरुण दलको जिल्ला अध्यक्ष बनाउने आश्वासनपछि बस्नेतसँग श्रेष्ठ नजिकिएको स्थानीय बताउँछन् ।

अहिले सगुन सूचना तथा सञ्चारमन्त्री समेत रहेका बस्नेतको अंगरक्षकजस्तै भएर हरेक चुनावी सभा र घरदैलोमा देखिने गरेका छन् ।

हामीले मोहन बस्नेतको चुनावी कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा सगुनलाई मन्त्रीको दायाँ वा बायाँ उभिएको अवस्थामा देख्यौं ।

मन्त्री बस्नेत भन्दा पछाडि सगुनको स्कारपियो गाडीको सवारी चल्ने गरेको छ । अपराधिक पृष्ठभूमिका व्यक्तिलाई लिएर हिँडेको बारे बस्नेतलाई सोध्दा उनले भने- ‘मसँग हिँड्नेहरु ठूला तिघ्रा भएका छन् । उनीहरुलाई मैले विभिन्न काम दिएको छु । केही परेमा उनीहरुको जिम्मा पनि मैले लिन्छु भनेको छु ।’

के भन्छ प्रहरी ?

अनलाइनखबरमा हतियारसम्बन्धी समाचार प्रकाशित भएपछि प्रहरीले सुकुटे आसपासका केही होटलहरुमा सर्चसमेत गरेको थियो । गत शुक्रबार रिसोर्टको घटना सामान्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले बताए ।

‘हामीले घटना थाहा पाएपछि रिसोर्टमा गएका थियौ, सबै हिँडिसकेछन्, सबैसँग बुझ्दा मादक पदार्थ सेवनपछि भएको घटना रहेछ,’ एसपी पोखरेलले भने ।

प्रहरीले दुवै पक्षलाई मिलाउने प्रयास गरिरहेको पोखरेलले बताए । बामपन्थी समूहबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुपर्‍यो भनेर आए पनि सामान्य घटना भएकाले मुद्दा दर्ता नगरिएको उनले प्रतिक्रिया दिए ।

होटलमा गएर बुझदा पनि होटल सञ्चालकले घटना खासै केही नभएको बताएपछि आफूहरु र्फकेको एसपी पोखरेलले बताए ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न नमिल्ने भएपछि सार्वजनिक अपराधमा मुद्दा दर्ता गर्न माग गर्दै पीडितहरु र्फकेको पोखरेलले बताए । आफूहरुले प्रहरीको सूचीमा रहेका केहीलाई निगरानी गरिरहेको उनले जानकारी दिए ।

तर, सगुन श्रेष्ठको गाडी कतै पनि खानतलासी नगर्नु भनेर प्रहरीको सबै युनिटमा सञ्चार मन्त्री बस्नेतले निर्देशन दिएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment