Comments Add Comment

‘प्रचण्ड र केपी ओली कसका छोरा हुन् ?’

'कम्युनिष्टले देशलाई अधिनायकवादमै लान खोजेका हुन्'

६ मंसिर, तनहुँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन् कि, वाम गठवन्धनबाट कांग्रेसका नेताहरु अत्तालिनुपर्दैन । तर, वाम गठवन्धनका नेताहरुले पटक-पटक कांग्रेसलाई आश्वस्त पार्न खोजे पनि कांग्रेसका नेताहरुमा ‘कम्युनिष्ट फोबिया’ घट्नुको साटो झनै बढेको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शालीन नेता हुन् । तर, उनलाईसमेत वाम गठवन्धनले उत्तेजित बनाएको रहेछ । अनलाइनखबरसँग तनहुँ स्थित उनकै निवासमा भएको कुराकानीको क्रममा पौडेल एकाएक वाम गठवन्धनविरुद्ध आक्रामकरुपमा प्रस्तत भए ।

तनहुँ क्षेत्र नः १ को उम्मेदवारसमेत रहेका पौडेलले कुराकानीका क्रममा प्रचण्ड र ओलीमाथि आक्रोश पोख्दै प्रश्न गरे- ‘संविधान मास्न खोज्ने प्रचण्ड र केपी ओली कसका छोरा हुन् ? नेपाल आमाका हुन् कि कसका हुन् ?

पौडेलसँग गरिएको कुराकानीको सानो अंशः

कांग्रेसका नेताहरुले आफुखुसी धमाधम भावी प्रधानमन्त्री भनेर चुनावी मैदानबाटै घोषणा गरिरहेका छन्, त्यसमध्ये तपाई पनि एक हुनुहुन्छ । तपाई भावी प्रधानमन्त्री नै हो त ?

अरुले भनेका छन् । मैले मेरो आफ्नै मुखले चाहिँ भनेको छैन । तर, चाहना नै नभएको होइन । चाहना नै नभए त को राजनीतिमा लाग्छ र ? र, एउटा कुराचाँहि के हो भन्देखिन् मसँग जो सोच, जो चिन्तन, जो प्लानिङ, जो विचार छ, यो विचारले मूर्त रुप पाउने अवसर पाउनुपर्छ । र, यसबाट नेपाल र नेपाली वञ्चित बन्नुहुँदैन ।

मसँग भएको सोच, मसँग भएको आइडिया, विचार र योजनाबाट नेपालले फाइदा लिन पाउनुपर्छ । मेरो दाबी चाँहि सधैं रहन्छ ।

पार्टीभित्र नै तपाई अत्यन्तै निमसरो जस्तो देखिनुहुन्छ । पार्टी सभापतिले गर्ने कतिपय एकलकाँटे निर्णय र वितण्डाहरुमा समेत तपाई मूकदर्शक बन्नुहुन्छ । उनका जनविरोधी गतिविधिहरुमा मौन सर्मथन गर्नुहुन्छ, अनि कसरी तपाईलाई कार्यकर्ता र जनताले विश्वास गर्ने ?

मेरो समस्या, कमजोरी के हो भन्दा कहिँकतैं पार्टीलाई अप्ठ्यारो पर्छ कि भनेर मैंले धेरै बोलिनँ । मैले बोलिदिँदा झन बढी पार्टी बदनाम हुन्छ कि भनेर मैले संयम राखेकै हो । त्यसले गर्दा मेरो कमजोरीजस्तो देखिन सक्छ । तर, यो मेरो सदाशयता हो ।

अब मैंले नै इस्युलाई चर्काएर रडाको मच्चाउने काम नगरौं भनेर हो । मैले भित्रबाट भन्ने काम बाँकी राखेको छैन । मैले एकान्तमा सुझाव दिने गरेको छु । यो हद भयो, यसो गर्न भएन, तपाईले त्याग देखाउन पर्‍यो । नत्र भएदेखि पार्टी कमजोर हुन्छ भनेर धेरै कुरा मैले भनेको छु ।

दुई ठूला कम्युनिष्ट पार्टीहरु वाम गठवन्धन बनाएर चुनावी मैदानमा छन् । यसले कांग्रेसलाई कुनै समस्यामा पार्ने देख्नुहुन्छ ?

अब यो कांग्रेसलाई होइन, देशलाई समस्यामा पार्दैछन् । देशलाई, प्रजातन्त्रलाई समस्यामा पार्न यिनीहरु लागे । यो देशका दक्षिणपन्थी राजावादीहरु र यो देशका वामपन्थी साम्यवादीहरु तिनीहरुले देशको संसदीय प्रणालीका विरुद्ध लगातार प्रहार गरिरहे । लोकतन्त्रविरोधी षडयन्त्र गरिरहे । त्यसले गर्दा नेपालले उन्नति गर्न पाएन ।

र, अहिले बल्ल-बल्ल एउटा सहमति गरेर संविधान बनाएर अगाडि जाने क्रममा छौं । सहमतिमा आएर व्यवस्थाको टुंगो लगाइयो । बहुलवादमा आधारित संसदीय बहुदलीय लोकतान्त्रिक प्रणाली भनेर संविधानमा लेखियो । अब त्यसैमा चुनाव गरेर त्यसैबाट अगाडि बढौं र सम्वृद्धिको अभियानलाई अगाडि बढाऔं भनेर लागेका बेलामा फेरि यो बज्रपात कम्युनिष्टहरु किन गर्न चाहान्छन् ? किन उनीहरु राजनीतिक अस्थिरता निम्ताउन चाहान्छन् ? मुलुकलाई अधिनायकवादतर्फ लैजान किन चाहान्छन् ?

संसदीय प्रणालीको विकल्प खोज्ने कोशिस राजा महेन्द्रले पनि गरे । जसको परिणामस्वरुप ३० वर्षको पञ्चायती कालरात्री भोग्नुपर्‍यो । त्यसको विकल्पको कोशिस प्रचण्डले पनि गरे । जसले गर्दा १७ हजार मानिस मारिए । अहिलेसम्म पनि त्यो द्वन्द्वको घाउ बाँकी छ ।

ठूलो बर्बादीमा पुर्‍याउने प्रचण्डजीहरु फेरि फर्किएर संसदीय प्रणाली मान्दैनौं भन्ने ? यो देशलाई कहाँ लान खोजेको हो उहाँहरुले ? के गर्न खोजेको ? को हो उहाँहरु ? प्रचण्ड र केपी ओली को हुन् ? यी के हुन् ? नेपालका छोरा हुन् कि को हुन् ? यी कसका छोरा हुन् ? म त यसरी भन्छु ।

एमाले र माओवादीले त भनिरहेका छन् कि यही संविधानलाई मानेर नै अघि जाने हो……

संविधानभित्रै रहेर संविधान सिध्याउने । लोकतन्त्रको घोडा चढेर अधिनायकवादमा पुग्ने तिनीहरु नै त हुन् नि । लोकतन्त्रको घोडा चढ्ने, लोकतन्त्रको उपयोग गर्ने, म्याक्सिमम लोकतान्त्रिक अधिकारलाई प्रयोग गर्ने र त्यही लोकतन्त्र सिध्याउने । उहाँहरुको शैली नै त्यही हो । चरित्र नै त्यही हो । नियत नै त्यही हो ।

उहाँहरुले संविधान भत्काउनुहुन्छ भन्ने कांग्रेसको बुझाइ हो ?

उहाँहरुले डेमोक्रेसी भत्काउनुहुन्छ । र, मुलुक भत्काउनुहुन्छ । उहाँहरु त्यसमै हुनुहुन्छ ।

तर, उहाँहरुले त पटक-पटक स्पष्टीकरण दिनुभएको छ कि हामीले कुनै अधिनायकवादमा लैजान गठवन्धन गरेका होइनौं । स्थिरता र विकासका लागि, संक्रमणको अन्त्यका लागि गठवन्धन गरेका हौं भन्नुभएको छ त ?

हो, अधिनायकवादैमा लान खोजेको हो । अहिले भरखरै बनाएको संविधान र संसदीय पद्दति उल्टाउँछु भनेको के खोजेको हो त ? अनि साम्यवाद ल्याउँछु १० बर्षमा भनेको के हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment