Comments Add Comment

इलाममा पूर्व वडासदस्यसँग भिड्दै पूर्वप्रधानमन्त्री

सुवास नेम्वाङको प्रतिस्पर्धा पुरानैसँग

१३ मंसिर, इलाम । जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भिन्नाभिन्नै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा होमिएकाले इलाम यतिबेला राष्ट्रिय चर्चामा छ ।

इलामको निर्वाचन क्षेत्र नं १ बाट पूर्वप्रधानन्त्री तथा एमालेका बरिष्ठ नेता खनाल प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । खनालका प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्र कट्टेल छन् । पूर्वप्रधानमन्त्री खनालको यो उम्मेद्वारी छैटौंपटक हो भने कट्टेलको यो पहिलो उम्मेद्वारी हो ।

क्षेत्र नम्बर २ बाट सुवास नेम्वाङ वाम गठबन्धनका उम्मेदवार छन् । उनका प्रतिस्पर्धी कांग्रेस नेता केशव थापा छन् । नेम्वाङ र थापाको दोस्रोपटक चुनावी भेट भएको छ । थापा ०६४ को संविधानसभा निर्वाचनमा नेम्वाङसँग पराजित भएका थिए ।

पूर्ववडासदस्यसँग पूर्वप्रधानमन्त्री खनाल

क्षेत्र नं. १ मा पूर्वप्रधानमन्त्री खनालसँग यसअघि चार पटकको जीतको मीठो अनुभव र एकपटकको हारको तिक्तता छ । खनालले ०४८ र ०५१ कोे संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई हराएका थिए ।

एमाले नेता खनाललाई ०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले हराएका थिए । ०६४ सालको संविधानसभा निर्वाचनमा अघिल्लोपटक आफूलाई हराउने प्रसाईंलाई खनालले बदला लिन भ्याएका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यलाई हराउँदै झलनाथले एकै क्षेत्रबाट चौथो पटक जीत सुरक्षित गरे ।

यसपालि पहिलोपटक झलनाथ खनालसँग चुनावी प्रतिस्पर्धामा उत्रेका कांग्रेस नेता भूपेन्द्र कट्टेल ०५४ सालको स्थानीय चुनावमा फिक्कल-८ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनी यसपटक हेभीवेट नेता खनाललाई हराएर राष्ट्रिय राजनीतिमा चर्चा बटुल्ने आशामा छन् ।

पूर्वप्रधानमन्त्री खनाल र पूर्ववडा सदस्य कट्टेल दुवैले जीत आफ्नो पोल्टामा रहेको दाबी गरिरहेका छन् ।

कांग्रेस नेता कट्टेल आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । आफू जहिल्यै जनतासँगै रहेर विकासको निम्ति पुलको काम गरेकाले आफूलाई मतदाताले रुचाउने उनको दाबी छ । आफ्नो प्रतिद्वन्द्वी खनालले यस क्षेत्रमा पटक-पटक जितेर पनि खासै काम गर्न नसकेकाले मतदाताहरुले नयाँ अनुहारसहित आफूलाई रोज्ने उनी बताउँछन् ।

खनालले पनि आफूलाई चुनाव जित्न विगतमा भन्दा सहज रहेको दाबी गरिरहेका छन् । आफूले यस क्षेत्रबाट पटक-पटक निर्वाचन जित्दै आएकाले यसपालि पनि जित दोहोरिनेमा ढुक्क छन् । खनाल भन्छन्, ‘यो क्षेत्रमा मैले काम धेरै गरेको छु । त्यसैले सबैै दलमा आस्था राख्नेहरुले मत दिएर मलाई नै जिताउँछन् ।’

पहिले एमाले एक्लै चुनाव लड्दा समेत धेरैचोटि जितेको र अहिले बाम गठबन्धनको मतले अझ सहजरुपमा जित्ने खनालको दाबी छ ।

पुरानै प्रतिस्पर्धीसँग भिड्दै सुवास नेम्वाङ

पूर्वसभामुख सुवास नेम्वाङसँग प्रतिस्पर्धा गरिरहेका कांग्रेस नेता केशव थापा ०६४ सालमा व्यहोरेको हारको बदला लिने दाउमा छन् ।

नेम्बाङचाहिँ विगतको जस्तै थापालाई दोस्रोचोटि हराउने कसरतमा छन् । नेम्बाङले आफ्नो जीत सहज मानेकैले तीन दिन पाँचथरमा समेत भोट मागिदिन भ्याएका छन् ।

संविधान निर्माणको मुख्य जिम्मेवारी सम्हालेको बेलामा समेत विकास निर्माणका कामहरु गरेकाले अब फुर्सदमा अझ बढी काम गर्न सक्छ भन्ने विश्वासले पनि मतदाताले आफूलाई जिताउने नेम्बाङको दाबी छ ।

इलाम क्षेत्र नं. ३ बाट हृयाट्रिक गरिसकेका नेम्बाङले भने-‘विगतमा पनि मलाई यही क्षेत्रबाट तीनपटक जिताए । अब पनि मलाई नै मतदाताहरुले माया गर्ने छन् ।’

उता यसअघि दुईपटक सांसद र एकपटक राज्यमन्त्री भइसकेका कांग्रेस नेता केशव थापा आफूले नेम्बाङसँग एकपटक पराजित भए पनि यसपटक नतिजा उल्टिने बताउँछन् ।

आफूले जितेको विगतको क्षेत्र नं. ३ पनि दुईमा परेकाले आफूले जित्ने दाबी थापाको छ । उनी भन्छन्- ‘विगतमा आफ्नो क्षेत्रमा मैले गरेको कामको मूल्याकंन गरेर यसपटक मलाई नै जनताले जिताउनेछन् ।’

प्रदेशमा को-को भिड्दैछन् ?

इलामको क्षेत्र नं. १ (क) मा बाम गठबन्धनका तर्फबाट एमालेकी खिनु लङ्वा र नेपाली कांग्रेसका देवेन्द्र राईबीच प्रतिस्पर्धा हुँदैछ । महिलाको अधिकारको वकालत गर्दै आएकी लङ्वा र संघीय समाजवादी फोरमको अध्यक्षबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गर्ने वित्तिकै टिकट पाएका राई बीचको प्रतिस्पर्धालाई जिल्लामा चासोका साथ हेरिएको छ ।

त्यसैगरी क्षेत्र नं. १ (ख) मा वाम गठबन्धनका तर्फबाट एमालेका काजीमान कागते र नेपाली कांग्रेसका दुर्गाकुमार बरालबीच प्रतिस्पर्धा हुँदैछ ।

०५४ को स्थानीय निर्वाचनमा तत्कालीन कन्याम गाविसका उपाध्यक्ष भएका कागते आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । त्यस्तै कांग्रेसका बराल पनि विगतमा आफूले फिक्कलमा रहेर विकास निर्माणमा खेलेको भूमिकाका कारण मतदाताले आफूलाई जिताउने बताउँछन् ।

बराल गत स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकामा मेयरका आकांक्षी थिए । तर, नेपाली कांग्रेसले प्रेम चाम्लिङ्गलाई टिकट दिएपछि उनी चुनाव लड्न पाएका थिएनन् । त्यतिखेर पार्टीका क्षेत्रीय सभापति रहेका उनले असन्तुष्टि जनाउँदै पदबाट राजिनामा दिएको घोषणासमेत गरेका थिए ।

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) मा वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष राम राना उम्मदेवार छन् । नेपाली कांग्रेसबाट डम्बर खड्का उठेका छन् ।

एमाले अध्यक्ष राना वैचारिक नेताका रुपमा चिनिन्छन् भने खड्का पैसा खर्च गर्न सक्ने नेताका रुपमा परिचित छन् । विगतमा मंगलबारे गाविस अध्यक्षसमेत भइसकेका राना गाउँदेखि शहर र विपन्नदेखि सम्पन्न परिवारसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेकाले आफूले जित्ने पक्का रहेको दाबी गर्छन् । खड्का पनि आफ्नो क्षेत्रको विकासका लागि आर्थिक लगानीसमेत गर्दै आएकाले मतदाताले आफूलाई नै रोज्ने दाबी गर्छन् ।

क्षेत्र नं २ (ख) मा वाम गठवन्धनको तर्फबाट नेकपा माओवादीका इलाम इञ्चार्ज धीरेन्द्र शर्मा रमण र नेपाली कांग्रेसका सचिव खगेन्द्र देवानबीच प्रतिस्पर्धा हुँदैछ ।

शर्माको घर पनि यही क्षेत्रमा रहेको र द्वन्द्वको समयमा उनी सोही क्षेत्रमा बढी खटिएका थिए । कांग्रेस उम्मेवार देवानको घर भने इलाम सदरमुकाममा रहेको छ । तर, चुनावी क्षेत्रका रुपमा विगतदेखि नै उनले यही क्षेत्रलाई बनाएर सक्रिय छन् ।

कांग्रेस उम्मेदवार देवान पनि २५ वर्षे राजनीतिक जीवनमा सबैसँग परिचित भएकाले आफ्नो जित निश्चित भएको दाबी गर्छन् ।

इलामका चार प्रदेशमध्ये २ (ख) मा अलि कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । जनजाति बाहुल्य रहेको यो क्षेत्रमा किरात धर्मावलम्बीहरुको धार्मिकस्थल माङसेबुङ्ग पनि पर्ने भएकाले जातीय मत खगेन्द्र देवानलाई जाने विश्लेषण पनि कतिपयले गरेका छन् ।

यता रमण सोही क्षेत्रका बासिन्दा हुन् र उनी बाम गठबन्धनको उम्मेद्वार भएकाले गठबन्धनको मत धेरै भएको विश्लेषण स्थानीयको छ । शर्मा माओवादीका तर्फबाट इलाममै एक्का उम्मदेवार पनि हुन् । उनीबाहेक सबै सिटमा एमालेलाई माओवादीले सघाउँदैछ ।

भूमिगत कालमा यस क्षेत्रका जनताले माया गरेर बचाएकाले अब पनि माया गर्ने रमण बताउँछन् । उनी भन्छन्-‘जनतासँगको निकटता र गठबन्धनको भारी मतले जीत त सुनिश्चित छ । मतान्तर कति फरक हुने भन्ने मात्र हो ।’

त्यसो त किरात धर्मगुरु आत्मनन्द लिङ्देनका दाहिने मानिने केहेरसिंह योङहाङ्गलाई वाम गठबन्धनले प्रदेशसभाको समानुपातिक उम्मेद्वार बनाएको छ, जसले गर्दा किरात धर्मावलम्बीहरुको मत रमणलाई जाने अनुमान एकथरिको छ । यदि यस्तो अवस्था आएमा रमण जीत पनि कठिन छैन ।
जे होस् यो प्रदेशमा चुनावी प्रतिस्पर्धा निक्कै खरो र रोचक हुने देखिएको छ ।

यस्तो छ जिल्लाको चुनावी अंकगणित

गत असारमा सम्पन्न चुनावी मतपरिणामलाई हेर्ने हो भने इलाममा कांग्रेसको भन्दा बाम गठबन्धनको मत १९ हजार पाँच सय बढी देखिन्छ । १० स्थानीय तह रहेको इलाममा ४ नगरपालिका सहित दुई गाउँपालिका एमालेले जितेको थियो भने तीनवटा गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।

जनप्रतिनिधिको संख्याका आधारमा हेर्दा रोङ गाउँ कार्यपालिकामा मात्रै नेपाली कांग्रेसको बहुमत छ । बाँकी ९ वटै स्थानीय तहमा एमालेको बहुमत छ । तेस्रो मत ल्याउने माओवादी केन्द्रको मतसमेत जोडिँदा दुई प्रतिस्पर्धी नेपाली कांग्रेस र बाम गठबन्धनको मतान्तर धेरै देखिन्छ ।

विगतको परिणामलाई आधार मान्ने हो भने नेपाली कांग्रेसका उम्मेद्वारहरुले जित्नका लागि धेरै ठूलो संख्यामा मत चोर्नु (तान्नु) पर्ने हुन्छ । यता गठबन्धनले भने विगतको मत सुरक्षित गर्न सकेको खण्डमा जीत हात पार्ने देखिन्छ ।

झलनाथ उठेको क्षेत्र नम्बर १ को एउटा गाउँपालिका बाहेक अन्यत्र कांग्रेसको भन्दा एमालेको मत बढी छ । गत स्थानीय निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा रोङ गाउँपालिकामा मात्रै एमालेभन्दा कांग्रेस अघि देखिन्छ ।

रोङ गाउँपालिकामा एमालेका वडाअध्यक्षहरुले पाएको मत तीन हजार ६ सय ३४ छ भने कांग्रेसका वडाअध्यक्षहरुले पाएको मत तीन हजार ८ सय ८८ छ । एमाले र माओवादी केन्द्रको चुनावी गठवन्धन बनेपछि रोङमा माओवादी केन्द्रको मत पनि खनाललाई जानेछ ।

माओवादीले रोङमा पाएको ८०५ मत खनाललाई जाँदा बाम गठवन्धन बलियो देखिन्छ । संघीय समाजवादी फोरमका उम्मेद्वारले पाएको ६५ मत कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनमा गएपनि बाम गठवन्धन ६ सय मतले अघि हुन्छ ।

समग्रमा क्षेत्र नं. १ मा वाम गठबन्धन कांग्रेसभन्दा ११ हजार दुई सय २४ मतले अघि देखिन्छ ।

त्यसैगरी स्थानीय तहको मत परिणामलाई आधार मान्दा इलाम २ मा पनि वाम गठबन्धन नेपाली कांग्रेसभन्दा अगाडि नै देखिन्छ । यो क्षेत्रमा कांग्रेसभन्दा गठबन्धन ८ हजार ३४७ मतले अगाडि छ ।

चुनावका एजेण्डाः सडकदेखि स्मार्ट सीटीसम्म

इलामका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेद्वारले आफ्नो मुख्य प्रतिवद्धता विकास र समृद्धिलाई बनाएका छन् । बाम गठबन्धनबाट इलाम १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार झलनाथ खनालले पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् ।

उनले जिल्लाको आर्थिक समृद्धिको आधार कृषि र पर्यटन र युवा रोजगारलाई विशेष जोड दिने बताएका छन् । यी जिल्लाका योजनाहरु बाहेक मुलुकको सार्वभौमसत्ता, अखण्डतालाई अक्षुण राख्न आफ्नो भूमिका रहने बताएका छन् ।

यसरी नै बाम गठबन्धनबाट इलाम-२ का प्रतिनिधिसभाका सदस्यका उम्मेद्वार सुवासचन्द्र नेम्बाङले पनि यसपटक विकास र समृद्धिकै लागि काम गर्ने वचन मतदाताहरुमा बाँडिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी सम्भावनाहरुलाई केलाएर विकास निर्माणलाई तीब्रता दिने नेम्बाङ बताउँछन् ।

स्वास्थ्य, शिक्षा, विद्युत, पर्यटन, रोजगार र सञ्चार क्षेत्रलाई प्राथमिकता दिएर जिल्लालाई समृद्ध बनाउन आफ्नो सम्पूर्ण ध्यान केन्दि्रत गर्ने उनी बताउँछन् । यसरी नै संविधानको पूर्ण कार्यान्वयन र संविधान प्रतिको भ्रम चिर्ने काम समेत आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

नेपाली कांग्रेसबाट इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भूपेन्द्र कट्टेल पनि आफ्नो प्राथमिकता कृषि र पर्यटन रहेको बताए । स्थानीय स्तरमा उद्योग खोलेर युवाहरुलाई रोजगार बनाउने र चिया लगायतका यहाँका उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार पहिचान गरेर जिल्लालाई समृद्ध बनाउने आफ्नो प्रतिवद्धता रहेको कट्टेल बताउँछन् ।

नेपाली कांग्रेसबाट इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार केशव थापा पनि आफ्नो जोड अब विकास निर्माणमै रहने बताउँछन् । उनी विगतमा पनि विकास निर्माणलाई नै जोड दिएर अघि बढेकाले अब त्यसलाई अझ तीब्रता दिएर लाग्ने बताउँछन् ।

यसरी नै प्रदेशसभाका चारै जना उम्मदेवारहरुले पनि विकास निर्माण र समृद्धिलाई नै भोट माग्ने विषय बनाएका छन् । शिक्षामा विश्व विद्यालय सञ्चालनदेखि इलाम बजारलाई स्मार्ट सीटी बनाउने योजना लिएर प्रदेशसभा सदस्यका उम्मेद्वार मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment