Comments Add Comment

मनाङका संवेदनशील केन्द्रका मतपेटिका सोमबार हेलिकप्टरबाट ल्याइने


१० मंसिर, मनाङ । हिमाली जिल्ला मनाङमा मतदान सकिएको छ । सबैभन्दा कम मतदाता रहेको मनाङमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सकिएको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए ।

यहाँको पाँच मतदानस्थललाई अतिसंवेदनशील सूचिमा राखिएको छ । सुरक्षा समिति मनाङले मनाङस्थित नार फू गाउँपालिकास्थित ५ वटा मतदानस्थललाई अतिसंवदेनशील सूचिमा राखेको हो । यी क्षेत्रको मतपेटिका सोमबार हेलिकप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइने उनले जानकारी दिए ।

मनाङमा शान्तिपूर्ण रुपमा मतदान भएको ढकालले बताए । चार गाउँपालिका रहेको मनाङमा कुल मतदाता संख्या पाँच हजार ८८१ रहेको छ । यहाँ २८ मतदान केन्द्र रहेका छन् । यहाँ पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चुनावमा सुरक्षाका लागि ६ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मनाङमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र वामगठबन्धनबाट एमालेका पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा आमनेसामने भएका छन् ।

प्रदेश सभा ‘क’ मा कांग्रेसका चिन्तबहादुर घले र एमालेका दोर्जे डेण्डुल गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

यसैगरी प्रदेशसभा ‘ख’ मा एमालेबाट आधिकारिक रुपमा टिकट पाएकी खण्डा लामाले उम्मेदवारी फिर्ता लिएसंगै स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनिने राजिव गुरुङ र कांग्रेसका कर्म गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment