Comments Add Comment

वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड

फाइल तस्वीर

१४ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताएका छन् ।

चितवन क्षेत्र नं ३ को झनझनेमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताए ।

अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उनले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताए ।

निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उनको दाबी थियो । निर्वाचनको समयमा काँग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै प्रचण्डले भने “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”

उनले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गरे । एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चाैंडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उहाँले बताए ।

चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उनले बताए । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै उनले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताए ।

निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उनले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताए ।

जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment