Comments Add Comment

तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश

एमालेविरुद्ध बुथ कब्जा गर्ने उमेश गिरी अन्ततः एमालेमै

४ मंसिर, बिराटनगर । चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा टीका र माला लगाएका हुन् ।

उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि एमालेमा प्रवेश गरेका छन् । सोमबार बिराटनगरको शान्तिचोकमा आयोजित चुनावीसभाका क्रममा गिरी र राजवंशीसहित अन्य केही व्यक्तिहरु एमालेमा प्रवेश गरेका हुन् ।

चुनावी अभियानमा ओलीसँगै रहेकी गायिका कोमल ओलीसमेत नवप्रवेशीलाई अबीर लगाएर स्वागत गरिन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका मोरङे नेताहरु गुरु बराल, माओवादी नेता गोपी अछामेसमेतको उपस्थिति देखिन्थ्यो ।

को हुन् उमेश गिरी ?

बिराटनगरमा एक समय भारतीय गुण्डाहरूको हालीमुहाली रहेका बेला नेपाली कांग्रेसका उमेश गिरीले मण्डले–कुण्डले परिचालन गरेर गुण्डागर्दीमा आफ्नो सत्ता स्थापना गरेका थिए ।

उनी बिराटनगरका चर्चित व्यवसायी तुल्सीराम अग्रवालको अपहरण काण्डका मुख्य योजनाकार मानिन्छन् । खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा बिराटनगरमा उमेश गिरीको जगजगी चलेको थियो ।

एनआईसी बैंक, कमला रोलिङ लगायतका उद्योग व्यवसायमा संलग्न बिराटनगरका चर्चित उद्योगपछि तुल्सीराम अग्रवाल खुमबहादुर गृहमन्त्री भएको समयमा बिराटगरको रोडसेस चोकबाट अपहरणमा परेका थिए ।

उनलाई मर्निङवाक गएका बेला मारुती भ्यानमा हालेर गिरीको समूहले कब्जामा लिएको थिए । उनलाई पाँच करोड फिरौती लिएर छाडिएको बताइने गरेको छ ।

उमेश गिरीको गुण्डागर्दीबारे एमालेले बेलाबखत काठमाडौंमा संसदसमेत तताउने गरेको थियो । गुण्डागर्दीमा संलग्न रहेको भन्दै एमाले नेताहरुले गिरीमाथि कारवाही गर्न पटक–पटक माग गरेका थिए । तर, उनै व्यक्ति अहिले एमालेमा प्रवेश गरेका छन् ।

भारतीय गुण्डा पप्पु भूमिहारको समूहलाई परिचालन गरी व्यवसायी तुलसीराम अग्रवाललाई ‘उठाएर’ फिरौती लिएको थियो ।

पहिलो स्थानीय चुनावका बेलामा दक्षिणी मोरङका विभिन्न ठाउँमा उमेश गिरीको समूहले एमाले कार्यकर्ताहरुलाई लखेटेर बुथ क्याप्चर गरेको थियो ।

गिरीले बुथ क्याप्चर गरेपछि मदन भण्डारीले ती स्थानको मतगणना बहिस्कार गर्ने निर्णय गरेपछि त्यहाँ कांंग्रेसको पक्षमा एकलौटी नतिजा सुनाएको थियो ।

मदन भण्डारीलाई धुरुक्कै रुवाउने तिनै व्यक्तिलाई अहिले केपी ओलीले टीका लगाएका हुन् ।

०४६ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको संरक्षण पाएका गिरीले ०४८ को आमनिर्वाचन, ०५१ को मध्यावधि २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने निकै ठूलो धाँधली गरे ।

गिरीले फिल्मी शैलीमा बुथहरु लुट्ने गरेको अहिले पनि एमाले कार्यकर्ताहरु सुनाउँछन् । कांग्रेसलाई लगाएको सोही गुनको बदलामा उमेशले बिराटनगरमा करिब एक दशकसम्म एकछत्र गुण्डागर्दी गरे ।

पैसा र गुण्डाको बलमा उमेशले विजयकुमार गच्छदारको भित्री साथ लिएर गिरिजाप्रसादको संरक्षणका साथ छुट्टै सञ्जाल चलाएका थिए ।

उमेशले कांग्रेसका तर्फबाट सरकारमा रहेका एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) समूहको हितका लागि आरएसएस (रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवा) विरुद्ध काम गरेका थिए ।

यही रणनीति अन्तरगत गिरीले ०५१ को मध्यावधि निर्वाचनमा मोरङ–७ मा शैलजालाई हराउन बागी उम्मेद्वारी दिए । यद्यपि सो चुनावमा शैलजाले १३ हजार मत पाएर जितिन् भने नेपाली कांग्रेस (वीपी) का तर्फबाट उम्मेदवारी दिएका गिरी ७ हजार मतका साथ दोस्रो भए । त्यहाँ राप्रपाका बद्री मण्डल तेस्रो र एमालेका सञ्जयकुमार सिंह चौथो बनेका थिए ।

बिराटनगरमा उमेश गिरीलाई त्यस समय ‘गुण्डाहरुको अगुवा’ नै मान्ने गरिन्थ्यो । उनकै क्याम्पबाट उमेश यादव जस्ता ‘छोटा गुण्डा’हरू जन्मिएका हुन् । हाल जेलमा रहेका अभिशेक गिरी र एमालेको युवा संघमा रहेका पर्शुराम बस्नेतहरु त उमेशका अगाडि फुच्चे मानिन्छन् ।

उमेशकै छत्रछायाँमा पर्शुराम बस्नेत, अभिषेक गिरी, सञ्जय थापा, विनायक पन्त, अशोक हुमागाईं ‘छोटा गुण्डा’हरूले हुर्किएको बताइन्छ ।

पछिल्लो समयमा भने गिरी उमेरका कारणले पनि सामान्य अवस्थामा रहँदै आएका थिए ।

उमेश गिरीको पार्टी प्रवेशबारे एमालेकै एक कार्यकर्ताले व्यंग्यमिश्रित असन्तुष्टि जनाउँदै भने, ‘एमालेमा युवापुस्ताकै डनहरु हुँदाहुँदै बूढा डनलाई भित्र्याइयो । तर, गिरीको प्रवेशले बिराटनगरका मारवाडी समुदायलाई त्रसित बनाउने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment