Comments Add Comment

गोरखामा मतपत्र सुरक्षाः तीन घेरामा सुरक्षाकर्मी, ढोकामा दलको पनि ताला

११ मंसिर, गोरखा । गोरखाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइएको छ । आइतबार साँझ मतदान सकिएसँगै शिलवन्दी गरिएका मतपेटिका सदरमुकाम जम्मा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

‘उत्तरी गोरखाको २८ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनु पर्ने भएकाले आइतबार नै ल्याउन सकेनौं,’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘बाँकी सबै ठाउँको मतपेटिका आइतबार राति नै ल्यायौं ।’

चुमनुव्री र धार्चे गाउँपालिकाको २८ मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरबाट ल्याइएको छ । चुमनुव्रीको २० र धार्चे गाउँपालिकाको ८ मतदान केन्ऽको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

सडक सञ्जाल नभएका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मतेपटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिएको निर्वाचन अधिकारी सापकोटाले बताए । ‘वाम र लोकतान्त्रिक गठवन्धनका एकएक जना प्रतिनिधिलाई पनि सँगै पठाएर उनीहरुको रोहवरमा मतपेटिका ल्याएको हौं,’ उनले भने ।

मतगणना भने मंसिर २१ गते ४५ जिल्लामा दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र हुनेछ । गोरखामा त्यही दिन साँझ पाँच बजेबाट मतगणना हुनेछ ।

मतपेटिकाको सुरक्षाः एउटै ढोकामा तीन ताला

मतगणना नहुँदासम्म मतपेटिका बन्द कोठामा गरिनेछ । क्षेत्र नम्वर १ को मतपेटिका महिला तथा बालबालिका कार्यालय भवनमा राखिने छ भने २ को जिल्ला समन्वय समितिको भवनमा राखिने निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेतले जानकारी दिए ।
त्यहाँ मतदान केन्द्र जस्तै तीन घेरामा सुरक्षाकर्मी खटाइने छ । ‘पहिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना हुन्छ’ प्रजिअ बस्नेतले भने, ‘जनपथ र सशस्त्र स्ट्याण्डवाइ बस्छन् भने सेना गस्ती गर्दै घुमिरहन्छ ।’

यसका साथै मतपेटिका राखिएको कोठाको ढोकामा तीन वटा ताला लगाइने भएको छ । ‘दुई गठबन्धनले एकएक वटा र मुख्य निर्वाचन अधिकृतले एक वटा गरेर एउटै ढोकामा तीन वटा ताला लगाइएको छ,’ उनले भने ।

मतपेटिका राखिएको कोठा वरपर राजनितिक दलका एक जना प्रतिनिधि पनि बस्न पाउनेछन् । आवश्यक परे सीसीटीभीको पनि व्यवस्था गरिने प्रजिअ बस्नेतले जानकारी दिए ।

साथै उनले आवश्यक सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्क हुन प्रजिअले सबैलाई आग्रह गरेका छन् ।

कोही शंका गर्छन्, कोही ढुक्क छन्

स्थानीय प्रशासनको कडा सुरक्षाका साथै आफैैैंले मतपेटिका राखिएको कोठामा ताला लगाउने भएपनि उम्मेदवारहरुले भने आशंका गर्न छाडेका छैनन् ।
गोरखा क्षेत्र नम्वर १ को प्रदेशसभातर्फ ‘क’का कांग्रेस उम्मेदवार धिरन थापा मतदान सकिएसँगै मतगणना हुनुपर्ने मत राख्छन् । ‘विगतमा मतपेटिका साटिएका रेकर्ड छन्, अहिले पनि ढुक्क हुने अवस्था छैन’ उनले भने ।

थापाका प्रतिद्वन्द्वी माओवादीका लेखबहादुर थापा भने मतपेटिका सुरक्षित हुनेमा ढुक्क छन् । ‘पहिले गनेको भए हुन्थ्यो तर, पछि गनेपनि केही छैन, दलहरुका प्रतिनिधि सँगै हुन्छन्, फेरि सम्बन्धित निकाय पनि यो बिषयमा जिम्मेवार छ’ उनले भने ।

गोरखा २ को प्रदेशसभातर्फ खका कांग्रेस उमेदवार प्रकाशचन्द्र दवाडीले मतपेटिका सुरक्षामा शंका नभएको बताए । ‘मतपेटिका कोठाभित्र हुन्छ, सबै पार्टीका प्रतिनिधि हुन्छन्, प्रशासनले हेर्छ । केही शंका छैन,’ उनले भने ।

दवाडीका प्रत्यासी माओवादीका अमर तमुले पनि मतपेटिका सुरक्षित हुन्छ भन्ने कुरामा ढुक्क रहन बाध्य भएको बताए । ‘मतपेटिका लामो समयसम्म राख्ने काम राम्रो त होइन । तर, सुरक्षाकर्मी, दलका प्रतिनिधि उपस्थित हुने भएकाले खासै समस्या नहोला जस्तो लाग्छ । अब करबलले पनि सुरक्षित मान्नै पर्‍यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment