Comments Add Comment

काठमाडौं ७ः कांग्रेसले मैदान छाड्दा रामवीरलाई हाइसञ्चो !

१ मंसिर, काठमाडौं । स्थानीय चुनावमा काठमाडौं महानगरको मेयर सहित धेरै वडामा हार्दा एमालेको बलियो पकड भनिएको १६ मा कांग्रेसका मुकुन्द रिजालले वडाध्यक्ष जिते । यो वडा महानगरकै धेरै मतदाता भएको वडा समेत हो ।

त्यहाँ वडाध्यक्ष रिजालले पाएको ४३९९ वा निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराम सापकोटाले पाएको ४३३० मत मधेसको कुनै एउटा गाउँपालिका अध्यक्षले पाएको भन्दा कम छैन । तर, लोकतान्त्रिक गठबन्धनले गर्दा कांग्रेसले यो क्षेत्रमा राप्रपालाई समर्थन गरेको छ ।

राप्रपाबाट विक्रमबहादुर थापा उम्मेदवार बनेका छन् भने वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद रामवीर मानन्धर चुनावी मैदानमा छन् । रामवीर १६ नम्बर वडाका २ पटक निर्वाचित वडाध्यक्ष पनि हुन् ।

अघिल्लो चुनावमा रामवीरले कांग्रेसकी प्रमिला सिंह डंगोल र तत्कालिन एमाओवादी नेतृ हिसिला यमीलाई हराएका थिए । २०६४ मा यहि क्षेत्रमा हिसिलाले जितेकी थिइन् ।

यो पटक कांग्रेसले उम्मेदवार नै नउठाएर राप्रपालाई समर्थन गरेपनि उनलाई हाइसन्चो भएको छ । ‘मेरो क्षेत्रमा त कांग्रेसको उम्मेदवार नै छैन’ मानन्धरले अनलाइनखबरसँग भने, ‘कांग्रेस नहुँदा सजिलो भएको छ ।’

एमालेको गढ मानिएको महानगरको १६ वडाका स्थानीयबासी नै हुन् रामवीर । त्यहाँ वडाध्यक्ष जितेको र अन्यत्र पनि संगठन सुधार भएकाले प्रतिनिधिसभामा पनि चुनाव जित्न सकिने कांग्रेसको विश्लेषण थियो । त्यहाँ प्रतिनिधिसभा उम्मेदवारका लागि डंगोल, सुदर्शन आचार्य, विजय मालीको नाम सिफारिस भएको थियो ।

तर, कांग्रेसले प्रदेशसभाको दुबै सिट लिएर केन्द्रमा राप्रपालाई समर्थन गर्‍यो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ भन्छन्, ‘यो पटक हाम्रो त्यहाँ धेरै सुधार भएको थियो । हामी जित्ने अवस्थामा थियौं । तर, पार्टी नेतृत्वले राप्रपालाई समर्थन गरेकाले जिताउने प्रयास गर्छौं ।’

चुनावी घरदैलाका क्रममा जनताले विकास गरिदिनुपर्‍यो भन्दै रामवीरले वाटो र पानीलाई आफूले मुख्य एजेण्डा बनाएको सुनाए ।

रामवीरका चुनावी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार विक्रमबहादुर थापा पनि चुनावी अभियानमा छन् । पूर्वजिल्ला पञ्चायतका सभापति समेत रहेका थापा पहिलो संविधानसभामा उम्मेदवार थिए ।

काठमाडौं ७ मा काठमाडौं महानगरको १६, १७, १८ र २५ वडा परेको छ भने तारकेश्वरको ८ वडा र टोखाको पाँच वडा समेटिएको काठमाडौंको क्षेत्र नम्बर ७ मा पर्छ ।

महानगरको १६ सँगै १७ र २५ वडा कांग्रेसले जित्दा १८ मा भने एमाले विजयी भएको थियो । तर, हारेका ठाउँँमा पनि एमाले दोस्रो स्थानमा छ । जबकी राप्रपाको हरेक वडामा भोट निकै कम छ । वडा १६ मा राप्रपाको भोट ५६१ छ भने अन्य वडामा झन कम छ ।

यसरी हेर्दा यो क्षेत्रमा माओवादीको समर्थन पाएको एमालेलाई जित्न जति सजिलो छ, राप्रपालाई त्यति नै गाह्रो छ । उसले कांग्रेसको सबै भोट पाएर मात्र पुग्दैन, माओवादीको पनि तान्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment