Comments Add Comment

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

१३ मंसिर, ओखलढुंगा । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा केन्द्र कब्जा गरेर मतदान गराइएको भन्दै पुनः मतदान गराउन वाम गठबन्धनले माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै गठबन्धनले नेपाली कांग्रेसले मतदान केन्द्र कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटी गराएकाले पुनः मतदान गराउन माग गरेको जनाएको छ ।

वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक एवं प्रदेशसभा क्षेत्र ‘ख’का उम्मेदवार मोहन खड्काले विज्ञप्ती जारी गर्दै बलखु लगायत सुनकोशीको वडा नं. ४ र ५, चम्पादेवीको विलन्दुमा गाउँपालिका प्रमुख नबराज केशीसहितको नेतृत्वमा भएको आक्रमण तथा मोलुंग ४ मा कुलबहादुर खत्रीको घरमा भएको प्रहरी हस्तक्षेपको छानविन गरि कारवाही गर्न पनि माग गरेका छन् ।

मतपेटिका ढुवनी भइसके पछि मतदानको माग गरेको विषयमा वाम गठबन्धनका संघीय प्रतिनिधी सभाका उम्मेदवार एमालेका केन्दि्रय सदस्य यज्ञराज सुनुवारले बलखु लगायतका केहि स्थानबाहेक शान्तिपूर्ण मतदान भए पनि बलखुका दुई केन्द्रमा वडा अध्यक्ष, एमाले नेताहरु समेतले मतदान गर्न जान नसक्ने आतंकका बीचमा भएको निर्वाचन स्वीकार योग्य नभएको बताए । उनले सर्वदलीय बैठकमा समेत पुनः मतदान गराउन माग गरेका थिए ।

मंसिर १० गते मतदानको दिन विहान ९ बजे मतदान धमाधम भइरहेको समयमा मतदान स्थलभन्दा १०० मिटर पर वाम गठबन्धनका नेता जिवी खड्का लगायतका दर्जनबढी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका बुद्ध लामा र सञ्जय तामाङ लगायतको समूहले बञ्चरो र खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

गठबन्धन समर्थक मतदातालाई मतदानमा सहभागी हुन आवत जावतसमेत रोक लगाएर मतदान गर्न नदिएको स्थानीय विनोद खड्काले बताए । बञ्चरो र खुकुरी प्रहारबाट गठबन्धनका नेता जिवी खड्कासहितका कार्यकर्ता घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

घटनापछि मतदान स्थलमा भएका गठबन्धनका कार्यकर्ताहरु सुनकोशी गाउँपालिका २ का वडा अध्यक्ष खिलानाथ तामाङसहितका नेता कार्यकर्ता मतदान नै नगरी भाग्नुपरेको थियो ।

बुथ कब्जा र हतियार सहितको आक्रमण भए पनि मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायलाई खबर नगरेको वाम गठबन्धनको आरोप छ । मतदान अधिकृतले शान्तिपूर्ण मतदान भएको भन्ने प्रतिवेदन दिएपछि पुनः मतदान गराउन नसक्ने मुख्य निर्वाचन अधिकृत कैलाश केशीले बताए ।

गठबन्धनले सबै घटना छानविन गरेर दोषीमाथि कारवाही गर्न र पुनः मतदान नगराए त्यसपछि आउने परिस्थितिको समाना गर्न तयार रहन चेतावनी समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment