Comments Add Comment

मेलम्चीमै दोस्रो परियोजना निर्माण गर्न कस्सियो सरकार

पहिलो चरणभन्दा दोब्बर क्षमतामा पानी ल्याउने लक्ष्य


६ मंसिर, काठमाडौं । सरकारी योजनाअनुसार काम भए वैशाख ०७५ सम्ममा मेलम्चीको पानी काठमाडौं आइसक्नेछ । त्यसलगत्तै मेलम्ची खानेपानी आयोजनाले अर्को परियोजना शुरु गर्ने भएको छ ।

दोस्रो परियोजना सम्पन्न भएपछि काठमाडौंको पानी अभाव लगभग समाप्त हुने दाबी आयोजनाको छ । दोस्रो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा छ ।

तीन महिनाभित्र डीपीआर तयार हुने आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । त्यसपछि दोस्रो आयोजना निर्माणको बाटो खुल्नेछ ।

‘अहिले आयोजना क्षेत्रका केही स्थानमा चट्टानहरुको अवस्था अध्ययन हुँदैछ । त्यो सकेपछि रिपोर्ट फाइनल हुन्छ,’ देवकोटाले भने ।

५१ करोड लिटर पानी आउँदै

निर्माणाधीन मेलम्ची आयोजनामार्फत् आउने पानीको मात्रालाई तेब्बर क्षमतामा विस्तार गर्ने सरकारी योजना छ । त्यसका लागि मेलम्चीको पानीमा अन्य दुई वटा खोलाको पानी पनि मिसाइनेछ ।

पहिलो चरणको मेलम्ची आयोजनाको काम सकिएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ । दोस्रो परियोजना तयार भएपछि उक्त परिमाण तेब्बर हुँदै ५१ करोड लिटर पुग्नेछ ।

दोस्रो आयोजनाबाट सिन्धुपाल्चोककै याङ्री र लार्के खोलाको पानीलाई राजधानीसम्म ल्याइनेछ ।

पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको सम्पूर्ण माग थेग्न नसक्ने भएकाले मेलम्चीमै अन्य दुई खोलाको पानी पनि थप्ने योजना रहेको देवकोटाले बताए ।

एडीबीको चासो

खानेपानी तथा सरसफाइ मन्त्रालयले दोस्रो आयोजनाका लागि करिब ३० करोड डलर अर्थात् ३१ अर्ब २० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)ले पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न तयार रहेको घोषणा गरिसकेको छ ।

सरकारले मेलम्चीमा थप लगानी गरेर काठमाडौंको पानी अभाव हटाउने घोषणा अघिल्लो वर्षको बजेटमार्फत् गरिसकेको छ । सोही आधारमा परामर्शदाता छनोट गरेर आयोजनाको डीपीआर तयार भइरहेको छ ।

दोस्रो परियोजनाका लागि ११ किलोमिटर लामो सुरुङ खन्नुपर्छ । याङ्रीको मुहानसम्म पहुँच मार्गको ट्रयाक तयार भइसकेको छ ।

पाँच वर्षमा सकिने

उक्त आयोजना पाँच वर्षमा सक्ने सरकारी योजना छ । डीपीआर तयार भएपछि हेडवक्र्स र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरिने आयोजनाले जनाएको छ ।

थप पानी काठमाडौं भित्र्याउन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment