Comments Add Comment

पुत्रवियोग सबैभन्दा ठूलो शोक रहेछः प्रचण्ड

'देशका हरेक युवा युवती हाम्रो छोरा प्रकाश हुन्'

७ मंसिर, काठमाडौं । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका हरेक युवायुवतीमा स्वर्गीय छोरा प्रकाशलाई देखेको बताएका छन् ।

स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभा राखिएको थियो, जहाँ शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए ।

कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो ।

त्यसमा भनिएको छ, ‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाश देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविश्यका लागि अझ धेरै महनत गर्नुपर्छ भन्नेमा निष्कर्षमा अझ दृढ भएका छौं ।’

आफू पूर्णकालिन राजनीतिमा लागेका कारण बाल्यकालमा छोरालाई समय दिन नपाएको उनले स्मरण गरे ।

सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै पढाइ लथालिंग भएको भन्दै उनले भने, ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बुबाको रुपमा उनीमाथि न्याय गर्न सकिनँ ।’

केहीले प्रकाशलाई आफ्नो छोरा मात्र ठानेको र उनको व्यक्तित्वलाई त्यसमै सिमित गर्न खोजेको उनको गुनासो छ । प्रकाश प्रविधि, संगठन र व्यवस्थापनमा पोख्त रहेको र आफ्ना लागि छोरा भन्दा बढी सहकर्मी र सहयोद्धा रहेको उनले बताएका छन् । भनेका छन्, ‘एमान्दारीतापूर्वक भन्छु, प्र्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगविना सफल हुने थिएन ।’

प्रचण्डले पुत्रशोकमा रहेका बेला आफूलाई सान्त्वना दिनेहरुप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘पुत्र वियोग मानिसको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि ।’

तर, शोकमै देश र समाजप्रतिको दायित्व अझ बढी महसुस भएको पनि उनले बताएका छन् ।

वक्तव्य बाचन भइरहँदा मञ्चमा रहेका प्रचण्ड र सीता दाहाल निकै भावुक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment