Comments Add Comment

सिन्धुपाल्चोकमा मतपेटिका जोगाउन सीसी क्यामेरा !

२० डीएसपीसहित ३७ सय सुरक्षाकर्मी परिचालित

९ मंसिर, सिन्धुपाल्चोक । ठूला नेताहरुको चुनावी प्रतिस्पर्धालाई ध्यान दिँदै सिन्धुपाल्चोक जिल्लामा कडा सुरक्षाको प्रवन्ध गरिएको छ । मतपेटिकाको सुरक्षाका लागि भण्डारण कक्षमा सीसी क्यामेरा फिट गरेर बाहिरै डिस्प्ले हुने प्रबन्ध मिलाइएको छ ।

आइतबार बिहानदेखि सिन्धुपाल्चोकका १४४ मतदान स्थल र २८५ मतदान केन्द्रहरुमा मतदान हुनेछ । जिल्लामा रहेका दुईवटा निर्वाचन क्षेत्रमा २ लाख २६ हजार ५ सय ४० मतदाता छन् ।

सिन्धुपाल्चोकबाट प्रतिनिजधिसभाका दुई सीटमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय अध्यक्ष पशुपतिसमशेर राणा, एमालेका युवा नेता शेरबहादुर तामाङ, माओवादी नेता अग्नि सापकोटा र बहालवाला मन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।

तयारी पूरा भयोः खनाल

निर्वाचनका लागि सबै कर्मचारीहरु सम्बन्धित मतदानस्थलमा पुगेर सबै काम सम्पन्न गरेको सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए । पहिले खटाइएका ५ सय कर्मचारीहरु नआएकाले उनीहरुको स्थानमा नयाँ कर्मचारी पठाइएको खनालले जानकारी दिए ।

चारवटै प्रदेशसभामा दुईजना उप-सचिवको नेतृत्वमा जिल्लाबाट उच्चस्तरीय टीम खटाइएको खनालले अनलाइनखबरलाई बताए । ‘आइतबारका लागि हामीले सबै तयारी पूरा गरेका छौं, अब बाँकी केही पनि छैन, मुख्य निर्वाचन अधिकृत खनालले भने, ‘अब सबै मतदाताले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी भए हुन्छ ।’

राति नै मतपेटिका सदरमुकाम ल्याइने

आइतबार साँझ मतदान सम्पन्न भएपछि राति नै सबै मतपेटिका सदरमुकाम चौताराको भण्डारण कक्षमा ल्याइने तयारी निर्वाचन कार्यालयले गरेको छ । सदरमुकाम चौतारामा रहेको कृषि विकास कार्यालयको भवनमा मतपेटिका राखिनेछ ।

मतदानस्थलबाट तीनवटा सुरक्षा घेराभित्र राखेर मतपेटिकाहरु सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

सीसी क्यामेराबाट मतपेटिकाको अनुगमण

चारै प्रदेशका छुट्टाछुट्टै कोठामा मतपेटिकाहरु राखिने छन् । र, त्यहाँ सीसी क्यामेराको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए । ‘मतपेटिका राखिने सबै कोठामा सीसी क्यामेरा जडान गरिएको छ, खनालले भने, ‘त्यसको डिस्प्ले सबैले देख्ने गरी बाहिर राखिएको छ खनालले बताए ।’

उच्च सुरक्षा सर्तकता

हेभीवेट उम्मेदवारका कारण विशेष चर्चामा रहेको सिन्धुपाल्चोक जिल्लामा उच्चसुरक्षा सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनासहित ३ हजार ७ सय सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गरिएको उनले जानकारी दिए । अञ्चल प्रहरी कार्यालय बाग्मतीका प्रमुख धिरज सिहंकसमेत सुरक्षा अवस्थाको अनुगमनका लागि जिल्लामा आएका छन् ।

जिल्लाका २५ स्थानमा सशस्त्र प्रहरीको विशेष टोलीको मोबाइल गस्तीमा खटाइएको छ भने १३९ स्थानमा नेपाली सेनाको मोबाइल टोलीमार्फत सुरक्षाको प्रबन्ध मिलाइएको प्रजिअ तामाङले बताए ।

प्रत्येक गाउँपालिकामा दुईजना डीएसपीको कमाण्डमा मोबाइल टोली तैनाथ गरिएको छ । त्यस्तै एक नगरपालिकामा तीनजना डीएसपीको कमाण्डमा मोबाइल टोली परिचालन गरिएको छ ।

सिन्धुपाल्चोकमा २० जना भन्दा बढी डीएसपीहरुको टोली निर्वाचनका लागि खटिएका छन् । डीएसपीको कमाण्डमा ५० जनाको विशेष कमाण्डो टोलीसमेत परिचालन भएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहने भए पनि भौगोलिक विकटता भएको स्थानमा भने नेपाली सेनाको टोली नै अग्रभागमा समेत खटिने प्रजिअ तामाङले बताए ।

दलका कार्यकर्ता रातभर जाग्राम

निर्वाचनको मौन अवधिमा गाउँ-गाउँमा आर्थिक चलखेल हुन सक्ने र मतदाताहरुलाई आर्थिक चलखेल हुन सक्ने भन्दै दुवै गठबन्धनका कार्यकर्ताहरु रातभर जाग्राम बसेका छन् । टोलटोलमा एकले अर्कालाई पैसा बाँड्न सक्ने भन्दै युवाहरुको टोली गाउँको गस्तीमा हिँडेका छन् ।

आर्थिक चलखेलको आशंका

निर्वाचनको दुई दिनअघिदेखि जिल्लाका विभिन्न स्थानमा करोडौं रुपैयाँ वितरण गरिएको चर्चाले बजार पाएको छ । जिल्लाका विकट गाउँहरुमा दलका कार्यकर्ताले मतदातालाई वितरणका लागि भन्दै पैसा लगेर गएको विपक्षीहरुको दाबी छ । जिल्लामा रहेका वित्तीय संस्थाहरुबाट बिहीबार र शुक्रबार करोडौं रकम निकालिएको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment