Comments Add Comment

कास्की क्षेत्र नम्बर २ः पूर्वविद्यार्थी नेताबीच प्रतिष्ठाको लडाईं

रविन्द्र अधिकारी र देवराज चालिसेबीच रोचक भिडन्त


६ मंसिर, पोखरा । कास्की–२ मा यस पटक दुई पूर्व बिद्यार्थी नेताहरु प्रतिष्ठाको लडाईं लड्दैछन् । एमाले उम्मेदवार रविन्द्र अधिकारी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् भने कांग्रेस उम्मेदवार देवराज चालिसे पहिलो पटक सांसद बन्ने रणनीतिमा छन् ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर अधिकारी धेरैको नजरमा परे । गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनबाट अधिकारीले ख्याति आर्जन गरे ।

पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुने बेलामै धेरैका नजरमा आशालाग्दा नेताका रुपमा परेका थिए, उनी । कास्कीबाट दुई पटक चुनाव पनि जिते । लेखा समितिदेखि विकास समिति सभापतिसम्म आइपुग्दा उनको चर्चा चुलियो ।

बौद्धिक र तार्किक नेताका रुपमा चिनिएका छन्, चालिसे पनि । पृथ्वीनारायण क्याम्पसमै विद्यार्थी राजनीति गरेर चिनिएका नेता चालिसे पटक–पटक स्ववियु सभापतिमा उठे तर अनरास्ववियुको पकड भएकाले जित्न सकेनन् । ०४९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा चालिसे स्ववियु सभापति बने ।

उनका उत्तराधिकारीका रुपमा आइपुगे, अधिकारी । चालिसे कांग्रेस केन्द्रीय प्रशिक्षक भएर देशभर पुगे । टिकट पाउन योग्य तर नपाएका नेताका रुपमा सधैं कांग्रेसभित्र चर्चामा रहे, चालिसे । बलियो उम्मेदवार नभएकै कारण कास्की–२ मा यसअघि कांग्रेसले जीत हासिल गर्न नसकेको कांग्रेसजनकै भनाइ थियो ।

दोस्रो चरणमा हुने निर्वाचनका लागि कास्की–२ मा अधिकारी र चालिसे एकपछि अर्को गर्दै घरदैलोमा पुगिरहेका छन् । त्यसैले पनि उनीहरुबीचको प्रतिस्पर्धालाई नजिकबाट नियालिरहेका छन्, दुवैका शुभेच्छुकहरुले ।

रवीन्द्रले यसपटक जित हात पारे उनको त्यो ह्याट्रिक हुनेछ । चालिसेले जिते पहिलो पटक संसद प्रवेश गर्न पाउने छन् ।

एमालेका बलिया उम्मेदवार अधिकारीलाई हराउन कांग्रेसले बौद्धिक र तगडा उम्मेदवार छानेको छ, चालिसेलाई ।

घरदैलो गर्दै, जुहारी खेल्दै

अधिकारीले मतदातालाई भनिरहेका छन्, ‘दुई पटक मलाई जिताएकाले मैले थुप्रै विकास निर्माणको नेतृत्व र सहकार्य गर्न पाएँ । अब समग्र समृद्धि, नमूना कास्की र सक्षम प्रदेश निर्माणका लागि मलाई भोट दिनोस् ।’

चालिसे भने अधिकारीले विकासको नेतृत्व गर्न नसकेको बताउँछन् । ‘उहाँले के विकास गर्नुभयो ? उहाँले त समग्र कास्कीको एकीकृत विकासका लागि सबै सांसदलाई मिलाएर एकीकृत योजना निर्माण गर्नुपथ्र्यो । त्यो कहिल्यै गर्नुभएन । विकास समितिको सभापति भएँ भन्दैमा विकास गरें भन्दै हिँड्न मिल्छ ?’ चालिसे प्रश्न गर्छन् ।

आफूले गरेको विकास मतदाताले मात्रै नभई देशवासीले नै महशुस गरेको अधिकारीको दाबी छ । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कोरला–जोमसोम हुँदै पोखरा र त्रिवेणी जोड्ने प्रदेश–४ को मुख्य राजमार्ग, पृथ्वी राजमार्ग विस्तारदेखि थुप्रै गौरवका आयोजना निर्माण हुँदैछन्,’ अधिकारी भन्छन्, ‘त्यो मेरै पहल र नेतृत्वमा भइरहेको छ । निर्वाचन क्षेत्रमा सडक, पुल, खानेपानी, कृषि, स्वास्थ्य हरेक क्षेत्रले विकासको फड्को मारेको छ ।’

३/४ वटा पनि पुल नभएको कास्कीमा २१ वटा निर्माण गरिसकेको उनको भनाइ छ ।

आफैंले बनाएको सडक र पुल हुँदै चालिसेले घरदैलो गरिरहेको अधिकारीको दाबी छ । र, आफैंले बनाएको खानेपानी आयोजनाको पानी पिएर चालिसेले प्यास मेटिरहेको उनको दाबी छ ।

आफू विकास समितिमा हुँदा नै ठूला आयोजनाहरुले गति पाएको र देश निर्माणका लागि आफूले नै जित्नुपर्ने अधिकारीको भनाइ छ ।

चालिसे भने संसदीय प्रणालीबाट भएको कामको जस अधिकारीले लिने प्रयास गरिरहेको बताउँछन् ।

भन्छन्, ‘विकास समितिले आफैं विकास गर्ने होइन । नीति निर्माण गर्ने हो । त्यसैले पोखरा र राष्ट्रमा भएको विकाससँग विकास समितिको कुनै सम्बन्ध छैन ।’

उनी थप्छन्, ‘त्यो राष्ट्रिय योजना आयोग र सरकारको कार्यपालिकासँग सम्बन्धित छ । त्यसैले उहाँ के भन्नुहुन्छ, कुन कमिटीको सभापति हुनु भो भन्ने कुराले यहाँ अर्थ राख्दैन ।’

प्रतिष्ठाको लडाईं

एमाले केन्द्रीय सदस्य अधिकारी कास्की जिल्ला सदस्य, सचिव र अध्यक्ष बनेका थिए । चालिसे नेविसंघ जिल्ला अध्यक्ष, नेविसंघ केन्द्रीय कार्यवाहक अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । अहिले कांग्रेस महासमिति सदस्य छन् ।

अधिकारीलाई दुई पटक निर्वाचन जितेको साख जोगाउनु छ । चालिसेलाई अहिलेसम्म कुनै पदमा नपुगेर जिल्लामा सक्रियता देखाएको परिणाम प्रस्तुत गर्नुछ ।

कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी उठ्न नपाउने बताउँदै क्षमतावान अर्को व्यक्तिलाई अवसर दिनुपर्ने चालिसे बताउँछन् । ‘दुई पटकमा नेताको खुबी मापन भइसक्छ,’ चालिसे भन्छन्, ‘के अर्को क्षमतावान व्यक्तिले अवसरै नपाउने ? मतदाताले यसपटक अर्को क्षमतावान व्यक्तिलाई जिताउनेछन् ।’

अधिकारीको जवाफ छ, ‘यो कुरा उहाँकै पार्टीका शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुलाई भन्नोस् । पहिले आफैं सच्चिएर आउने हो । मलाई भोट दिनुस् भनेर मतदाताले दिँदैनन् ।’

दुवैको आ–आफ्नै दाबी

यसअघिका संसदीय र स्थानीय तह निर्वाचनको अंकगणितमा एमालेले प्राप्त गरेको मत अगाडि भए पनि अहिले निर्वाचनमा आफूले जीत हासिल गर्ने चालिसेको दाबी छ । अधिकारी भने मतदाताको मनोभावना बुझ्ने एक मात्र नेताका रुपमा आफूलाई मानेकाले निर्विकल्प विजयी हुने दाबी गर्छन् ।

एमालेले यसअघिकै निर्वाचन जितेको क्षेत्रमा माओवादीसहित चुनावी मैदानमा होमिएको गठबन्धनसँग लड्न पाउनु जोखिमभन्दा पनि अवसरका रुपमा लिएको चालिसे बताउँछन् ।

‘विगतको निर्वाचनमा कसले कति ल्यायो भन्ने कुराको स्थिर आधार हुँदैन । शक्तिको सिद्धान्त तरल भएजस्तै मतदाताको मत व्यक्त गर्ने भावना पनि परिवर्तन भइरहन्छ,’ उनी भन्छन्, ‘मतदाता सचेत छन् । यसपटक मलाई नै जिताउने छन् ।’

अधिकारीको आफ्नै दाबी छ । ‘म शानदार भोट ल्याएर जित्छु । त्यसमा कुनै शंका छैन । विगतभन्दा धेरै मतान्तरले जित्छु,’ उनी भन्छन्, ‘एउटा जनप्रतिनिधिका रुपमा म सबै पार्टीको साझा बनें । अब पनि साझा रुपमै जित्नेछु ।’

विगतमा एमालेले पाएको ५० प्रतिशत मत लोकतन्त्रमा विश्वास राख्ने मतदाताको भएकाले उक्त मत यसपटक आफ्नो पोल्टामा पर्ने चालिसेको भनाइ छ । उनी भन्छन्, ‘ती मतदाताले आज असुरक्षित महशुस गरेका छन् । त्यसैले एमालेले हिजो प्राप्त गरेको धेरै भोट अहिले गुमाउँछ ।’

थपिएका मतदाता निर्णायक

कास्की–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्ने हो भने अधिकारीको पल्ला भारी देखिन्छ ।

स्थानीय तहको परिणामअनुसार वाम गठबन्धनको मत सात हजारभन्दा बढी मत छ ।

थपिएकासहित गरी उक्त क्षेत्रमा अहिले ७० हजार ६ सय ५१ मतदाता छन् । थपिएका मतदाता निर्णायक हुने सम्भावना छ । त्यसैले पनि चालिसे र अधिकारीबीचको प्रतिस्पर्धा पेचिलो बनेको छ ।

स्थानीय तहमा वाम गठबन्धनले कांग्रेसलाई पछि पारेको मतान्तरको आधाभन्दा धेरै मतदाता अहिले थपिएका छन् । यसपटक कांग्रेस र माओवादीको मत बढी थपिएको देखिएको छ । थपिएका मतदाताको मत चालिसेले तान्न सके भने उच्च प्रतिस्पर्धा हुने देखिन्छ ।

२०५६ सालमा तत्कालीन मालेबाट कास्की–१ मा अधिकारीले चुनाव हारेका थिए । त्यतिबेला उनले १७ सय ५२ मत प्राप्त गरेका थिए । पहिलो संविधान सभामा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँग प्रतिस्पर्धामा करिब २५ सय मतले जितेका थिए, उनले । दोस्रो संविधानसभामा कांग्रेसका सोभियतबहादुर अधिकारीलाई २३ सय दुई मतले हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment