Comments Add Comment

सार्वजनिक यातायातका क्षेत्रमा लैंगिक हिंसा हुन नदिने प्रतिबद्धता

१३ मंसिर, वीरगञ्ज । पर्सा जिल्लामा सञ्चालित यातायात क्षेत्रका कर्मचारीहरुले सार्वजनिक यातायातका क्षेत्रमा हुने लैंगिक हिंसाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले सार्वजनिक यातायातका साधनमा विशेष गरी महिलाबिरुद्ध दुव्र्यवहार हुने गरेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता जनाए ।

एक्सन एड नेपाल र आइीरस एडको सहयोगमा दिव्य युवा क्लब पर्साले लैंगिक हिंसाबिरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियानको अवसर पारेर आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रका कर्मचारीहरुले महिला आरक्षण सिट पनि महिलालाई नै उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा ४० जनाभन्दा बढी यातायात क्षेत्रका कर्मचारी र सुरक्षा निकायका प्रतिनीधि सहभागी थिए ।

सार्वजनिक यातायातका साधनमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि आफूहरुले सकेको सहयोग गर्ने उनीहरुको भनाइ छ ।

‘कतिपय अवस्थामा महिला कै कारण पनि समस्या आउने गरेको छ । तर, जानेर वा अन्जानमा माहिलामाथि हिंसा भइरहेको बुझ्न आएको छ’, नारायणी यातायात व्यवसायी संघका वीरगञ्ज क्षेत्रीय इञ्चार्ज अकवर हवारीले भने, ‘अबका दिनमा हामी त्यस्तो हुन दिने छैनौं । ’

क्लबका कार्यक्रम प्रमुख रामाकान्त पटेलले यातायात क्षेत्रका कर्मचारीहरुले सकारात्मक सोच लिएर महिलाको सम्मान गर्ने बानीको विकास गर्दै जाने हो भने समस्या समाधान हुने बताए ।

अधिकारकर्मीहरुले भने यातायात क्षेत्रका कर्मचारीहरुका कारण महिलाहरु सबैभन्दा बढी मर्कामा पर्ने गरेको गुनासो गरेका थिए ।

सवारीसाधनमा चढ्ने ओर्लने समयमा अनावश्यक ठाउँमा कर्मचारीहरुले छुन खोज्ने छुने, सार्वजनिक सवारीमा यात्रा गर्दा पुरुष यात्रुहरुले जिउमा छुने, यौनजन्य हिंसा गर्ने, बाटोमा हिडिरहेको अवस्थामा गाडीबाटै जिस्काउने जस्ता क्रियाकलापहरु हुने गरेको गुनासो उनीहरुले गरेका थिए ।

दिव्य युवा क्लबकी कार्यक्रम संयोजक कोपिला चौलागाईले सार्वजनिक यातायातका क्षेत्रमा हुने गरेको हिंसा र दुव्र्यवहारका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

रक्सौलबाट आएका माग्ने किशोरीहरुले हैरान बनाएको गुनासो

बसपार्क क्षेत्रमा भारतको रक्सौल लगायतका क्षेत्रबाट माग्न आउने किशोरीहरुले यात्रु र यातायात क्षेत्रका कर्मचारीलाई हैरान पार्ने गरेको पाइएको छ ।

विभिन्न कागजपत्र देखाउने र समस्यामा परेको भन्दै जबरजस्ती रकम माग्नेहरुका कारण सर्वसाधरण यात्रु र यातायात क्षेत्रका कर्मचारीहरु हैरान भएका हुन् ।

उनीहरुले त्यस्ता किशोरीलाई बसपार्क क्षेत्रमा आउन नदिन प्रहरी प्रशासनसँग अनुरोध गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

सोझो पुरुष र महिलालाई देखेपछि हातै समातेर रकम मागेर हैरान बनाउने गरेको यातायात क्षेत्रका कर्मचारीहरुको गुनासो छ ।

‘कहिले दिदीको विवाह गर्नुछ, कहिले आमा बिरामी परेर उपचार गर्नुछ भनेर विभिन्न कागजातहरु देखाउँछन्’, नारायणी यातायातकै क्षेत्रिय इञ्चार्ज हवारीले भने ‘बाहिरका मानिसहरुलाई झनै सताउँछन् । हातै समातेर दुःख दिन्छन् ।’

उनले बसपार्कस्थित प्रहरी चौकीलाई समस्याको बारेमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको गुनासो गरे ।

‘हामीले पटकपटक प्रहरीलाई समस्याको बारेमा जानकारी गराएका छौं । तर, प्रहरीले समस्याको समाधान गरिदिएको छैन’, हवारीले भने, ‘उनीहरुको क्रियाकलापले गर्दा यातायात क्षेत्रको मात्रै होइन वीरगञ्जकै बदनाम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment