Comments Add Comment

पर्साका किसानलाई खेतीको चटारो, उम्मेदवारलाई भोट

मतदाता भन्छन्– विकास गर्नेलाई भोट


११ मंसिर, वीरगञ्ज । तराईका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । किसानहरु खेतमा पाकेको धान काटेर भित्र्याउनमा व्यस्त छन् । कोही धान काट्दैछन्, कोहि चुट्दैछन् । कोही पराल थन्क्याउँदै । किसानलाई चुनावभन्दा वर्षभरि खाने अन्नको जोहो गर्ने चिन्ता छ ।

किसान खेतीको भित्र्याउने ध्याउन्नमा लागे पनि मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुने प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका उम्मेदवारलाई भने भोटको चिन्ता छ । उनीहरु घरदैलोमा मतदाता नभेटिएपछि खेतमा पुगेर मत मागिरहेका छन् ।

पर्सा– ३ को सखुवाप्रसौनी गाउँपालिका– १ स्थित रेञ्ज औराहा चोकमा भेटिएका ५४ वर्षीय हरिनारायण चौधरी कृषि कर्मसँगै चुनावी अभियानमा पनि सक्रिय छन् । ‘वर्षभरि खानुपर्ने अन्नबाली थन्काउने समय र चुनाव एकैपटक परेकाले चुनावमा ध्यान दिन समय पाइरहेका छैनौं,’ उनले भने ।

खेतबारीमा व्यस्त चौधरी बिऊ, मल र औषधि सहज उपलब्ध हुनुपर्ने माग आफूले उम्मेदवारसँग राख्ने बताउँछन् । ‘हामीलाई औषधि, मल, बिउको सधैंजस्तो समस्या हुन्छ’, उनको उम्मेदवारसँग माग छ, ‘कच्ची सडक कालोपत्रे भए कृषि उपजहरुलाई बजारसम्म पुर्याउन सहज हुन्थ्यो ।’

पर्सा– ३ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सुरेन्द्र चौधरी, वाम गठबन्धनका राजकुमार गुप्ता, फोरम–राजपा गठबन्धनका हरिनारायण रौनियार र नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवबीच नै मुख्य प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।

आचारसंहिताविपरीतका गतिविधि तीव्र


गाउँघरको चुनावी प्रचारमा रहेका उम्मेदवारहरुले पक्षमा मत तान्न आचारसंहिताविपरीत प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारहरु ‘लाउड स्पीकर’मार्फत प्रचार गर्दै गाडी गुडिरहेका देखिन्छन् । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सिद्धपुर पर्साका प्रधानाध्यापक प्रदीपकुमार चौधरीले दिउँसो ठूलो–ठूलो आवाजमा चुनावी नारा घन्काउँदै आउने सवारीसाधनले विद्यालयको पठनपाठनमा समेत असर पार्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment