Comments Add Comment

पत्रपत्रिकाका समाचारः चुनावी सुरक्षामा प्रश्नदेखि धनाढ्यलाई छानीछानी टिकटसम्म


२ मंसिर, काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले बढ्दो सुरक्षा चुनौतीलाई मुख्य समाचार बनाएर छापेका छन् । नुवाकोट र रोल्पामा शुक्रबार भएका विस्फोटका घटनासँग जोड्दै पत्रपत्रिकाहरुले सुरक्षा खस्कँदै जानुका कारण औंल्याएका छन् ।

धनाढ्यलाई दलहरुले छानीछानी टिकट दिएको विषयलाई पनि आज पत्रपत्रिकाहरुले लेखेका छन् ।

यसकारण खस्किरहेछ सुरक्षा

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारकेन्द्रित आक्रमण बढ्दै जान थालेका छन् । राजनीतिक दलहरुले सरकारसँग सुरक्षा मागिरहे पनि उम्मेदवारहरु असुरक्षित बन्दै जान थालेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले सुरक्षा खस्कँदै जानुका कारण औंल्याएको छ । समाचार अनुसार, गृह मन्त्रालयले चुनावविरोधी गतिविधि यति धेरै हिंसात्मक हुने आकलन गरेको थिएन । तर्साउन मात्र केही समूहले गतिविधि गर्न सक्ने विश्लेषण गरेको थियो । तर, विश्लेषण गरिएभन्दा फरक अवस्था सिर्जना भएको छ ।

आक्रमणकारीप्रतिको व्यवहारले पनि हिंसात्मक घटना बढ्दै गएको समाचारमा उल्लेख छ । स्थानीय निर्वाचनमा पक्राउ परेका विप्लवका कार्यकर्तालाई सरकारले नरम व्यवहार गरेर छाड्दा सुरक्षा व्यवस्थामा चुनौती थपिएको हो । गृहमन्त्रालय प्रधानमन्त्री आफैंले राख्दा समेत सुरक्षा प्रवन्ध मिलाउन असफल भएको ठम्याइ नयाँ पत्रिकाको छ । उसले सरकारको कमजोर सूचना संयन्त्रलाई पनि खस्कँदो सुरक्षाको कारण मानेको छ ।

चुनावी सुरक्षामा प्रश्न

‘शृंखलाबद्ध विस्फोट’लाई व्यानर समाचार बनाएको कान्तिपुर दैनिकले यस्ता घटनाले चुनावी सुरक्षामा प्रश्न उठाएको लेखेको छ ।

‘निर्वाचन बहिस्कार गर्दै आएको विप्लव समूहको नेकपाले एकपछि अर्को गर्दै बिस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चाल्न सकेको छैन’, चुनावी सुरक्षामा प्रश्न उठेको निष्कर्ष निकाल्दै कान्तिपुर दैनिकले आज समाचारमा लेखेको छ ।

आफ्नो सुरक्षा आफैं गर्न कस्सिए दल

उम्मेदवारहरु माथि एकपछि अर्को आक्रमण भइरहेका बेला राजनीतिक दलहरु आफ्नो सुरक्षा आफैं गर्न कस्सिएका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार पार्टीका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि कांग्रेसले सुरक्षाका लागि तरुण दललाई परिचालन गरेको छ । तरुण कार्यकर्ताले उम्मेदवार र बुथको रक्षा गर्नेछन् ।

उम्मेदवारमाथि सुरक्षा थ्रेट बढेपछि एमालेले आन्तरिक सुरक्षालाई चुस्त बनाएर जाने नीति अख्तियार गरेको छ भने माओवादीले उम्मेदवारको सुरक्षामा अखिल क्रान्तिकारी र वाइसिएल परिचालन गर्ने भएको छ ।

निर्वाचन आयोगले लिएन वैदेशिक अनुदान

निर्वाचन आयोगले आन्तरिक स्रोतबाटै निर्वाचन सामग्री जुटाएको छ । यसअघिका निर्वाचनमा वैदेशिक सहायता लिएर निर्वाचन सामग्री जुटाउँदै आएको आयोगले पहिलोपटक आन्तरिक स्रोतबाट निर्वाचन सामग्री जुटाएको हो ।

नयाँ पत्रिका दैनिकका अनुसार, निर्वाचन आयोगले अति संवेदनशील र संवेदनशील निर्वाचन सामग्री विदेशीबाट नलिने सैद्धान्तिक सहमति गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउन लागेको हो ।

एक भोटको खर्च पाँच हजार !

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एक भोट बराबर करिब पाँच हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये करिब ३ हजार ६ सय १३ रुपैयाँ उम्मेदवार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार ३ सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, स्थानीय तह निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

निर्वाचन पर्यवेक्षण समितिको तर्फबाट विज्ञ समूहले करिब ६ महिना लगाएर गरेको अध्ययनअनुसार तीन चरणमा भएको स्थानीय निर्वाचनमा जम्मा १८ अर्ब ४६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ ।

धनाढ्यलाई छानीछानी टिकट

मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् ।

दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार प्रतिस्पर्धामा छन्, तीमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन तथा एमाले–माओवादी गठबन्धनका गरी ३६ जना छन् । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, यी तीनवटै दलले उठाएका अधिकांश उम्मेदवार धनाढ्य छन् ।

सडक र रेल दुवैले जोडिन्छौंः चीन


संसारभर चिनियाँ विशेषतासहितको समाजवाद फैलाउने उद्देश्यसाथ अघि बढेको छिमेकी देश चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी जिनफिङले प्रस्तुत गरेको अवधारणाबारे शुक्रबार राजधानीमा नेपाली सञ्चारकर्मीहरुलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यू होङले नेपालसँग चीनले विकास गर्न चाहेको सम्बन्धबारे प्रष्ट पारेकी हुन् ।

कान्तिपुरका अनुसार उनले नेपालसँग खुला व्यापार गर्ने चीनको मनसाय भएकाले सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र हुम्लाको यारीमा सुख्खा बन्दरगाह बनाउने प्रक्रियामा दुई देश पुगेको उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment